Saturday, December 1, 2018

निर्मलाको भुत



















जनमतले नै स्थायी सरकार बनायौ ।
अब हामी जेसुकै गरौँ, भर्सेला परौँ
तिमी जनताहरु आफ्नो थान्कोमा बस्नु ।
जान्ने पल्टेर हामीलाई सिकाई नटोपल्नु ।

हाम्रा मन्त्रीले भाषण गर्दा,
ताली गड्गडाउनु
हुन्छ त हुन्छ, सडक ठप्प,
हाम्रो सवारीमा तिमी गाली नवर्साउनु ।

दिनको दुई तिन जनाको बलात्कार हुँदैमा
किन दुखोस् हामी दुई तिहाई वाला सरकारको टाउको?
जनताले घुँडासनमा चाकरी गरुन्, भन्ने हाम्रो अभिष्ट,
निर्मलाको लागि न्याय माग्नेलाई देख्र्छौँ
षड्यन्त्रकारी र समृद्धि विरुद्धका दुष्ट ।

हामी मग्न छौ, नयाँ युगको उत्सवमा
युगान्तकारी परिवर्तनको नायक हामी
छाउन चाह्यौँ घरघर र गल्लीगल्लीमा ।
बाहिर झलमल छ,
स्.. स्.. स्.. अन्तष्करणमा हाम्रो सरकार अलमलमा छ ।
हरदिन हररात,
त्यो निर्मला खेद्छे, हामीलाई सुनसान गल्लीमा ।

हामीले आफ्नो मन बहलाउन
पोलमा, पत्रिकामा पर्चा टाँस्यौ
तिमीहरु अट्टहास हाँस्यौ,
हाम्रो तस्बीरको ठाउँमा
निर्मलाको तस्बीर साट्यौ ।

हामी जसको नाम सुन्न चाहन्नौँ,
जसको आकृति हेर्न चाहन्नौँ
जोसँग सम्बन्धीत समाचार देख्न चाहन्नौँ
जसको भुतले आतंकीत छौँ
किन तिमीहरु जोडजोडले उसकै नाम जप्छौ?

मन बहलाउने प्रयासमा हामी रहँदा
जब तिमीहरु निर्मलाको तस्बीर टाली हिँड्छौँ,
हामी रिसले बहुलाउँछौ,
हामी आत्तीन्छौँ, बहकिन्छौँ,
त्यसैले त पोष्टर च्यात्दै,
बुट बजार्न प्रहरीलाई आदेश दिन्छौँ  ।

#JusticeForNirmala
#RageAgainstRape

Thursday, August 16, 2018

तीजको 'दर' र करको 'डर'


बजारको चलन त तपाईंहरु सबैलाई थाहा नै होला । हाम्रो गाउंघर तिर चैं तीजमा 'दिदी बैनी' लिन जाने चलन छ । दिदीबैनी र भान्जा भान्जी लिन जाने चलन अब फोनले गर्दा 'फोन गरेर बोलाउने' जस्तो भईसक्यो । दिदीबैनी, भान्जाभान्जी, लुगाफाटो, बर्खायामाको चिप्लो बाटो भाकोले लिन जाने चलन आको होला र माइतिले माया गर्छन् भन्ने जनाको पनि होलान् । अनी पहिलेपहिले त 'तीजमा लिन जांदा अंधेरीखोलाले बगायो बरीलै', 'यो अंधीखोला सातै र पटक तरीआएं,आफ्न माइती भेट्न बरीलै' जस्ता गीत पनि गुन्जिन्थे ।
अहिले भने ताजा स्थानीय सरकार, बिशेष गरी नयाँ नयाँ खाले कर, करको दर र दायराले गर्दा अलोकप्रिय हुन पो थालेका छन् । चर्चामा छन् । तिजमा दिदी बहिनी लिन जाने सन्दर्भमा करको वार्तालाप त एस्तो पो हुने रहेछ त ।
भाई: दिदी, नमस्ते ।
दिदी: भाग्यमानी भएस् ।
भाई: क्यारिछौ, भिनाजु भान्जा भान्जी सञ्चै छन् ?
दिदी: अहिले सम्म ठिकै छन् । अनी बुहारी, केटाटी क्यारिचन् ?
भाई: सञ्चै छन् ।
दिदी: रोपाई सकेर गोड्न लाउ होला केरे ?
भाई: अं, तिम्रां तिर नि रोप्यौ होला । दिदी, म त तिमीलाई लिन आउन भ्याइन, तिजको निम्तो गर्न फोन हानेको हुम् ।
दिदी: आम्ला त भनेको हो.......
भाई: वर्स दिनको तिजां नि किन तेसो भन्ने हो ? आउन त परो के रे नि ?
तिमी नि आउ, भान्जा भान्जी नि ल्याउ ।
दिदी: आम्न त मन लाछ नि । तर अहिले त खोला तरेको नि कर लगाम्ने भनेछन रे त । अब त्यो अांधीखोलो कती पटक तर्नुपर्छ, तरेपिच्छे कर लाम्ने हुन् भने त मेरो, केटाटीको त भुसुक्कै पैसा लाउछ त नि ?
भाई: कस्ले भन्यो ?
दिदी: रिडियामा तेस्तै सुनैंथें । हुन त ठाम ठामका नियम फरक छन् रे । तिमीहरुकांको नियम के रछ, बुझेस् न ।
भाई: ल ल, बुझेर खबर गरौंला ।
दिदी: बुझेर खबर अरेस् न । पैसो कती लाउनीरैछ, बेबस्था अरेर आम्नपर्ला नि । केटाटी नि मामाकां जानी भनेर मरिहत्ते गरिरान् ।
ल हेर्नुस्, जिन्दगीमा तीजमा समेत करले कती गार्हो बनाइसक्यो ।
Image sourece: https://www.nepal-pictures.com/people/

Monday, August 6, 2018

गोस्तभात

Photo Source:Internet
मेरो एउटा साथी थिई । उ मुसलमान थीई । हाम्रो  धर्म र संस्कार फरक भए  पनि उस्को र मेरो नाम उस्तै थियो । उ कश्मिरा, म मिरा । उस्को सानीमाले राखेको नाम भन्थी । 'मेरो सानीमालाई कश्मिर मन परेर मेरो नाम कश्मिरा राख्देको' भन्थी । उस्को बाबा मेरो बाबाको मिल्ने साथी । हाम्रो ममिहरु पनि साथी र भाईहरु पनि साथी । परिवारका हामी सबै साथी । उस्को अर्को बहिनी थिई सल्मा । त्यतिन्जेल मेरो बहिनी जन्मेको थीईन, तेसैले सल्माको साथी चैं हाम्रो घरमा कोही थिएन ।

उस्को घरमा कस्मेटिक पसल थियो । उ नक्कल झक्कलमा धेरै नै ध्यान दिन्थी । उ संधै कोरी बाटी चिटिक्क परेर बस्थी । क्रिम, पाउडर, गाजल, नङपालिस र कपालमा नयाँ नयाँ डिजाइनका क्लिप लगाउंथी । हामीले कक्षामा 'पुतली' कबिता पढ्दा उ यो त म नै हो भनेर फुरुङ पर्थी । पसलमा नयाँ सामान आउने बित्तीकै हामीलाई त्यो सामानको ब्रित्तान्त बताउंथी । एस्को पैसा त खासमा एती हो तिमी लिन्छौ भने एतीमा दिन्छु भन्थी । पसलको सामान बेचेको पैसा भने उ अांफै राख्थी । उसका सानीमाहरुको पनि कस्मेटिक पसल नै थिए ।

मेरो हजुरबुवा बित्नुभएको थियो । उहां बितेको कारण घरमा मासु पाक्दैनथ्यो, किनकी बाबा ममीले बार्नुभएको थियो । हामी मासु हप्तामा एक पटक त खान्थ्यौं नै । एक पटक छिमेकी ठुलोबाको मा मासु पाकेको रहेछ, मलाई र भाईलाई बोलाएर थपी थपी खुवाउनुभएको थियो । भाईले भन्यो, 'ठुलिआमाले क्या सही मासु खुवाउनुभयो, मान्छे त सही हो के है ।'  मैले भनें , 'खान पाएसी तंलाई त सही लाग्छ नि ।'

हाम्रो सवालजवाफ एत्तीमै सक्यो । 

हजुरबुवा बितेकोले हाम्रोमा मासु पाक्दैन भन्ने छीमेकमा अरुलाई नि थाहा थियो,  कश्मिराको घरमा थाहा हुने नै भयो । उ मासुलाई गोस्त भन्थी । उस्कोमा गोस्त ल्याएको रहेछन । उस्ले मलाई आज गोस्त र भात खान डाकी । म नि फुरुक्क पर्दै गएं, टन्न खाएं । भोलिपल्ट हामी संगै स्कुल गयौं । कश्मिराला नयाँ सिक्री ल्याएकी थीई । निकै आकर्शक थियो, पंहेलो टलक्क टल्केको । पितलको सिक्री हो भन्थी । उस्ले मलाई 'सिक्री किन' भनी । मैले इन्कार गरें । उस्ले 'पिलिज किन न, पिलिज भनेसी नि नकिने त पाप लाग्छ' भनी ।

त्यही पनि मैले मानिन । उस्ले 'साथीले पिलिज भन्दा नि नमान्नेसंग अल्लाह रिसाउंछन्' भनी ।
तर पनि म मानिन । कश्मिरा रिसले चुर हुंदै मेरो गिज्याउने नाम भनी । 

हिजो मेरोमा खाएको गोस्तभात बिर्सिस?

'छैन । हिजोको आज कस्ले बिर्सिन्छ? सम्झिछु नि ।'  भनें । 

कश्मिराले भनी, 'सम्झिराख । खुब खसिको गोस्त भनिकुन खाईस नि, थपी थपी । त्यो त भैंसिको गोस्त थियो ।'

म रनाहा भएं । के गरौं र कसो गरौं भएं । भैंसिको मासु कसरी खाएं, अब के गरौं भने जस्तो भयो । दिमागमा दिगमिग भयो, वाक्क आउँला जस्तो पनि भयो तर वाक्क आएन । 

मलाई कश्मीरालाई देखेर एकदमै रिस उठेको थियो । तं त झुटो बोल्ने रहेछ्हस्, पख म मेडमलाई भन्दिन्छु भने । अनी म त तेरो आमालाई भन्दिन्छु, 'मेडम, मिराले त हाम्रो घरमा भैंसिको गोस्त र भात थपी थपी खाको हो भनेर ।' 

भैंसिको मासु साथीले छल गरेर खुवाइ भनेर त मलाई झोंक चलेकै थियो अझ ममिलाई कुरा लगाइदिन्छु भनेपछी मलाई झनै रिस उठ्यो । तैंले पसलको सामान लगेर बेच्छेस भनेर म भन्दिन्छु भने । तर उ त कत्ती पनि डराइन । 'हामी त पसल गरेरे खाने त हो, सामान बेच्छे छोरीले भने त मेरो मम्मी त खुशी हुन्छ, बुझिस्  । 

उस्ले पुन: थपी , 'तेरो मम्मिले तंलाई भाईंसिको मासु खाको थाहा पाए के गर्ला? सोच ।' 

मैले सोच्न खोजें तर सोच्न सकिन । 

मम्मीलाई सम्झिन खोजे । उहांको प्रतिकृया अंकलन गर्न खोजे । तर डर मात्रै लाग्यो, मैले केही सोच्नै सकिन । घरमा फर्केपछी पनि मलाई कश्मिराको कुरा र हिजोको मासुभात दिमागमा आईरह्यो । दिग्मिग लागिरह्यो । 

केही दिन सम्म म कश्मिरासंग नबोलौं कि सोचेथें । एक दिन त बोलिन पनि । 

उस्ले मलाई चेतावनी दीई, 'मसंग कट्टी गरिस भने म तेरो ममिलाई भन्दिनिछु ।'

साथीसंग रिसाउनुलाई हामी कट्टी गर्ने भन्थेम । 

म फेरी उसंग बोले, मनले त बोलिन, तर मुखले मात्र बोलें । उ आफुंले भनेको कुरा मनाउन मलाई त्यो गोस्तभातको कुरा भन्दिन्छु भनेर थर्काउंथी, तर भनेकी चैं थीइन । करिब चार पांच दिन पछी उसको पसलमा गुडीया ल्याएको रहेछन् । उस्ले मलाई पसल्मा १० मा बेच्ने हो म तंलाई पांचमा दिन्छु भनेर फकाउन खोजी । गूडीया त मलाई मन परेको थियो, तर मैले 'मसंग छ, म लिन्न' भने । म पैसा जोगाउंथे, र भुड्कीमा जम्मा गर्थें, खर्च हतपत गर्दैनथें । उस्ले मलाई गूडिया निकै राम्रो छ, पिलिज लिउ भनी । मैले मानिन । उस्ले पुन: गोस्तभात खाएको कुरा भन्दिन्छु भनी । मलाई के भयो थाहा छैन, हुन्छ भन्देउ भने अनी सरासर घर आएं । मम्मीको अगाडि लोसे लोसे हुंदै गएं । 

के गरिस् ? फेरी चप्पल हराईस ? भन्नुभयो । 

हैन भने । ( म चप्पल चैं निकै हराउंथे, नुहाउन खोलामा जान्थें । अनी चप्पल हराउंथे । हप्तामा तेस्रो पटक चप्पल किनाएको रेकर्ड पनि मेरै नाममा थियो ) 

हजुरलाई केही भन्नु छ । 

अनी भन न त, के न्याङ न्याङ गरेको ? 

गाली नगर्नु है त । 

बदमासी काम गरे पनि तंलाई स्याबासी दिनु त ?
हैन 
भन न त  
गाली नगर्नु है त...

ल, ल, भन...

अस्ती नै कश्मीराको मा भात खाको भन्थें नि । 

अं, खाइस त खाइस । के भयो त ? 

मासु नि खाको भन्थें नि । 

अं । अनी खाईस । अब अहिले भन्न पर्ने के भयो त । खाको अस्ती नै भन्थिस नि ।

मलाई मेरो स्वार कांपेको महसुस भयो । त्यही नि मैले भनें । 'हैन, तेस्ले त मलाई खसीको मासु भनेर भैंसिको मासु ख्वाईछे ।'


म बेस्सरी रोएं ।
......
......
भयो, छोड । नरोई अब, रोएर के हुन्छ । जानी जानी खाको हैन, केही हुन्न . ।

म अचम्म परें । मलाई त मम्मीलाई मलाई गाली गर्नुहुन्छ जस्तो लाग्थ्यो । 

केको मासु थियो भन्ने बिर्सी । तर कश्मिरासंग सतर्क रहनु । 

भोलिपल्ट कश्मिरा भेटीइ, तर म उसंग डराईन । उस्ले फेरी पसलबाट श्याम्पूको पाउच ल्याईछ । आफ्नो जस्तो सिधा सिल्की कपाल बनाउन श्याम्पू किन भनी । मैले पर्दैन भने। तेरो घुम्रेको कपाल सिदा हुन्छ भनेर ल्याइदेको भनी । 

घुम्रेको भये नि मेरो कपाल राम्रो छ, पर्दैन श्याम्पू भनें । 

गोस्तभात बिर्सिस, तेरो मम्मिलाई भन्दिन्छु । 

तिम्रोमा खाएको गोस्तभात बिर्सेंको छैन, जिन्दगीभार बिर्सन्न । मेरो मम्मीलाई त मैले नै भनें, तिम्रो मम्मीलाई पसलबाट सामान चोरेर ल्याउने कुरा नि तिमी आँफै भन । 

एक दुई बर्षपछी उनिहरु अन्तै बसाई सरे । उसंगका कती याद धुमिल भये तर उस्को गोस्तभात भने सम्झनामा ताजै छ । उसंगको त्यो घटना नजोडीएको भए बफ मासु खान्थे कि खान्थिन थाहा छैन ।

त्यो घटनाले गर्दा मलाई आज पनि  बफ मासु सम्झिंदा दिगमिग लाग्छ, र याद आउंछ एउटा अनुहार, मेरी साथी कश्मिराको अनुहार ।

सबै जनाको आफ्नो-आफ्नो छनौट हो । केको मासु खाने, कस्तो तरिकाले पकाएर खाने, कस्तो परीकार बनाएर खाने सबै छनौट आफ्नो आफ्नो हो । सबै जनाको छनौटको म सम्मान गर्छु ।  मासु खाने र नखाने आफ्नो रुचीको कुरा हो र । रुची सँगै धार्मिक, सांस्कृतिक समाजीक मान्यता जोडीएका छन् । भैंसीको मासु खान हुन्न भन्ने सिकेर हुर्कें । झुक्काएर खुवाईएको त्यो गोस्तभातले संधै बफ मासु भन्नासाथ दिगमिगाउने बनायो । साथीहरुले बफ मासु खांदा मनमनै दिगमिग माने पनि, म साथीहरुले थाहा नपाउन् भनेर शतर्क हुंदै नर्मल देखिने प्रयास गर्छु । 

डियर कश्मिरा, मैले तिम्रोमा खाएको गोस्तभात अझै बिर्सेंको छैन, र शायद बिर्सिन्न पनि ।  

Friday, July 27, 2018

चप्पल




















घनघोर बर्षा
रोकिएपछी
एक सांझ भेटियो
एक बेजोडी चप्पल ।
रङ खुइलिएको
टलक उडेको
सोल खिएको
हेर्दैमा बैराग लाग्दो
एकल चप्पल ।

कहाँ किन्यो?
सुपरमार्केटमा
कि फुटपाथमा?
कस्ले किन्यो?
स्वयमं लगाउनेले
वा उस्को साथी,
वा आफन्तिले ?

किन्यो कसरी,
कैयौंपटक
घम्साघम्सी गर्दै,
मोलतोल गरी
वा एकै बचनमा
खन्खन  पैसा तिरी ।
वा, राम्रो चप्पल भन्दै
पसलेले फुर्कायो कि?
महङो भयो अन्तै जान्छु
भन्दै किन्नेले थर्कायो कि?

जुत्तासङै चप्पललाई मिलाई मिलाई
सजायो कसैले?
रिसको झोंकमा
यही चप्पल
बजायो कसैले ?
एस्लाई उचालेर
कसैले पुन: थचार्यो कि
वा आफ्नो जिद्धी पुरा गर्न
खुट्टा सँगै बजार्यो कि ?


सकी नसकी
सानी नानी वा बाबुले
ठुलो यो चप्पल
सुकोमल पाइलामा
'मेनो नाम्मो चप्पल' भन्दै
पो उन्यो कि ?
पहिरेर यो चप्पल
पहाड चाढ्ने
बेसीं झर्ने
खोला तर्ने
दुर दुर देश
डुल्न कसैले
अनेकौं सपना बुन्यो कि ?

सोच्दैछु के होला
यो चप्पलको कथा?
के होला खिईएको
यो तलुवाको ब्यथा?
हिजोको कसैको शान
कसैको खुट्टाको मान
कसैको पदचापको
पहिचान
तर आज केबल एक फोहोर ।

संधै अरुको खुट्टाको निर्देशन
कुर्ने चप्पलको अन्त्य
पानीको बहाबमा बग्दै बग्दै
कहाँबाट कहाँं पुगेर तय हुंदैछ ।
यो चप्पल बगे जस्तै
बग्दैछ जीवन पनि ।
कहिले रहर
त कैले जित
हार र प्रहारमा।

अन्त्य कस्तो हुने हो
कस्लाई के थाहा
त्यही पनि जीवनको कस्तो माया
जस्तो यो चप्पल
जीवन पनि उस्तै
सलल, सलल ।

गुरु पुर्णिमा: सम्झना, एक चड्कन र १०० शब्दको

जिन्दगी नामको यो यात्रामा सिक्ने सिकाउने निरन्तर प्रकृया हो । मलाई अहिले सम्म सिकाउने सबै गुरुमा नमन । जहाँ छु, यहाँहरुको कारणले छु ।

आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।

त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित  पढाउंदा जानिन । खै, कुन सनकमा  'तंलाई के मतलब?' भनेछु ।

प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।

Image source: Internet
दुई कक्षा पढ्दा औसत मात्रा पढाई भयो भनेर फेरी दुईमा भर्ना गरेर बाबा बुटवल जानुभयो । एता मलाई फेरि कक्षा तिनमा नै लग्दिनुभयो गुरुहरुले । पछी तीन कक्षाको अन्तिम ताका त बाबाले तीन दोहोर्याउने नै भनेर अड्डी कस्नुभयो । दोस्रो पटक तीन पढ्दा ताका प्यारालाल कुर्ताको फेशन थियो । सबैले लगाउने फेशनको कुर्ताको माग त मैले नि गर्ने नै भएं ।

माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।

बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।

Image Source: Internet
त्यो १०० शब्द जानेर घर फर्किएं । शर्त अनुसार त्यो कुर्ता हेर्न र लगाउन पाईयो । जीवनमा धेरै कपडा लगाये नि त्यो कपडा मलाई आज पनि बिशेष लाग्छ, सांचो मानेमा त्यो चैं मेहनतले आर्जेथें जस्तो लाग्छ । आज पनि जब Bournville चकलेटको बिज्ञापनमा 'Have you earned it? भन्दा मलाई ति सय शब्द र त्यो पहेँलो कुर्ताकै याद आउंछ ।

चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें ।  ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।



अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।


Wednesday, May 30, 2018

सम्बोधन

नारायणगोपालको स्वर र दीपक जंगमको शब्द र संगीतको ‘तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ’ गीत मलाई साह्रै नै मधुर लाग्छ। उपमाको हिसाबले हैन, सम्बोधनको हिसाबले सोचौं त। कस्तो महसुस हुन्थ्यो होला, हामीलाई गरिने सम्बोधन हामीले चाहेजस्तो हुने भए। हामीलाई सम्बोधन गर्दा होच्याउने हिसाबले नभई सम्मान दर्शाउने भएमा साँच्चै नै गज्जब हुने थियो। तथापि वास्तविक जीवनमा गरिने सम्बोधन भने कतिपय अवस्थामा साह्रै कटु हुन्छन्। सम्बोधनसम्बन्धी मैले देखेका केही घटनाको दृष्टान्त यहाँ प्रस्तुत गर्छु :


म करिब ६ वर्षको हुँदा बर्खे बिदा पारेर साथीको घरमा बस्न गएको थिएँ। भोलिपल्ट सबेरैदेखि नै घरमा निकै चहलपहल थियो। रोपाइँको चटारो रहेछ। ढोकाको ठीकबाहिर एक अधबैंसे उमेरका व्यक्ति थिए। सिलटको थालमा सेतो डल्लो भातमाथि कालो दाल खन्याएर उनी भात मुछ्दै थिए। धपेडी गरेर कतैबाट आएका थिए कि खाना तातो थियो। उनको अनुहारभरि नै पसिनाका दाना थिए, बरर्र परेका मसिना, मसिना। विस्तारै पसिनाका थोपा नाकबाट र चिउँडोबाट झर्नै लाग्दा उनी टोपी निकालेर पसिना पुछ्दैथिए। ढाका टोपी पनि एकातिर फाटेको थियो। हतारिँदै खाना खाँदै गरेका उनको अनुहार अब त रातो भइसकेको थियो। काकी (साथीकी आमा) भन्दै थिइन्, ‘हली, ल ल छिटो खाऊ, बेलैमा मेलो सक्नुपर्छ।’ काकीले खाना खाउन्जेल पनि कस्तो हतार गराएको होला भन्ने लाग्यो।
हाम्रो घरमा पनि खेतको काममा सहयोग गर्ने एक हजुरबुवा हुनुहुन्थ्यो। मलाई आजसम्म पनि उहाँको नाम के थियो थाहा छैन, उहाँ मेरो हजुरबुवाभन्दा उमेरले अलि कान्छो हुनुहुन्थ्यो। हामी उहाँलाई हजुरबुवा भनेर नै बोलाउँथ्यौं। खै, मलाई के लागेछ कुन्नि ? घर पुग्नेबित्तिकै बुवालाई सोधेँ, ‘हजुरले खेतमा काम गर्ने हजुरबुवालाई हली भनेर किन नबोलाउनुभएको, मेरो साथीका घरमा त त्यसै भन्दा रहेछन्।’
मेरो कुरा सुनेर उहाँ सरासर भित्तामा झुन्ड्याइएको मेरो हजुरबुवाको तस्बिर अगाडि गएर एकटकले हेर्नुभयो। बुवाले गम्भीर मुद्रामा मलाई सम्झाउनुभयो, ‘उहाँले काममा सहयोग नगरे त सायद हाम्रो खेतबारी नै बाँझै हुन्छ। खानाको थाल पनि खाली हुन्छ। हाम्रो घरमा भित्रिने प्रत्येक अन्नमा उहाँको देन छ। उहाँकै सहयोगमा गोरु, खेतालादेखि बीउ, ब्याड, सिँचाइसम्मको बन्दोबस्त हुन्छ। तिमीलाई थाहा छ नि हैन ? म चाहन्छु, म जुन सम्मानले उहाँलाई पिता समान मान्छु, काका भनेर सम्बोधन गर्छु। तिमी पनि उहाँलाई त्यही श्रद्धाका साथ हजुरबुवा समान मान, आजसम्म जसरी हजुरबुवा भनी सम्बोधन गर्छौ, त्यसरी नै गर। अबदेखि यस्तो कुरा कहिल्यै नगर है नानी।’
मैले ‘हस्’ भन्दै टाउको हल्लाएँ। त्यति दुःख गर्ने हजुरबुवालाई बिनासित्तीमा त्यसो भनेछुजस्तो पो लाग्यो। अनि मेरी साथीकी आमाको व्यवहार देखेर रिस पनि उठ्यो, खेतदेखि थालसम्म अन्न ल्याउनेलाई नै खाने बेलासमेत सुख नदिने कस्तो मान्छे।
रौतहट, गौरका मधेसी मूलका केशरीलाल दाइ गाउँमा तरकारी बेच्नुहुन्थ्यो, टोकरीमा लगेर। गाउँमा तरकारी त धेरैले बेचे तर केशरीलाल दाइ अरूभन्दा अलग थिए, ‘जरा हट्के’। उहाँले गाउँमा नपाइने सामान सहरबाट ल्याइदिने र गाउँमा धेरै उत्पादन हुने सामान सहर लग्ने हुँदा गाउँले सबैले उहाँलाई निकै सराहना गर्थे। हाम्रो घरमा मान्छे नभेट्दा तरकारी अड्कलेर छोड्नुहुन्थ्यो। तर, हिसाब भने एकमुष्ठ रूपमा उहाँ घर फर्किने बेला मात्र गर्नुहुन्थ्यो। एक दिन उहाँले तरकारी जोखेर हाम्रो घरभित्र राख्नै लाग्दा भर्खर मात्र तरकारीको पसल खोलेका मेरा छिमेकीले उनलाई बेस्सरी हपारेछन्। केशरीलाल दाइ पनि के कम। उनले भनेछन्, ‘मलाई यहाँको दिदीले तरकारी राखिदिनु भनेर राखेको। म तरकारी त्यसै थोडी राखेछु, दिदीसँग भएको सल्लाह मुताविक न राखेछु।’ छिमेकीले भर्खर पसल राखेका थिए। उनको नयाँनयाँ जोश थियो, बजार आफ्नो बनाउन हैकम हैन, युक्ति लगाउनुपर्छ भन्ने हेक्का उनलाई थिएन सायद। उनले रिसको झोँकमा समुद्र पारिबाट आएको विदेशीलाई ठेगाना लगाइदिने भन्दै टोकरी नै उल्ट्याएर तरकारी फालिदिएछन्।
केशरीलाल दाइले भनेछन्, ‘यो घरको दिदी मलाई भाइ भन्नुहुन्छ, उहाँको छोरीले मलाई दाइ भन्नुहुन्छ, मेरो घर रौतहट हो, म त नेपाली हो, अहिले नै भनेछु दाइ, तिमी पनि मलाई चिनिहाल। नेपालीलाई नेपालमा हिँड्न, व्यापार गर्न वा बसोबास गर्न रोक्ने तिमी को ? नेपालीलाई नेपालमा नै विदेशी भन्ने तिमी पो बरु कुन देशको हो, नेपाली हो कि हैन ? ’ यस्तो उत्तर सुनेर मेरा छिमेकी अवाक् भएछन्। स्कुलबाट फर्कनेबित्तिकै यो घटना सुन्दै गर्दा मैले सोचेँ, ममीले भाइ भन्ने उहाँलाई मैले मिलाएर साइनो लगाएको भए मामा भन्नुपथ्र्यो। मैले दाइ भन्ने साइनो लगाएको मिलेको त थिएन तर त्यो दाइ सम्बोधनले कति मिठास घोलेको रहेछ हामीमाझ भन्ने लाग्यो।
हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
कलेजमा साथीहरूमाझ नामले बोलाइनु सामान्य हो। तर, एकजना साथीले आफ्नी समकक्षी साथीलाई बोलाउने नामको अगाडि गार्ड जोडेको पाएपछि मलाई अनौठो लाग्यो र नरमाइलो पनि। हाम्रा कैयौं साथी बिहान कलेज पढेर दिउँसो सहर डुल्थे, आनन्दले बस्थे। तर यो साथी भने बिहानमा हामीसँगै पढेर दिउँसोको समयमा सुरक्षा गार्डको काम गर्थे, कलेजमा नै। उनले समय व्यवस्थापन गरेर पढाइका अलावा कामसमेत गरेकोमा हामीले त उनलाई प्रोत्साहन गर्नुपर्ने हो नि। मलाई लाग्यो, साथी आफ्नो व्यावसायिक जीवनमा जेसुकै काम गर्ने भए पनि कक्षाका लागि ऊ विद्यार्थी र साथीका लागि केवल साथी हुनुपर्ने अनि सोहीअनुसार नै सम्बोधन गरिनुपर्ने हो। मैलै साथीहरूलाई पनि यही भनेँ, साथीहरू पनि कन्भिन्स भए सायद। त्यसपछिका दिनहरूमा उनलाई सम्बोधन गरिँदा गार्ड भनेको सुनिएन।
कार्यालयमा एकजना साथीले समकक्षीलाई चालक दाइ भनेर बोलाउँदै थिए। मैले उनलाई पदले नबोलाई नामले बोलाउन सुझाएँ। उनी त उल्टै तर्क पो गर्न थाले, ‘गाडी चलाउनेलाई चालक नभन्नु ? ’ कतिपय बेलामा पेसाको माध्यमले पनि चिनिन्छ। तर, व्यक्तिको सम्पूर्ण परिचय केवल एउटा पेसा मात्र पनि त हैन। एक व्यक्ति अनेक पेसामा संलग्न हुन सक्छ। कामकै आधारमा वा उसले कामको लागि प्रयोग गर्ने औजारका आधारमा सम्बोधन गरे कसैलाई फोन, कसैलाई कुचो, कसैलाई कलम, कसैलाई कागजबाट चिनाउन पर्ला नि भनेर प्रतिप्रश्न तेस्र्याएँ। केही बेरको आनाकानीपछि बल्ल उनी आश्वस्त भए।
‘के छ कमला, हालखबर कस्तो छ ? ’
फोनमा कसैले यसरी कुरा गर्दा यो वार्तालाप कुनै समकक्षी, साथी वा छिमेकीको वार्तालाप होला भनी सोच्नु स्वाभाविक नै हो। हो, मैले पनि स्वाभाविक ढंगले नै सोचेँ तर हैन रहेछ, यो वार्तालाप त एउटी छोरीले आफ्नी आमासँग गरेको पो रहेछ। यस्तो आवश्यकता आखिर किन, आमालाई नि कसैले नामले बोलाउँछ ? भन्ने प्रश्नमा उसको उत्तर निकै घतलाग्दो थियो। उसले भनी, मेरी आमाको परिचय एकपछि एक गर्दै माइतीकी नानी, घरकी दुलही (बुहारी), उसको बाबुकी पत्नी, मलगायत मेरा दाइदिदीकी आमाको रूपमा फेरिँदै गयो। नागरिकतामा उल्लेख भएको मेरी आमाको नाम कमलाको अस्तित्व केवल नागरिकतामा मात्र सीमित भयो।
उहाँको नामको सार्थकता जोगाइराख्न भए पनि आमालाई गर्ने प्रत्येक सम्बोधनमा आजकल म उहाँको नाम लिन्छु। आमालाई नामले बोलाउने तरिका कस्तोकस्तो सुनिए पनि उसले कारण बताएपछि उसले आमाको नामकोे प्रयोग गर्ने सम्बन्धमा निकालेको जिकिर भने मनासिब नै लाग्यो। हामीलाई हाम्रो नामले कसैले पनि बोलाएन भने कस्तो लाग्ला ? नाम भनेको पहिचान पनि हो, अस्तित्व पनि हो। वास्तविक नामले बोलाइनुले साँच्चै धेरै फरक पार्छ। आज पनि जब पहिचानको नाराको राजनीतिक मुद्दा पृष्‍ठभूमिमा सुन्छु वा कमला नाम सुन्छु, मानसपटलमा साथीको अनुहार घुमिरहन्छ।
अझै पनि काले, पोक्चे, डल्ले, भुन्टे, टुटुल्के, तिखे, नेप्टी, चेप्टी, काली, सेती, बाटुली, मसिनी या यस्तै नाममा परिचय बोकेर त्यतिमा नै जीवनको यात्राबाट वि श्राम लिने धेरै छन्। अझ भनौं, त्यसको लेखाजोखा नै छैन। यसो सोच्दा नाम, काम, परिचय र सम्बोधन बीचको साइनो जेलिएको लाग्छ। खेत जोतेर अन्न उत्पादनमा सहयोग गर्ने दाइको प्रसंग होस् वा सायदै नामबाट सम्बोधन गरिएकी मेरी साथीकी आमा, घरदेखि टाढा आफ्नै देशमा जीविकोपार्जनका लागि खट्ने, श्रमको सम्मान हैन, विदेशीको रूपमा अपमानजनक व्यवहार गरिएका केशरीलाल दाइ हुन् वा आफ्नै सहकर्मीबाट कार्यको नामले सम्बोधित कर्मचारी वा सहपाठीबाट साथीका रूपमा नभई गार्डका रूपमा सम्बोधित साथी, यी सबै हामीले दैनिक जीवनमा देख्दै र भोग्दै आएका घटना नै हुन्।



काम भनेको हाम्रो जीवनको एउटा पाटो हो, पूर्ण पाटो हैन। तसर्थ, हामीले गर्ने काम मात्रै पनि हाम्रो पूरा परिचय हैन। अतः हिस्सा आफैंमा पूर्णता हैन। हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अब अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
शनिवार, ०१ बैशाख, २०७५ 'अन्नपूर्ण पोस्ट', फुर्सद मा प्रकाशित
http://annapurnapost.com/news/95684

Tuesday, March 13, 2018

फेरि अर्काे कहानी

बहिनिलाई खाजा खान गाको, मान्छे थिएनन् खासै । अर्डर गरून्जेल ठीकै थियाे । हामी खान लागेपछि उनी गलत अाशयका गित माेबाइलमा बजाए । उनीसँग अर्काे साथी पनि थियाे जाे उनीसँगै गितमा प्रतिक्रिया जनाउँथ्याे । यतिमा सिमित भएनन्, माेबाइलमा गित घन्काउँदै हाम्रो टेबल हुंदै यता र उता गरे । हाम्राे हुर्मत लीन तम्सेकाे जसरी । सोचें, आफ्नो पैसा तिरेर खानु छ, यस्ताे गतिविधि गर्ने समेतकाे नाममा सेवा शुल्क पनि दिनु, अनि यस्ताे व्यवहार त सहन भएन । काउण्टरमा पैसा संगै उनको कामकाे उजुरी पनि गरें । ठीक पार्छु त भनेँ, साँच्चै ठीक त के हाेलान् र यस्ता मान्छे । हैन, याे हैरानीकाे श्रृंखलाकाे कहानी कहिलेसम्म भन्नपर्ने हाेला । मान्छेकाे साेँच परिवर्तन कहिले हाेला खै ?

सपना, बिपना र सम्झना

कानैमा मीठो साउती गरेको जीवन अचानक मृत्यु बनेर उछिट्टिन्छ । धर्ती टेक्न तम्तयार पाईला हुन्छन् खरानी अंकमाल गर्न आतुर आफन्तहरु बन्छन् मलामी । आकाश र धर्तीको सानो अन्तरमा सपना बिलायो, बिपना जल्यो, जीवन सकियो, रह्यो त केवल सम्झना ।

Wednesday, February 14, 2018

अप्सन 'बी'

दिनै नबिराई कलेज आउने
मेरो एउटा साथी थियो,
जो क्लास भने बिराएर
यदाकदा मात्र आउंथ्यो ।

उसँगै हराउंथी र भेटिन्थी
उस्की प्रेमिका पनि ।
लाग्थ्यो, छुट्टीये भने
बस्लान पो कसरी?


'पाेएट्री इज अ  स्पन्टेनस अाेभरफ्लाे अफ पावरफुल इमाेसन्स' भनेर
कविता प्रतिकाे वीलीयम वर्डस्वर्थकाे धारणाामा
क्लासमा हामी घोत्लिंदा
उ र उसकी प्रेमिका कलेजको चौरमा टहलिन्थे
र सायद काेर्दा हुन्
प्रेमका लाइभ कविता धाराप्रवाह ।

यदाकदा क्लासमा उसलाइ भेट्दा
अाज प्राक्टीकल नगइ
थ्याेरी क्लासमा पाे अाकाे
भनेर कटाक्ष पनि गर्थ्याैँ ।

एक दिन साथी एक्लै अायाे
बिना प्रेमीका ।
खै त तिम्रो साथी?
सबैले सोधे उस्लाई,
अनकनाउंदै जवाफ दियो उस्ले
'उस्को त अर्कैसँग विहे भयो ।'

लगातार दुई दिन हरायाे साथी
पुनः प्रकट भयो हातमा एक पोका सहित ।
फटाफट बांड्न थाल्यो चकलेट
पाेतेर अनुहारमा मुस्कान ।

कारण सोध्यौं हामीले
जवाफ आयो अनौठो,
भन्याे उसले,
मैल त लाइफ टाइम ईभेन्ट सम्पन्न गरेँ ।

गफ हाँक्छस?
अस्तीकाे अाज काे भेटीस्,
जीस्कीन्छस् ?
तलाइँ एक मुक्का लगाउँ, झुट बोल्छस्
भनेर भकुरे साथीहरूले ।

उ शान्त भयाे र भन्याे,
'जव प्रेमिकाको अन्तै बिहे भयो,
तुरून्ता तुरून्तै विवाह गर्ने निर्णय लीएँ मैले ।
अप्सन 'ए' ले काम गरेन त के भयाे?
भनेर तत्काल लक गरेँ अप्सन 'बी' लाइ,
लाइफटाइमकाे लागि । '

अप्सन 'बी' अर्थात, जोसँग उस्को प्रेम
चलेको थियो रे समानान्तर ।
अस्ती विहे भएकीसँग जस्तो चर्कोवाला प्रेम हैन,
मन्द मन्द खालको प्रेम  ।

अचानक, अाज भ्यालेन्टाइन  डेमा
त्यही साथीकाे याद अायाे । 
र हेरेँ उस्को फेस्बुक प्रोफाइल
सिरानमा भेटियाे  उस्को 'ह्याप्पी फेमिली'
क्याप्सनवाला कभर तस्बिर ।

भेटिए तीन थान अनुहार ।
उ, उस्को छोरी र उस्को दोस्रो अप्सन, उस्की श्रीमती
तस्बीरमा थपेँ, एक लाइक तुरूुन्तै
वर्षाैँ पहिले उसले भनेकाे
'चर्काे हैन मन्द मन्द प्रेम' सम्झेर मनमनै हाँसे । 

Friday, December 29, 2017

बालापनः ताउलीकाे तरकारी नाेस्टाल्जीया

सबैलाई त हैन अधिकांश मानिसलाई सानो हुने बेलासम्म ठुलो हुने कैले होला भन्ने लाग्थ्यो । अनी ठुलो भएपछी मान्छेलाई बालापन प्यारो लाग्छ, बाल्यकालका याद ताजा हुन्छन् । त्यसैले सुनिल वर्देवाकाे 'गाेरेटाे अनि उस्तै छ गल्ली.....काेही फर्काइदेउ त्याे वालापन' गीत हीट छ । आज बाल्यकालको एउटा किस्सा सम्झें ।
बाल्यकालमा काउलीको तरकारीप्रतीको मेरो मोह र लगाव । अरुले कसैले कोपिको फुल, गोपिको फुल, फुलकाउली भन्ने तरकारीलाई हाम्रो घरमा काउली भन्थेम । म चैँ काउली भनेसी हुरुक्कै । जती खाए नि पुग्यो नभन्ने ।
हाम्रो बारीमा मम्मी काउली लगाउनुहुन्थ्यो । बारीमा काउलीको बोट कम हुंदै जांदा पिर भने तरकारीको ब्यबस्था गर्ने ममिलाई भन्दा नि काउलीप्रेमी मलाई समेत पर्थ्यो । सानो बेला मेरो तोते बोली थियाे । मलाई काउली मन पर्छ भन्ने पनि हाम्रो छिमेकमा चर्चा र रमाइलोको बिषय थियाे । बुद्दिसागर ठुलोबुवा मलाई जिस्काउनुहुन्थ्याे संधै ।
नानी, तरकारी के खायौ?
म : ताउली ।
उहां : ए हाे र, मलाइ पनि ताउली मन पर्छ । मलाई नि ताउली देउ न । तिम्रो आमाले त कस्तो राम्रो ताउली बनाउनुहुन्छ ।
म : आफ्नै ताउली थाउ ।
उहां: हाम्रोमा त छैन । तिमी देउ न ।
म : भये थाउ, नभये नथाउ ।
एक पटक एस्तो संवाद भएपछी उहांलाई झनै रमाइलो लाग्ने रहेछ । अनी भेट्नेबित्तिकै, 'तरकारी के खायौ' भनेर सोध्नुहुन्थ्यो । म उस्तै पारले जवाफ दिन्थे, अन्त्य हाम्रो उस्तै हुन्थ्यो 'भये थाउ नभये नथाउ' । अहिलेसम्म नि उहां भेट्दा सबै खबर सोधेर अन्तिममा 'ताउलीको तरकारी, भये थाउ, नभये नथाउ' भन्नुहुन्छ ।
काउलीसङैको अर्को प्रसँग हामी काउलीको फुललाई काउलीको बुटा भन्थेम । खानामा के थप्ने भन्दा 'बुटा' भन्दै थप्थेम । एक दिन ममी खाना बनाएर बारीमा जानुभएछ काम गर्न । शनिबार हुनुपर्छ, तरकारी त उही बेस्ट काउलिको पाकेको रहेछ । म गएर एक एक बुटो काउली निकालेर खाएं । एक पटक, दुई पटक हैन धेरै पटक । अन्तिममा काउली र अालुकाे तरकारी त केवल आलुको तरकारी भएछ । तरकारीमा भएकाे काउलीकाे सबै फुल त मैले पो सक्काएछु । पछि सबैले खाना खाने बेला त तरकारी आलुको मात्र रह्यो ।