Friday, July 27, 2018

चप्पल




















घनघोर बर्षा
रोकिएपछी
एक सांझ भेटियो
एक बेजोडी चप्पल ।
रङ खुइलिएको
टलक उडेको
सोल खिएको
हेर्दैमा बैराग लाग्दो
एकल चप्पल ।

कहाँ किन्यो?
सुपरमार्केटमा
कि फुटपाथमा?
कस्ले किन्यो?
स्वयमं लगाउनेले
वा उस्को साथी,
वा आफन्तिले ?

किन्यो कसरी,
कैयौंपटक
घम्साघम्सी गर्दै,
मोलतोल गरी
वा एकै बचनमा
खन्खन  पैसा तिरी ।
वा, राम्रो चप्पल भन्दै
पसलेले फुर्कायो कि?
महङो भयो अन्तै जान्छु
भन्दै किन्नेले थर्कायो कि?

जुत्तासङै चप्पललाई मिलाई मिलाई
सजायो कसैले?
रिसको झोंकमा
यही चप्पल
बजायो कसैले ?
एस्लाई उचालेर
कसैले पुन: थचार्यो कि
वा आफ्नो जिद्धी पुरा गर्न
खुट्टा सँगै बजार्यो कि ?


सकी नसकी
सानी नानी वा बाबुले
ठुलो यो चप्पल
सुकोमल पाइलामा
'मेनो नाम्मो चप्पल' भन्दै
पो उन्यो कि ?
पहिरेर यो चप्पल
पहाड चाढ्ने
बेसीं झर्ने
खोला तर्ने
दुर दुर देश
डुल्न कसैले
अनेकौं सपना बुन्यो कि ?

सोच्दैछु के होला
यो चप्पलको कथा?
के होला खिईएको
यो तलुवाको ब्यथा?
हिजोको कसैको शान
कसैको खुट्टाको मान
कसैको पदचापको
पहिचान
तर आज केबल एक फोहोर ।

संधै अरुको खुट्टाको निर्देशन
कुर्ने चप्पलको अन्त्य
पानीको बहाबमा बग्दै बग्दै
कहाँबाट कहाँं पुगेर तय हुंदैछ ।
यो चप्पल बगे जस्तै
बग्दैछ जीवन पनि ।
कहिले रहर
त कैले जित
हार र प्रहारमा।

अन्त्य कस्तो हुने हो
कस्लाई के थाहा
त्यही पनि जीवनको कस्तो माया
जस्तो यो चप्पल
जीवन पनि उस्तै
सलल, सलल ।

गुरु पुर्णिमा: सम्झना, एक चड्कन र १०० शब्दको

जिन्दगी नामको यो यात्रामा सिक्ने सिकाउने निरन्तर प्रकृया हो । मलाई अहिले सम्म सिकाउने सबै गुरुमा नमन । जहाँ छु, यहाँहरुको कारणले छु ।

आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।

त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित  पढाउंदा जानिन । खै, कुन सनकमा  'तंलाई के मतलब?' भनेछु ।

प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।

Image source: Internet
दुई कक्षा पढ्दा औसत मात्रा पढाई भयो भनेर फेरी दुईमा भर्ना गरेर बाबा बुटवल जानुभयो । एता मलाई फेरि कक्षा तिनमा नै लग्दिनुभयो गुरुहरुले । पछी तीन कक्षाको अन्तिम ताका त बाबाले तीन दोहोर्याउने नै भनेर अड्डी कस्नुभयो । दोस्रो पटक तीन पढ्दा ताका प्यारालाल कुर्ताको फेशन थियो । सबैले लगाउने फेशनको कुर्ताको माग त मैले नि गर्ने नै भएं ।

माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।

बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।

Image Source: Internet
त्यो १०० शब्द जानेर घर फर्किएं । शर्त अनुसार त्यो कुर्ता हेर्न र लगाउन पाईयो । जीवनमा धेरै कपडा लगाये नि त्यो कपडा मलाई आज पनि बिशेष लाग्छ, सांचो मानेमा त्यो चैं मेहनतले आर्जेथें जस्तो लाग्छ । आज पनि जब Bournville चकलेटको बिज्ञापनमा 'Have you earned it? भन्दा मलाई ति सय शब्द र त्यो पहेँलो कुर्ताकै याद आउंछ ।

चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें ।  ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।



अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।