Tuesday, December 3, 2013

कठीन यात्रा


पोखरा । पोखरा । पोखरा ।

ल है सररर सिटमा बसी पोखरा । आउनुस, सिटमा बसेर पोखरा जान । पोखरा पोखरा भन्दै कन्डक्टर भटभटाउँदै गर्दा घ्याच्च रोकीयो मिनीबस । छिनछिनमा रोकीएको देख्दा यो गुड्ने खाले बस हो की रोकीने खाले बस भन्ने प्रश्न सल्वलाउँदै थियो । मजस्तै गाडीमा सवार अन्य यात्रु पनि आजित भएसकेका रहेछन् । 

कोही भन्दै थिए, “भाई, अव मान्छे भरीसक्यो, अव नरोकम, पोखरा पुग्दा रात पो पर्ने भयो त ”

“हुन्छ”

खचाखच यात्रु भर्ने बानी लागेको कन्डक्टर किन पो मान्थ्यो र । बसबाट झरेर पोखरा जाने मान्छे खोज्न थाल्यो ।
गाडी रोकीने वित्तीकै एक हुल पसे बसमा हातमा कोही थाल, कोही राता निला, पहेँला प्लाष्टीक झुण्डाउँदै । कतै हरियो काँक्रो, कतै पोलेको मकै, कतै स्याउ, कतै पापड, कतै मिठाई, कतै चाउचाउ, कतै चिज वल्स त कतै चिप्स । मोलतलाई, भाउ घटाघटको क्रम चल्दै गर्दा गाडी भन्दा पनि बजारको अनुभुती भईराखेको थियो ।

त्यतिकैमा एक व्यक्ति खाली गोडा र हातमा चप्पल लगाई सकी नसकी बसमा उक्लीए । उनका गोडा अलिक बाँगीएका थिए, गोडाले हिँड्न नमिल्ने भएकोले नै चप्पल हातमा लगाएका होलान् । उनलाई देख्ने वित्तीकै गाडीको ढोकानेरकै सिटमा बसेकी एक प्रौढ महिलाले १० रुपैँया दिइन् । उनकै सिको गर्दै उनी भन्दा पछाडीको सिटको व्यक्तीले पनि दिए, रु १० । पैसा पाएर पनि उनी हाँसेनन्, न धन्यवाद नै भने । पैसा दिएका यात्रुहरु मुखामुख गर्दै थिए । उनले पैसा सर्टको पकेटमा हत्तपत्त राखे । विस्तारै सर्टको माथिल्लो दुइँ वटा बटन खोलेर हात घुसारे भित्र । एकछिन कच्याककुचुक आवाज निस्कीदै थियो, उनले त सर्टभित्र राष्ट्रिय दैनिक पत्रिका पो ल्याएका रहेछन, रु १० पर्ने । एउटा एउटा पत्रिका हातमा थमाएर पछिल्ला सिटतर्फ घिस्रीनै लागेका थिए तर अघि १० रुपैँया दिएका द्धयले पत्रिका नपढ्ने र पैसा राख्न भने । उनी स्पष्ट बोल्न पनि सक्दारहेनछ्न्, टाउकोको इशाराले पत्रिका राख्न भने, द्धयले पत्रिका र्फकाएर पैसा राख भने । पत्रिका कुनै पनि हालतमा नलग्ने भएपछि उनले एकछिन अघि पकेटमा राखेको दुई वटा १० का नोठ फिर्ता गरे र गाडीबाट झरे ।

अरु व्यापारीहरु झरे र कन्डक्टरको सिट दिने आश्वासन पाएका ३ यात्रु वसमा पसे । ड्राइभरले गाडी बिस्तारै अघी बढायो । म त्यो स्वाभीमानीलाई गाडीको झ्यालबाट चियाँउदै थिएँ पछाडि, उनी फेरी अर्को बसमा सकीनसकी चढ्ने प्रयास गर्दैथिए र तय हुँदै थियो अर्को कठीन यात्रा ।

3 Dec, 2013 - International Day of Persons with Disabilities
Gairapatan, Pokhara 

Friday, August 30, 2013

सिम्पल साडी

तीजबारे सोचमग्न छु । छर छिमेक, बजार तिजमय छ । तिजे भाकाले गुन्जाएमान छन् गल्लीहरु । तिज भाका त के भन्नु र? तिजलाई ताकेर बनाईयेका गितहरु घन्किसके । अस्ती दुई महिना अगाडि तिजको भिडियो बनाउने कार्यक्रममा छिमेकी दिदीले बोलाएकी पनि थियिन् । खै मलाई एस्ता कार्यक्रमले पटक्कै तान्दैन । केही बहाना बनाएर टारीदियें । स्थानिय एफ एम देखी राष्ट्रिय टेलिभिजन च्यानलमा तीज बिशेष गितको भिडियोको प्रचारप्रसार पनि ब्यापक भैसके । स्थानीय च्यानलमा त झनै तीजको भब्य भोजको महोत्सब आउन थालेको पनि पुगनपुग महिना नै हुन लागिसकेछ ।

फेसबुकमा आजकल बिदेश बस्ने जमातमा झनै तिजको रौनक बढी छ जस्तो लाग्छ । हुन त हप्ता भरी काममा खट्न परेर पनि धेरै अघी देखिका छुट्टीमा नै तिज मनाउंदाहुन् ।  बिदेश बस्नेलाई पनि गार्हो नै छ । न स्वदेश भुल्न सक्नु, न फर्किन नै सक्नु ।

टेबलमा बजेको मोबाईलले एकाग्रता भङ गरिदियो । लेन्डलाईन नम्बर थियो । अक्सर कुरा हुने फोन सेभ हुने भाकोले नयाँ नम्बर आउंदा लावारीश कल जस्तो पो लाग्छ त । तर लावारीश भनेको फोन आफ्नै मान्छेको पनि त हुन सक्छ ।

रितुजी हो ?

हो ।

नमस्ते । सुन्नुस्, है रितुजी । म सोनी बोल्दैछु । हतारमा छु, छिट्टै सकाउने प्रयास गर्छु है ।

(हुन्छ भन्न नभ्याउंदै उता बाट सुरु भईसकिछन्)
हाम्रो पर्सिको तीज कार्यक्रममा तपाईं जसरी नि आउनुपर्छ । पोहोर जसरी आउन भ्याइन भन्न पाउनुहुन्न । यो पाली पनि तीज बिशेष कार्यक्रममा आउनुभएन भने चैं तपाईंलाई हाम्रो महिला एकता समाजको सदस्यबाट बिदाई गर्नुपर्नेछ । यो पाली कुनै बहाना नबनाउनुहोला नि फेरी । अनी सुन्नुस् त, यो पाली त तीजको कार्यक्रमकै लागि काठमान्डुबाट गेस्ट आर्टिस्ट बोलाको छ । उही के, अहिलेको चर्चित गायिका, पार्वती जोशी । प्रोग्राम पोखरा रिसोर्टमा है, २ बजे । ल राखें, सबलाई फोन गर्नुछ । आउनु नि फेरी ।

हो, मलाई रमाईलो गर्न मन पर्छ । गाउन नाच्न रमाईलो लाग्छ, तर जसरी तिजलाई देखाउने चाडको रुपमा परिवर्तन गरिदैंछ, त्यो मलाई मन पर्दैन । सारी र गहनाको भारीले लगाउनेलाई त थिच्छ नै, लगाउन नसक्नेलाई झनै थिच्छ । मलाई त्यसैले एस्ता खाले तिजे दरमा सरिक हुन पटक्कै रहर छैन । अा, जे परे परोस् जान्नं । तर फेरी समाजकै हिस्सा भएर नि के एसरी अलग हुनु ठिक हो ?

फेरी सोचें । जव म स्वयमंलाई नै मन छैन भने अरुले कर गरेर मात्र हुन्छ? जान्न ।

यस्तैमा सम्झें, स्कुलमा तलब नपाएको त तीन महिना भईसक्यो । मलाई अब दसैं अघी तलब पाइएला जस्तो उस्लाई कत्ती लागेन । दसैं अघी त्रैमासिक परिक्षा छ, बालबालिकालाई परिक्षामा सामेल हुन पाइंदैन भनेर सूचना जारी गरेसी दसैं अघी चैं पैसा जसरी पाईन्छ भन्ने लाग्छ ।
स्कुल सकेर घर फर्किने तर्खर गर्दै थिएं । मलाई लेखापाल मिसले डाकिन् ।

किन बोलाईन् होला । कतै यिन्ले पनि तिजको मेला, तिजको दर को लागि कुपन त भिराउन लागिनन् ।
तलब दिन पो बोलाकी रहेछन् । सपना हो कि भन्ने पनि लाग्यो, हैन बिपना नै रहेछ । आज भाद्र १२ गते जेष्ठ महिनाको तलब ८५०० तलब बुझें । जेष्ठ महिनाको तलब भाद्रमा बुझ्दा नि किन दाङ पर्छेस मुर्ख भनेर आफ्नै मनलाई गाली गरें । 'कागजमा अथवा नियुक्ती पत्रमा लेखिएको तलब त मेरो १७००० पो थियो । तलब पाउनु छ तीन महिना पछाडि, लेखिएको भन्दा आधा तलब पाउनुमा बैराग पनि लाग्यो । किन मान्छे एती निरिह हुन्छ । मलाई थाहा छ, करारमा उल्लेख गरेको रकमभन्दा आधा तलब दिनु गैर कानुनी कार्य हो । यस कार्यको बिरुद्द म कानुनी कारबाहीमा जान सक्छु । तर मलाई कानुनले न्याय दिन्छ कि नाई भन्नेमा नै शन्का छ । ल, न्याय दिएछ नै भने नि त्यो न्याय प्राप्तीको यात्रा कम्ती पट्यारलाग्दो त हुने छैन, तेसैले म बुझेर पनि बुझपचाउंदै छु, निरिह नै छु ।  

घर फर्किदैं थिएं, खै के सुर चल्यो मलाई । यो तिजमा एउटा सारी त लिन्छु भन्न्ने ठानें । सिधै साडी सोरुम पुगें ।
"साहुजी,सिम्पल साडी देखाउनुस् त, हल्का कडाई भएको, सादा भरेको ।"
तर, साहुजी त एक्कासी एक्कासी आबेगमा आयो ।
"केको सिम्पल हो, त तपाईं केलाई सिम्पल भन्नुहुन्छ, बताउनुस् । त सय जनामा १ लोग आएर भन्नुहुन्छ, बस सिम्पल लुगा दिखाउनुस्, त बाँकी लोग भन्छन, अलिक फेशनेबल देखाउनुस् । त तपाईंलाई स्पेसल सिम्पल कहाँबाट ल्याम । दिन भरी मलाई अझै भरेको दिखाउनुस्, यो सिम्पल भयो भनेर कस्टमर लोग परेशान गर्छ । तपाईं आउछ सिम्पल दिखाउ भन्छ, हैन तिजमा त मस्त भरेको लगाउनुस् न । दिमाग नखानुस् ।

"
----
भुनभुनाउदै फेरी अर्को दोकान पसें । अनी पुन त्यही प्रश्न राखें । साहुजी,सिम्पल साडी देखाउनुस् त सादा भरेको ।
"ल हाम्रो दोकानमा भाको सबै भन्दा सिम्पल सारी यही हो, यो ठीक छ भने भन्नुस्, हैन भने सरी, तपाईंलाई हुने सिम्पल सारी हामीसङ छैन भन्नुपर्ने हुन्छ ।

सारी उचालेर हेरें, पैसा सोधें ।
साहुजीले हल्का मुस्कान सहित भनें ।
"७५००"

उचालीराखेको सारी अब कता पो राखिदिउं जस्तो लाग्यो । प्रत्युत्तरमा भनें ।

बाफ रे बाफ । यो त मलाई सार्है हेभी भयो । दोकान पस्दै निस्किदैं गर्न मन त कहाँ थियो र । तर आफुले किन्न्न सक्ने सारी नै नदेखे पछी के गर्नु । सारी किन्छु भन्ने सोचीसके, अब एउटा दोकान पस्छु अझै । अर्को पसलमा पसें ।

दाई, सबै भन्दा सिम्पल साडी देखाउनुस्, हल्का भरेको ।
(ल लिनुस्...)

हातमा लिएको, हातै गर्हौ भयो ।

ओहो! यो त सार्है गह्रुङो छ ।

उस्ले भन्यो, आजकल गह्रुङो साडी फेशनमा छ, यहाँ भन्दा सिम्पल त साडी राम्रो हुदैन, धेरै छैन जम्मा ३ केजी होला । आजकल त यो भन्दा नि अझ भारी को चलन छ।

फेरी अर्को हेरें, अनी सोधें 'पैसा कती हो?'

बुटिक पिस हो हजुर, तपाईंलाई मात्र ११५००

मलाई यो त झनै हेभी भयो । (सारीको वजन हैन पैसाको वजन पनि हेभी जो थियो)

हेभी भयो । यो भन्दा धेरै नै सिम्पल र सस्तो देखाउनुस् न। २००० भित्रको (अफट्यारो लागे नि मुख फोरेर भनें, आखिर मैले पाउने तलबको एक चौथाई पैसा जस्तो हो २००० । मेरो वास्तविकता यस्तै हो, जो मैले स्विकार गर्नै पर्छ । मेरो कुरा सुनेर पसले मरी मरी हा*स्यो ।
लौ सुन्नुस्, के भन्छ, २००० को साडी । अरे, के भन्नुभयो । यो त ७ बर्ष पहिलाको कुरा हो, यो त जोक भयो । २००० मा त मेडम के आउंछ । सारी, त्यो पनि २००० मा किन दुनियाँ हसाउनु ।

(अपमान बोधले म खङ्रङ भयें)

"बजारमा मेरो लागि साडी नै रहेनछ । लामा-लामा पाइला सार्दै मुर्मुराएं, यो समाज मेरो लागि हैन । म यो समाजको लागि हैन। समाज मेरो लागि भारी छ, म समाजको लागि सादा छु । महिला एकता समाजबाट निस्कासित हुन मानसिक रुपले तयार बनें । 

Thursday, June 13, 2013

आलु

हाम्रो पसलसँगै पसल भाको अंकलको कान्छो छोरा सार्है नै चकचके थियो। स्वभाब अनुसार नाम राखिदिने चलन अनुसार उस्को नाम नै 'धनधन' राखेका थिए । उसले भन्या जस्तो अलिकती मात्रै भएन भनी लडिबुडी खेल्ने, रुने, कराउने गरेर दिक्दार पार्थ्यो ।

घरमा आमासँग रिस उठेछ, अनी बस्ने गरी साँझपख हाम्रोमा आयो एक दिन । उसलाई हामी सबै जना माया गर्थ्यौ, त्यसैले उसको आगमनलाई सहज् नै मान्यौ । तर मनमा भने एस्तो चक्चकेलाई कसरी धान्ने भनेर कताकता डर पनि लागेको थियो । ममिले खाना बनाइसकेर खान बोलाउनु भयो ।
सबै जना डाइनिङ टेबलमा बस्दै गर्दा उस्ले सोध्यो 'केको तरकारी हो?'
'सिमिको'
'आ..लु...'
'आलु पनि मिसाको छ बाबु, पिर नगर ।'
(फिस्स हास्यो)
----
सबै जना खाना खादै थियौ । ममिले सोध्नुभयो, 'बाबु, के खाने ?'
'आ..लु..'
जवाफमा आलु सुनेर, टन्न आलु थपिदिनुभयो ।
उ त एक्कासी उठेर चुठ्न पो गयो ।
ममी भन्दै हुनुहुन्थ्यो , 'मैले झन तिमीलाई मन पर्ने आलु थपे, किने खाना छोडेर उठेको?'
'आलु भन्या त आलु, मतलब जिरो भनेको नि । केही पनि खान्न, पुग्यो भनेको नि । त्यती पनि थाहा छैन, आ..लु.. ।"
सबै जना अकमक्क पर्यौ । अलीअली हासो पनि लाग्यो ।

Sunday, April 21, 2013

समय

मेरो एउटा साथी थियो, स्कुल पढ्दा ताका । खै, किन हो कुन्नी मलाई त उसको स्वभाब, हामी सबैको भन्दा अलिक भिन्न लाग्थ्यो । स्कुल आउन एकदम दिक्क लाग्छ भन्थ्यो उ । स्कुल कसरी नआऊने भनी बहाना बनाउन तल्लिन रहन्थ्यो । त्यसो त, पढाईमा ध्यान नदिएको भनेर उसले धेरै सजाय पाउथ्यो ।  अब सुध्रिन्छु भनेर कसम पनि खान्थ्यो । तर उसको बानी भने जहिले उस्तै । उसको बुवा भारत काम गर्नुहुन्थ्यो । त्यही शिलशिलामा उ पनि केही समय उतै बसेको थियो । त्यसैको असर होला शायद, उ अलिअली हिन्दी मिसाएर पनि बोल्थ्यो । अनी सर वा मिस नआएर कक्षा खाली हुँदा सबैलाई उक्साउदै अन्ताक्षरी खेल्ने बनाउथ्यो ।

फेरी फिल्म भनेपछी हुरुक्क हुन्थ्यो  उ।  फिल्म नै हेर्नको लागि सदरमुकाम जान्थ्यो उ । फिल्म फेरिएको थाहा पाउनासाथ झन्डै  दुई घण्टा हिंडेर सदरमुकामको हल पुग्थ्यो । कहिले त एउटै फिल्म दुई तीन पटक पनि हेर्दोरहेछ, फिल्म फेरियो भनेर पाएको जानकारी गलत परेको बेला । त्यती मात्र कहाँ हो र, उ त अझै कक्षामा फिल्मको कथा भनेर बस्थ्यो । अनी फिल्म कथा सुनाउदा उ आँफै नायक झै गर्थ्यो । कहिले त उ फील्मका नाम मात्रै राखेर कथा पो लेखेर सुनाउथ्यो । साथीहरु माझ् निकै रवाफ देखाऊथ्यो । एक पटक नेपालीको गृहकार्य बुझाउदा उसले त्यही फिल्मको नामैनामले लेखेको कथा भाको कपी परेछ । मिसले उसलाई कत्ती गाली गर्नुभयो । उसकै शैलिमा नेपाली फिल्मकै नामसँग मिलाउदै "त त सार्है बिग्रिस नि बाबु" भन्नुभाको थियो  उहाँले।

हामीलाई धिरेन शाक्य, राजेश हमाल, निखिल उप्रेती सबैलाई चिन्छु भन्न भ्याऊथ्यो उ । अझ कुन नायिका पर्दामा राम्री, कसको नाच राम्रो, को नायक असली नायक, को नाम मात्रैको नायक भनी बखान गरी बस्थ्यो, उ । कहिले त आफुले फिल्म खेल्ने अवसर पाएको तर भूमिका चित्त नबुझेकोले मात्र यहाँ भाको भन्थ्यो । एस्तो सुन्दा साथीहरु जिल्ल पर्दै हेरिरहन्थे उसलाई ।  हाम्रो तिर नजिकै भालुपहाड भन्ने ठाउँ थियो, जहाँ बेलाबेला फिल्मको छायांकन चल्थ्यो । एस्तो भेउ पाउनासाथ उ त्यतैतिर हानिन्थ्यो ।

एक पटक चैतताका हो क्यारे, हावाहुरीको कारणले काम गर्न नसकेर छायांकन अली दिनको लागि लम्बिएछ । उ छायांकन हेर्न भनी जाँदोरहेछ, अनी छायांकन नभएकोले उतै दिनभर बरालिदोरैछ । छायांकन टोलीले त्यो ठाउको काम नसकिन्जेल उ पढ्न स्कुल जानेवाला थिएन । दिनदिनै घरमा आमासँग कसरी जोगिने भनी उसले घोत्लिदै नयाँ जुक्ती निकालेछ । उसलाई थाहा थियो उसको आमाको हातमा घडी थिएन। त्यसो त त्यो बेला अहिलेजस्तो हात हातमा घडी हुँदैनथ्यो पनि । बिहान आमा खाना पकाउदै गर्दा उचित मौकाको खोजिमा रहन्थ्यो, उ, कसरी आमालाई समयको गलत भान पार्ने भनी । आमाले थाहा नपाउने गरी भालुपहाड पुग्ने भनी सोचिबस्थ्यो । अनी आमा खाना पस्किदै गर्दा उसको घरभरिमा भाको समय नाप्ने एउटा मात्रै चिज भित्ते घडीलाई १०:३० बनाउदोरैछ । स्कुल जाने बेला घर्किसक्यो भनेर आमाले स्कुल जान कर गर्नुहुन्नथ्यो, उसलाई त खोज्या जस्तै भयो । आमा घरमा हुन्जेल त उ घरमै बस्दोरैछ । अनी आमा मेलापातको लागि लाग्ना साथ भालुपहाड जादोरहेछ ।

आमा ऊसलाई ढिलो हुन्छ भनी छिटो उठेर खाना पकाउन थाल्नुभयो, तर जहिले ढिलो भईसक्थ्यो । यो शिलशिला धेरै दिनसम्म चलेर उ लगातार धेरै दिन उ स्कुल नगएपछी सोझी आमालाई समेत कताकता शंका पसेछ । यो बिचमा एक हप्ता बितिसकेको हुन्छ । छोराको चाला उहाले पत्ता लगाएपछी उहा उसलाई लिएर सोझै स्कुल पुग्नुभयो । स्कुलमा प्राचार्यलाई सबै कुरा सुनाउनुभयो । त्यसै झन्किने प्राचार्यको रिसको पारो चाढिहाल्यो । उहालाई एकै पटकमा दुइ थरी झोक चल्यो । पहिलो, विद्यार्थीले आमालाई छलेकोमा, दोस्रो झन्डै एक हप्ता बिद्यालय गयल भएकोमा ।

रिसले रातो आँखा पार्दै सरले बेस्मारी चुट्नुभयो । बिचरा, उस्ले कती पिटाइ खाको थियो । सरको छडिसँगै गालीको प्रसाद खाँदै गर्दा उस्का आँखा रसिला हुँदै गये । ठीक बिपरित सरका आँखा चै राता र चम्किला भये । सरको त अनुहार समेत रातो भको थियो, अनी आँखाको नानी कस्तो घुमेको घुमै भाको थिए । तर खै, सरले त कत्ती पनि दया देखाउनुभएन।

पिटाइ सँगै सरले भन्दै हुनुहुन्थ्यो ।

'अब समय घुमाउने कला जानेपछी त उल्टो सुल्टो जता घुमाये नि भयो नि । तिमीलाई एउटा सल्लाह के,  किन समयलाई अगाडि लग्ने, बरु पछाडि लैजाउ हुन्न ? ए बाबु, कहाँ बाट सिक्यौ नी ?
ल, न मलाई पनि सिक्नुछ यस्तो अदभुद कला त !
म गुरु भएर सिकाउन पर्ने त सबै सिकाइसके,  अब आजलाई म तिम्रो गुरु हैन, तिमी मेरो गुरु बन ल।

तिमी सिकाइदेउ है मलाई समयलाई उल्टो घुमाउन । यो विशेष ज्ञान सिक्न म आतुर छु । मलाई नी तिम्रै उमेरमा फर्किने रहर पो लाग्यो । भोली देखी त तिमी र म न गुरु न चेला, हामी त केबल साथी पो । त्यो पनि मिल्ने साथी ।

सर त अझै भन्दै जानुभयो । "क्या गज्जब, सँगै जाम्ला नी फील्म हेर्न, अनी भालुपहाडमा  नायक/नायिका भेट्न । मलाई त नायिका सँग नाच्न नि मन छ । बाबु, आमालाई मात्र किन छल्छस, आइजा त र म छलौं सारा दुनियाँलाई । अनी सुन त, हामीसँगै घडी घुमाम्ला नि, हुन्न र । आइजा मिलेर उल्टो घुमाउँ यो समाज अनि सिंगो समयलाई ।"

Sunday, April 7, 2013

के म बोक्सी बन्न सक्छु ?


के म सफल बन्न सक्छु? के म जीवनमा अगाडी  बढ्न सक्छु? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लीने मेरो मनले आजकाल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा वग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु?

अनी तर्कना गर्न खोज्छु, आखिर बोक्सी वन्न के चाहीन्छ । गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झीँदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गिय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्वल, निरिह महिलाहरुको अनुहार एक पछाडि अर्को गरि आउन थाल्छ । यी सबै गुण, अवगुण म आफुमा हाललाई भेटाउँदीन, तर भविष्यमा कुनै बेला वुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको शिकार भएमा, रोगी वा समाजको लागि निकम्मा सावित भएमा म बोक्सी कहलाउन पनि त सक्छु । बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी वन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालीम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब उ पगरी सँगै आउने घृणा, लाञ्छना, वेइजज्तीको भागीदार स्वत हुन्छीन् । हाम्रो समाज, संस्कार र व्यवहार सदा र्सवदा शक्तिको वरीपरी घुम्ने परिपाटी छ । सामाजीक, पारिवारीक, आर्थीक र  शारीरीक रुपमा शक्ति सम्पन्नको पछाडि समाज अन्धो भक्तीभाव देखाउँछ । भेदभावको दृष्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी विस्तारै अर्को पक्षहरुमा कमजोर र्पादै लान्छौं, दोहोरो र तेहोरो भेदभावको माध्यमबाट। गरिव, वृद्ध, असहाय, विधवा महिलालाई कति तहको यातना हुन्छ, त्यसमाथि हामी  थपिदिन्छौं, मानसीक र शारीरीक यातना । यो कस्तो न्याय हो । धिक्कार छ हामीलाई जसले जानेर नजानेर यसलार्य प्रश्रय दिइराखेको छौं । किन गाउँकी मुखीनी आमै सबैको लागि सम्मानयोग्य हुन्छीन् कहिल्यै बोक्सी हुँदीनन् । हो, यही शक्तीको पूजा गर्ने समाजको कायदाको कारणले ।

आज संचार माध्यम बोक्सीको समाचारले गुञ्चायमान हुँदै गर्दा, पत्रिकाका अंशहरु भरिँदै गर्दा म स्वर्गे भइसक्नुभएकी एक जना हजुरआमालाई सम्झिन्छु । बेलैमा पति गुमाउनुभएकी, छोरा नभएकी, छोरीहरु विहे गरी आ-आफ्नो घरमा पठाइसक्नुभएकी, छोटो कदकी, मुखमा केबल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपीच्छे बोक्सी भन्दै जिस्काएर हैरान गर्ने  केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो ।

हिजो बोक्सी सम्वन्धी लेख पढेकोले होला सायद्, सपनामा मैले उहाँलाई नै देखेँ ।

उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमिले पनि मलाई बोक्सी मान्थ्यौ? भन, के म बोक्सी थिएँ ?'

उहाँलाई उत्तर दिन नपाउँदै म विउँझेछु, यद्यपी यस प्रश्नले मलाई आज लखेट्दै छ ।

मैले मेरो परिवारबाटं बोक्सीले यस्तो गर्छन्, यो बोक्सी हो भन्ने कहिले सुनिन । सबैलाई माया गर्न, सम्मान गर्न नै सिके । त्यही संस्कारले गर्दा होला सायद, न उहाँलाई बोक्सी भने, न उहाँबाट बदलामा गाली खेपे । करिब १७ वर्षपहिले हामी भर्खर नयाँ घर र्सदा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । हाम्रोमा फुल रोप्ने ठाउँ थिएन, डेरामा रोपेको फुलको ठुलो झयाङ थियो, रोप्ने ठाउँ नपाएपछि मेरो आँखा छिमेकी हजुरआमाको जग्गातिर गयो । हजुरआमाकोमा फुल रोप्छु भन्दा आमाले रिसाउनुहोला, भैगो, छोड भन्नुभयो । तर मेरो बालहठ किन पो सम्झौतार् गथ्यो, टन्न माटो सहितको ठुलो फुलको झयाङ लगेर उहाँको मा फुल रोपीदिए । उहाँले त झण्डै २ महिना जस्तो याद नै गर्नुभएनछ । पछि थाहा पाउने दिनमा बेस्सरी कराउनृभयो, मेरो जग्गा कसको भइसकेछ, यहाँ रोपेको फुल मलाई थाहा नहुने अनि के के भन्दै । सबै सुनेर म घरबाट निस्के र भने, हजुरआमा, हाम्रोमा ठाउँ थिएन, उता घरमा हुँदैको फुल छोड्न मन लागेन, मैले रोपेको, हजुरले धेरै फुल चलाउनु, म कहिलेकाँही चलाउला हुन्न भनेर मुस्काए । उहाँले मुस्काउँदै हुन्छ त भन्नुभएन, तर उखेलेर फालीदिनु पनि त भएन । प्रत्येक दिन विहानै त्यही हजुरआमाको बारीको फुल टिपेर मेरा छिमेकीहरु पुजा गर्थे, तर उहाँलाई बोक्सी भन्ने त उनीहरुको बानी नै भाको थिए किन छाड्थे र । मानीसहरु उहाँलाई यतिसम्म घृणा गर्थे, उहाँलाई चिया दिन पनि हिच्किचाउँछे, गोठको छेउ भरसक र्पादैनथे, वस्तु विच्कीन्छन्, दुध घटाउँछन् यस्तै यस्तै भनेर । यो सबै सुन्दा मलाई उहाँको घरमा नै भैँसी छ, त्यसो भए त्यो किन विच्कीन्न, त्यसले सँधै दिनुपर्ने जति नै दुध दिन्छ भन्ने लाग्थ्यो । पछि उहाँ वेस्सरी विरामी पर्नुभयो, त्यही बेला उहाँले भैँसी बेच्नुभयो । हाम्रो घरमा भने ठिक त्यही बेला भैँसी कीन्ने संयोग पर्यो । उहाँले बारीमा भेण्टा लगाउनुभाको थियो, त्यो लटरम्म फलीरहँदा उहाँलाई डाक्टरले भेण्टा कहिले खान हुँदैन भनेछन् । उहाँ एक्लो मान्छे, तरकारी बेचेर पैसा जम्मा पारेको भए पनि त हुन्थ्यो, तर हाम्रो घरमा दिइराख्नुहुन्थ्यो ।

उहाँ बारीमा तरकारी गोड्न प्राय साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्ने बित्तिकै बाबा 'ल, आमालाई दुध खुवाएर मात्र पठाउ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दुध सकिँदा, छिटै भए पनि 'ल, आमा एक छिन है' भनेर आफैँ बाल्टी लिएर दुध दुहुन जानुहुन्थ्यो । उहाँ विरामी भएर थलिरहँदा म उहाँलाई दुृध पुर्याउन जान्थे । हामीलाई छिमेकीले बोक्सीसगं न कति मिल्या हो भने, भैंसी मर्ला, दुध घटाउला पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दुध दिइरह्यो, मर्दा पनि मरेन । उहाँले गोडमेल गरीसकेपछि घाँस निस्कीँदा हाल्दीनुहुन्थ्यो, तर कहिले केहि अनर्थ भएन । मेरो आफ्नै हजुरआमा उहाँको दामली भन्न सुहाउने हुनुहुन्थ्यो, उहाँहरुको कुरा मिल्थ्यो, त्यसैले पनि होला विस्तारै उहाँ हाम्रोमा आइराख्न थाल्नुभयो । सबैले छिछि दुरदुर गर्ने र हाम्रोमा पारिवारीक व्यवहार पाएकोले होला उहाँ निकै बेर वस्नुहुन्थ्यो, हामीलाई निकै माया गर्नुहुन्थ्यो । उहाँसगं नजिकिँदै जाँदा मलाई अरुले घृणा गरेकोले उहाँ नमिठो बोल्नेरैछ, माया गर्नेसगं त उहाँ त्यती नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।

सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केहि भन्न चाहन्छु । अहँ उहाँ बोक्सी हुनुहुन्थेन, बस घृणा र तिरस्कारले रुखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चैँ नरम र सुन्दर थियो । हो, मेरो छिमेकी हजुरआमा हजुर केबल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन । मैले कहिल्यै बोक्सी मानीन हजुरलाई । 

Saturday, January 5, 2013

पर्स


"पर्स... ?"

मैले हराएको पर्सको पुरा बेलिबिस्तार लगाइसक्दा झन्डै ६५ बर्षाक जस्ता देखिने हेराउने बाजेले प्रश्न तेर्साये । 

"हजुर, पर्स हरायो, बा ।"

"तर नानी, के हो पर्स भन्या ? 

"पर्सलाई के भनेर बुझाउनु, म अकमक्क परे । के भनेर बुझौ भनी घोत्लिन खोजे ।  

"अ... पर्स भनेको..."     

म अनकनाउदै गर्दा बाजेले पुन: प्रश्न गरे ।   

"पर्स, के हो फेरी यो पर्सा भन्या ?" 

त्यतिकैमा भित्रबाट मसिनो स्वर निकाल्दै एक जना केटी निस्कीन् ।

"बेग के बुवा ।" 

"ए, बेग । म ति केटीतिर हेर्छु ।" 

"पर्स भनेको सानो बेग हो के बुवा । (बुवाले पर्स मात्रै नबुझ्नु भाको हो दिदी, बेग बुझ्नुहुन्छ)

"ए ए..."

"म उहाको छोरी ।" 

"ए.."(एस्तो बुढो देखिने बाको छोरी त सानै उमेरकी रैछीन्, म हास्छु)     

"नानी, मैले कुरा बुझे । छोटकरिमा भन्नुपर्दा, ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न ।" 

"लौ, बा, के हो त्यस्तो भन्या ?" 

"कुरा सिधा नै त छ नानी ।" 

"मैले त बुझिन, बा, "

"सच्चै नै बुझिनौ त, नानी ?"

"खै, बा.. मलाई त हजुरको कुरा गोलमटोल लाग्यो ।" 

बाजेले अली चर्को स्वर निकाल्दै  भने,

"ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न भनेको नि । कुरा प्रस्ट नै त छ । ..   तिम्रो ग्रहदशा त बलियो छ, तर भेटाउने मान्छे तिमी भन्दा झन जब्बर छ । तर जसले लगेको छ, उस्ले आँफैले दिदैँन भनेको नि । "

"आशा नै मारे भयो त बा ।"

"आशा नै मारिहाल्न परेन, तर खासै आशा पनि रहेन..कुरा त्यही हो, ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न...।"
(कती घुमौरो कुरा गर्न जान्या रैछन)

"ल है त नानी । हेराउनेबाजेले बिट मारिहाले ।"

म हेराउनेबाजेबाट कत्ती पनि प्रभाबित भइन ।
(म  निलो पचासको नोट दिदैँ) .."के गर्नु बा, पैसा जती सप्पै पर्ससंगै गयो ।"
  
बाजेले पैसा राखे । 

झन्डै ४० मिनट हिंडेर खोज्या हेराउने ठाउँ नि नमुना नै परेछ जस्तो लाग्यो । 

मेरा साथीहरुमाझ "ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न" निकै चर्चित भयो ।

- - - - - -

झन्डै एक हप्ता पश्चात ।   

"रिमा सिंह बोल्नुभाको हो?" मोबाइलमा लेन्ड्लाइनबाट आको कलमा एक महिलाको स्वर थियो । 

"हो, म रिमा नै बोलिराछु ।"

"तपाईं कहाँ हुनुहुन्छ?"

"म अफिस छु ।" 

"उद्योग बाणिज्य संघ आउनुहोला, हजुरको पर्स् र कागजात भेटिएको छ, तर पैसा भेटिएन ।"

"म नजिकै हो, तुरुन्तै आउछु ।" 

अफिस देखी नजिकै थियो,उद्योग बाणिज्य संघ । एकैछिनमा पुगे म । रिसेप्सनमा ४ जना कर्मचारी रैछन् । 

"ए, हजुर नै हो रिमा ।"

"हजुर । "

"कसरी भेटियो पर्स् ?

"हाम्रो बैठक कक्षको रेस्टरुममा रैछ । त्यहाको फ्लसबक्सले काम नगरेर बिग्रिएर मिस्त्री बोलाको । दुई वटा पर्स् पो निस्क्यो । अर्को त पुरै कुहिएको रैछ । तपाईंको चै केही भाको थेन ।" 

"अनी मेरो नम्बर ?"
'
"काठमाडौं पोस्ट्को ग्राहक भाको  बिल रैछ, तपाईंको नम्बर त्यस्बाट नै पाको । "

"गज्जब भयो त । मैले त भेटाउने आशा नै मारिसक्याथे । हजुरहरुलाई धेरै धन्यवाद ।  "

पैसा नै नभेटिये पनि,कागजात,परिचय पत्र र एटिएम कार्ड सहित् पर्स् फेला पारेर दिने उद्योग बाणिज्य संघका कर्मचारीप्रति धन्य हुँदै, दंग पर्दै फर्किये ।

धेरै बेरसम्म हेराउने बाजेको अनुहार र बोली दीमागमा घुमिरह्यो ।  

ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न । ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न ।