Showing posts with label love. Show all posts
Showing posts with label love. Show all posts

Friday, July 27, 2018

चप्पल




















घनघोर बर्षा
रोकिएपछी
एक सांझ भेटियो
एक बेजोडी चप्पल ।
रङ खुइलिएको
टलक उडेको
सोल खिएको
हेर्दैमा बैराग लाग्दो
एकल चप्पल ।

कहाँ किन्यो?
सुपरमार्केटमा
कि फुटपाथमा?
कस्ले किन्यो?
स्वयमं लगाउनेले
वा उस्को साथी,
वा आफन्तिले ?

किन्यो कसरी,
कैयौंपटक
घम्साघम्सी गर्दै,
मोलतोल गरी
वा एकै बचनमा
खन्खन  पैसा तिरी ।
वा, राम्रो चप्पल भन्दै
पसलेले फुर्कायो कि?
महङो भयो अन्तै जान्छु
भन्दै किन्नेले थर्कायो कि?

जुत्तासङै चप्पललाई मिलाई मिलाई
सजायो कसैले?
रिसको झोंकमा
यही चप्पल
बजायो कसैले ?
एस्लाई उचालेर
कसैले पुन: थचार्यो कि
वा आफ्नो जिद्धी पुरा गर्न
खुट्टा सँगै बजार्यो कि ?


सकी नसकी
सानी नानी वा बाबुले
ठुलो यो चप्पल
सुकोमल पाइलामा
'मेनो नाम्मो चप्पल' भन्दै
पो उन्यो कि ?
पहिरेर यो चप्पल
पहाड चाढ्ने
बेसीं झर्ने
खोला तर्ने
दुर दुर देश
डुल्न कसैले
अनेकौं सपना बुन्यो कि ?

सोच्दैछु के होला
यो चप्पलको कथा?
के होला खिईएको
यो तलुवाको ब्यथा?
हिजोको कसैको शान
कसैको खुट्टाको मान
कसैको पदचापको
पहिचान
तर आज केबल एक फोहोर ।

संधै अरुको खुट्टाको निर्देशन
कुर्ने चप्पलको अन्त्य
पानीको बहाबमा बग्दै बग्दै
कहाँबाट कहाँं पुगेर तय हुंदैछ ।
यो चप्पल बगे जस्तै
बग्दैछ जीवन पनि ।
कहिले रहर
त कैले जित
हार र प्रहारमा।

अन्त्य कस्तो हुने हो
कस्लाई के थाहा
त्यही पनि जीवनको कस्तो माया
जस्तो यो चप्पल
जीवन पनि उस्तै
सलल, सलल ।

गुरु पुर्णिमा: सम्झना, एक चड्कन र १०० शब्दको

जिन्दगी नामको यो यात्रामा सिक्ने सिकाउने निरन्तर प्रकृया हो । मलाई अहिले सम्म सिकाउने सबै गुरुमा नमन । जहाँ छु, यहाँहरुको कारणले छु ।

आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।

त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित  पढाउंदा जानिन । खै, कुन सनकमा  'तंलाई के मतलब?' भनेछु ।

प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।

Image source: Internet
दुई कक्षा पढ्दा औसत मात्रा पढाई भयो भनेर फेरी दुईमा भर्ना गरेर बाबा बुटवल जानुभयो । एता मलाई फेरि कक्षा तिनमा नै लग्दिनुभयो गुरुहरुले । पछी तीन कक्षाको अन्तिम ताका त बाबाले तीन दोहोर्याउने नै भनेर अड्डी कस्नुभयो । दोस्रो पटक तीन पढ्दा ताका प्यारालाल कुर्ताको फेशन थियो । सबैले लगाउने फेशनको कुर्ताको माग त मैले नि गर्ने नै भएं ।

माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।

बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।

Image Source: Internet
त्यो १०० शब्द जानेर घर फर्किएं । शर्त अनुसार त्यो कुर्ता हेर्न र लगाउन पाईयो । जीवनमा धेरै कपडा लगाये नि त्यो कपडा मलाई आज पनि बिशेष लाग्छ, सांचो मानेमा त्यो चैं मेहनतले आर्जेथें जस्तो लाग्छ । आज पनि जब Bournville चकलेटको बिज्ञापनमा 'Have you earned it? भन्दा मलाई ति सय शब्द र त्यो पहेँलो कुर्ताकै याद आउंछ ।

चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें ।  ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।



अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।


Wednesday, February 14, 2018

अप्सन 'बी'

दिनै नबिराई कलेज आउने
मेरो एउटा साथी थियो,
जो क्लास भने बिराएर
यदाकदा मात्र आउंथ्यो ।

उसँगै हराउंथी र भेटिन्थी
उस्की प्रेमिका पनि ।
लाग्थ्यो, छुट्टीये भने
बस्लान पो कसरी?


'पाेएट्री इज अ  स्पन्टेनस अाेभरफ्लाे अफ पावरफुल इमाेसन्स' भनेर
कविता प्रतिकाे वीलीयम वर्डस्वर्थकाे धारणाामा
क्लासमा हामी घोत्लिंदा
उ र उसकी प्रेमिका कलेजको चौरमा टहलिन्थे
र सायद काेर्दा हुन्
प्रेमका लाइभ कविता धाराप्रवाह ।

यदाकदा क्लासमा उसलाइ भेट्दा
अाज प्राक्टीकल नगइ
थ्याेरी क्लासमा पाे अाकाे
भनेर कटाक्ष पनि गर्थ्याैँ ।

एक दिन साथी एक्लै अायाे
बिना प्रेमीका ।
खै त तिम्रो साथी?
सबैले सोधे उस्लाई,
अनकनाउंदै जवाफ दियो उस्ले
'उस्को त अर्कैसँग विहे भयो ।'

लगातार दुई दिन हरायाे साथी
पुनः प्रकट भयो हातमा एक पोका सहित ।
फटाफट बांड्न थाल्यो चकलेट
पाेतेर अनुहारमा मुस्कान ।

कारण सोध्यौं हामीले
जवाफ आयो अनौठो,
भन्याे उसले,
मैल त लाइफ टाइम ईभेन्ट सम्पन्न गरेँ ।

गफ हाँक्छस?
अस्तीकाे अाज काे भेटीस्,
जीस्कीन्छस् ?
तलाइँ एक मुक्का लगाउँ, झुट बोल्छस्
भनेर भकुरे साथीहरूले ।

उ शान्त भयाे र भन्याे,
'जव प्रेमिकाको अन्तै बिहे भयो,
तुरून्ता तुरून्तै विवाह गर्ने निर्णय लीएँ मैले ।
अप्सन 'ए' ले काम गरेन त के भयाे?
भनेर तत्काल लक गरेँ अप्सन 'बी' लाइ,
लाइफटाइमकाे लागि । '

अप्सन 'बी' अर्थात, जोसँग उस्को प्रेम
चलेको थियो रे समानान्तर ।
अस्ती विहे भएकीसँग जस्तो चर्कोवाला प्रेम हैन,
मन्द मन्द खालको प्रेम  ।

अचानक, अाज भ्यालेन्टाइन  डेमा
त्यही साथीकाे याद अायाे । 
र हेरेँ उस्को फेस्बुक प्रोफाइल
सिरानमा भेटियाे  उस्को 'ह्याप्पी फेमिली'
क्याप्सनवाला कभर तस्बिर ।

भेटिए तीन थान अनुहार ।
उ, उस्को छोरी र उस्को दोस्रो अप्सन, उस्की श्रीमती
तस्बीरमा थपेँ, एक लाइक तुरूुन्तै
वर्षाैँ पहिले उसले भनेकाे
'चर्काे हैन मन्द मन्द प्रेम' सम्झेर मनमनै हाँसे । 

Tuesday, May 20, 2014

म, पुस्तक र कथा

जब जब थाकेर कोठामा आउँछु, मेरो स्वागतमा रहन्छन् चाङका चाङ पुस्तक । यिनै चाङका चाङ पुस्तकले त रोक्छन् मलाई कोठा सर्नलाई पनि । कति पटक यो पाली त जसरी र्सछु भनेर ठान्छु, फेरी पुस्तकका चाङले छेकीदिन्छन् बाटो । यो महिना अब केही किन्दीन भन्छु, अनि पुस्तक पसल अगाडी पुग्ने वित्तीकै चुम्बकसरी तानिन्छु म । अनि सोच्छु, हेरौँ न, अनि फेरी एउटा त लिउँ न, अनि फेरी अर्को हेर्दा यो त संग्रहणीय पुस्तक पो रहेछ भन्यो अनि थपिन्छन् चाङमा केहि थान पुस्तक । कसरी म कोर्सवाहिरका पुस्तकमा यतिसाह्रो आकर्षित भएँ भनेर म अचम्म पर्छु । पढाईमा मध्यमभन्दा माथि नै रहे पनि कोर्सका किताब मेरो प्राथमिकतामा कहिले परेनन् । वा भनौँ, कक्षा लिएकै भरमा नै पार गरेँ कति तह । कोर्स पढ्नमा धेरै समय नखर्चे पनि किताब जम्मा पार्न भने म अगाडी नै आउँथे । मेरा मिल्ने साथीहरु जाँचको अघिल्लो दिनमा पुस्तकपसल गएर “थोरै पानाको सबैभन्दा स्लीम पुस्तक” को माग गर्दा मसँग भने लगभग सबै प्रकाशनगृृहबाट प्रकाशित कोर्ससामाग्री स्रग्रहीत हुन्थेँ, पढ्ने बेला ति मध्ये सबै कोर्सका पुस्तकले पालो भने पाउँदैनथे । 

जुनसुकै उमेरसमुहका व्यक्तिलाई उपहार दिँदा पहिलो पटक मेरो दिमागमा पुस्तक आउँछ । अनि त्यो व्यक्तिको पुस्तक प्रतिको अभिरुची, आवश्यकता र महत्व जस्ता आधारमा लेखाजोखा गरेपछि पुस्तक नै उपहार दिने वा नदिने बल्ल र्निक्यौल गर्छु । पुस्तक उपहार दिन उचीत लागुन्जेल अरु कुनै चिजलाई उपहारको रुपमा मेरो मनले स्वीर्कादैन । पछिल्लो पटक मैले पनि धेरै साथिहरुबाट पुस्तक उपहार पाउने गरेको छु ।  “पढौँ र ज्ञान बाँडौँ” को नारासहित पठन संस्कृतिको विकासमा लागि परेको ¥यान्डम रिर्डससगँको आवद्धताले त झन पुस्तकमोहमा घिउमा आगो थपेको सरह भएको छ । मलाई थाहा छैन, मलाई सवैभन्दा पहिले उपहारमा पुस्तक कसले दिनुभयो ? पक्कै बुबा वा ममिले नै होला । त्यसो त मामाघर जाने भनेवित्तीकै चार वित्ता उफ्रीनु कुनै नौलो कुरा होइन । झनै मामाघरमा हुने कथाका कितावको कारणले म चार वित्ता भन्दा पनि माथि उफ्रिन्थेँ । मामाघर पुगेर सबै जनासगँ सामान्य सन्चोविसन्चोको औपचारीकता पुरा हुनवित्तीकै म मामाको पुस्तकै पुस्तकैले भरिएको कोठामा पुग्थे । गरिमा, मधुपर्क लगायतका साहित्यीक श्रृंखलाको अलावा मामाको पुस्तकको आलमारीमा कथाका पुस्तक प्रशस्त हुन्थे । त्यो बेलासम्म उपन्यासबारे भने म जानकार थिइँन । अनि निदाउनुअघि मामाले सुनाउने कथाको विशेष स्थान थियो । जब म घर फर्किनुपर्ने दिन आउँथ्यो, तब मलाई मामाका आलमारीका पुस्तकहरु देखेर माया लाग्थ्यो, अनि यतिका पुस्तकसँग म किन सँधै रहन नपाउने होला भनेर दुख पनि । म घर आइसके पनि मन भने मामाघरको आलमारीका पुस्तकमा नै हुन्थ्यो ।

स्कुल जाँदा बाटोमा पर्ने ढाकाराम ठुलोबाकोमा पसेर “मुना” पत्रिका आयो भनेर सोध्नु त मेरो दैनिकी नै थियो । उहाँलाई रिस उठेको बेलामा त भन्नुहुन्थ्यो, “मुना मासीक बाल पत्रिका हो, गोरखापत्र वा कान्तीपुर जस्तो दैनिक पत्रिका होइन ।” त्यो भन्दा पछि चैँ रिसले मुरमुरिँदै खै के गुनगुन गर्नुहुन्थ्यो मैले भेउ पाईन । छनछन बज्ने सिक्का र मयल र पसिनाको पुरा एक तह सहितका पुराना नोट सहित ६ रुपैँया जम्मा गरेको पैसाले मुना पत्रिका खरिद गर्दा म आफैँलाई भाग्यशाली मान्थे । घर पुगेर हस्याङ्गफस्याङ्ग गर्दै गृहकार्य गर्नमा तम्सिन्थे, यहाँसम्म कि खाजा खान सम्म वास्ता गर्दैनथे । कसैले केहि नभनी गृहकार्य गर्न तम्सेको देखेपछि ममिले पढ्ने सामाग्रीको जोहोको लख स्वत काट्नुहुन्थ्यो । उहाँले पनि कहिलेकाँही स्कुलबाट केहि पुस्तक ल्याईदिनुहुन्थ्यो, धेरै जसो कथाका किताब । अनि फोहोर नपार्ने, अरुलाई नबाँड्ने, नच्यात्ने, नकेर्ने लगायतका र्शतसहित । शर्तको सूचि लामो भए पनि मेरो पुस्तकमोहको सामु त्यो मेरोलागि पहाड जस्तो पनि थिएन । पछि छिमेकका दिदिहरु कलेज जान थालेपछि उहाँहरुको कोर्सका र कोर्सबाहिरका पुस्तक मगाएर पढ्थेँ, उहाँहरुको नियमको सूचि त झनै ममिको भन्दा लामो हुन्थ्यो, अनि भनेको समयमा फिर्ता नगरे जरिवाना शूल्क लाग्ने सहित गरेर । यो बेलामा मन, मुलकबाहिर, बसाइँ लगायतका पुस्तक पढेको थिएँ ।

कक्षा ८ मा थिएँ, विज्ञान पढाउने सर आउनुभएको थिएन, त्यसैले खालि थियो तेस्रो पिरियड । बिहान रेडियोमा सुनेको समाचार अत्यन्तै रोचक लागेको थियो, त्यसैले सुनाउँदैथिए म साथिहरुलाई कसरी तत्कालिन प्रतिपक्षि दलका नेता माधव कुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउन साइकलमा सवार भएर गएको कुरा । मेरा साथिहरु निकै टक लगाएर सुन्दैथिएँ  । त्यतिकैमा मे रातोपिरो भएँ, प्राचार्य सर हातमा खिरिले लठ्ठी लिएर । पिटाई खाइनेमा हामी आश्वस्त नै थियौँ, साथैमा भनाई पनि । उहाँले पिटाईसगँै भन्नुभयो, “अहिलेलाई आफ्नै चिन्ता गरोैँ हजुर, देशको लागि प्रधानमन्त्री छन्, नाथे ८ कक्षाकोले किन देशको चिन्ता होला” । मुटुमा विझेको थियो सरको त्यो वाक्य । यो घटनाको करीब एक वर्ष पछाडि म कक्षा ९ मा हुँदा ताका ढाकाराम ठुलोबाकोमा हिमाल पाक्षिक पत्रिका आउँथ्यो । असोज १८को  लगत्तैको पत्रिका थियो, आवरणमा तत्कालिन राजा ज्ञानेन्द्रको तस्वीर भएको । समाचारमा भन्दा विश्लेषणमा मेरो रुचि बढ्न थालेको थियो अनि असोज १८ को भित्री कथा जान्ने उत्सुकताले किनेको थिएँ पत्रिका । त्रैमासिक परिक्षा चल्दै गरेकी छोरीको हातमा यस्तो पुस्तक देखेपछि बाबा रिसाउनुभएको थियो, हाललाई आफ्नै किताब तिर ध्यान दिम, अरुतिर ध्यान दिनलाई पुरै जिन्दगी छ । त्यती भनेर उहाँले हिमाल मेरो हातबाट लग्दा म भने मुर्तीजस्तै उभीएको थिएँ । एस.एल.सीको परिक्षा सकेर स्याङ्गजाको सदरमुकामबाट घर फर्कीदाँ मेरो कोठामा थिए केहि थान पुस्तक, पोखराबाट मगाईएका कोर्सका पुस्तक पो रहेछन्, त्यो पनि १०+२ का । आश्चर्यचकित मुद्रामा बुबालाई सोधेँ, “कसको हुन् यतिका नयाँ पुस्तक” । जवाफमा मेरा लागि रहेछ भनेर थाहा पाउँदा अचम्म मानेँ । अनि मलाई नसोधी कसले निर्णय ग¥यो मेरो पढाईको भनेर सोध्न मैले केही सेकेन्ड पनि कुरिन । विज्ञान लगायतमा खास रुची नराख्ने र अंग्रेजी राम्रै भएको लगायतका तथ्यलाई आधार मान्दै मेजर अंग्रेजीको निर्णय लिईएको सुनीरहँदा म भने कोर्समा नै साहित्य पढ्न पाइन्छ भनेर प्रफुल्लीत भाको थिएँ ।
http://canvassnap.blogspot.com/2013/05/book.html
स्नातक दोस्रो वर्षको परिक्षा सकेको रात म पढ्ने कुरा नभेटेर रातभरी निदाउन सकिन । परिक्षा हुनेबेलासम्म भने परिक्षा सक्नु पाए त मस्त निदाउँथे भन्ने थियो, तर परिक्षा सकेपछि पनि म निदाउन सकिन । विचित्र नै रहेच पढ्ने बानि पनि । जबजब म जोड्छु एउटा प्रसँगमा अर्को प्रसगँ,  साथीहरु भन्छन् “फेरी सुरु भयो तेरो कथा हैन, कति हो के कथा पनि, तेरो कथा सकिने दिन कस्तो होला” । मेरो कथा सकिने दिन त म कल्पना पनि गर्न सक्दिन । मेरो जिवनमा कथाको अनुपस्थिति भए म कति अधुृरो र रित्तो हुनेछु, सोच्दा पनि डर लाग्छ । कथाले जोडेको छ मलाई, मैले जोडेको छु कथा । मसगँ जिवित छन् कति कथा र कति कथाकै कारण जिवित छु म । मेरा सम्पुर्ण कथाको समाप्ती अर्थात सिंगो मेरो समाप्ती ।