Monday, August 6, 2018

गोस्तभात

Photo Source:Internet
मेरो एउटा साथी थिई । उ मुसलमान थीई । हाम्रो  धर्म र संस्कार फरक भए  पनि उस्को र मेरो नाम उस्तै थियो । उ कश्मिरा, म मिरा । उस्को सानीमाले राखेको नाम भन्थी । 'मेरो सानीमालाई कश्मिर मन परेर मेरो नाम कश्मिरा राख्देको' भन्थी । उस्को बाबा मेरो बाबाको मिल्ने साथी । हाम्रो ममिहरु पनि साथी र भाईहरु पनि साथी । परिवारका हामी सबै साथी । उस्को अर्को बहिनी थिई सल्मा । त्यतिन्जेल मेरो बहिनी जन्मेको थीईन, तेसैले सल्माको साथी चैं हाम्रो घरमा कोही थिएन ।

उस्को घरमा कस्मेटिक पसल थियो । उ नक्कल झक्कलमा धेरै नै ध्यान दिन्थी । उ संधै कोरी बाटी चिटिक्क परेर बस्थी । क्रिम, पाउडर, गाजल, नङपालिस र कपालमा नयाँ नयाँ डिजाइनका क्लिप लगाउंथी । हामीले कक्षामा 'पुतली' कबिता पढ्दा उ यो त म नै हो भनेर फुरुङ पर्थी । पसलमा नयाँ सामान आउने बित्तीकै हामीलाई त्यो सामानको ब्रित्तान्त बताउंथी । एस्को पैसा त खासमा एती हो तिमी लिन्छौ भने एतीमा दिन्छु भन्थी । पसलको सामान बेचेको पैसा भने उ अांफै राख्थी । उसका सानीमाहरुको पनि कस्मेटिक पसल नै थिए ।

मेरो हजुरबुवा बित्नुभएको थियो । उहां बितेको कारण घरमा मासु पाक्दैनथ्यो, किनकी बाबा ममीले बार्नुभएको थियो । हामी मासु हप्तामा एक पटक त खान्थ्यौं नै । एक पटक छिमेकी ठुलोबाको मा मासु पाकेको रहेछ, मलाई र भाईलाई बोलाएर थपी थपी खुवाउनुभएको थियो । भाईले भन्यो, 'ठुलिआमाले क्या सही मासु खुवाउनुभयो, मान्छे त सही हो के है ।'  मैले भनें , 'खान पाएसी तंलाई त सही लाग्छ नि ।'

हाम्रो सवालजवाफ एत्तीमै सक्यो । 

हजुरबुवा बितेकोले हाम्रोमा मासु पाक्दैन भन्ने छीमेकमा अरुलाई नि थाहा थियो,  कश्मिराको घरमा थाहा हुने नै भयो । उ मासुलाई गोस्त भन्थी । उस्कोमा गोस्त ल्याएको रहेछन । उस्ले मलाई आज गोस्त र भात खान डाकी । म नि फुरुक्क पर्दै गएं, टन्न खाएं । भोलिपल्ट हामी संगै स्कुल गयौं । कश्मिराला नयाँ सिक्री ल्याएकी थीई । निकै आकर्शक थियो, पंहेलो टलक्क टल्केको । पितलको सिक्री हो भन्थी । उस्ले मलाई 'सिक्री किन' भनी । मैले इन्कार गरें । उस्ले 'पिलिज किन न, पिलिज भनेसी नि नकिने त पाप लाग्छ' भनी ।

त्यही पनि मैले मानिन । उस्ले 'साथीले पिलिज भन्दा नि नमान्नेसंग अल्लाह रिसाउंछन्' भनी ।
तर पनि म मानिन । कश्मिरा रिसले चुर हुंदै मेरो गिज्याउने नाम भनी । 

हिजो मेरोमा खाएको गोस्तभात बिर्सिस?

'छैन । हिजोको आज कस्ले बिर्सिन्छ? सम्झिछु नि ।'  भनें । 

कश्मिराले भनी, 'सम्झिराख । खुब खसिको गोस्त भनिकुन खाईस नि, थपी थपी । त्यो त भैंसिको गोस्त थियो ।'

म रनाहा भएं । के गरौं र कसो गरौं भएं । भैंसिको मासु कसरी खाएं, अब के गरौं भने जस्तो भयो । दिमागमा दिगमिग भयो, वाक्क आउँला जस्तो पनि भयो तर वाक्क आएन । 

मलाई कश्मीरालाई देखेर एकदमै रिस उठेको थियो । तं त झुटो बोल्ने रहेछ्हस्, पख म मेडमलाई भन्दिन्छु भने । अनी म त तेरो आमालाई भन्दिन्छु, 'मेडम, मिराले त हाम्रो घरमा भैंसिको गोस्त र भात थपी थपी खाको हो भनेर ।' 

भैंसिको मासु साथीले छल गरेर खुवाइ भनेर त मलाई झोंक चलेकै थियो अझ ममिलाई कुरा लगाइदिन्छु भनेपछी मलाई झनै रिस उठ्यो । तैंले पसलको सामान लगेर बेच्छेस भनेर म भन्दिन्छु भने । तर उ त कत्ती पनि डराइन । 'हामी त पसल गरेरे खाने त हो, सामान बेच्छे छोरीले भने त मेरो मम्मी त खुशी हुन्छ, बुझिस्  । 

उस्ले पुन: थपी , 'तेरो मम्मिले तंलाई भाईंसिको मासु खाको थाहा पाए के गर्ला? सोच ।' 

मैले सोच्न खोजें तर सोच्न सकिन । 

मम्मीलाई सम्झिन खोजे । उहांको प्रतिकृया अंकलन गर्न खोजे । तर डर मात्रै लाग्यो, मैले केही सोच्नै सकिन । घरमा फर्केपछी पनि मलाई कश्मिराको कुरा र हिजोको मासुभात दिमागमा आईरह्यो । दिग्मिग लागिरह्यो । 

केही दिन सम्म म कश्मिरासंग नबोलौं कि सोचेथें । एक दिन त बोलिन पनि । 

उस्ले मलाई चेतावनी दीई, 'मसंग कट्टी गरिस भने म तेरो ममिलाई भन्दिनिछु ।'

साथीसंग रिसाउनुलाई हामी कट्टी गर्ने भन्थेम । 

म फेरी उसंग बोले, मनले त बोलिन, तर मुखले मात्र बोलें । उ आफुंले भनेको कुरा मनाउन मलाई त्यो गोस्तभातको कुरा भन्दिन्छु भनेर थर्काउंथी, तर भनेकी चैं थीइन । करिब चार पांच दिन पछी उसको पसलमा गुडीया ल्याएको रहेछन् । उस्ले मलाई पसल्मा १० मा बेच्ने हो म तंलाई पांचमा दिन्छु भनेर फकाउन खोजी । गूडीया त मलाई मन परेको थियो, तर मैले 'मसंग छ, म लिन्न' भने । म पैसा जोगाउंथे, र भुड्कीमा जम्मा गर्थें, खर्च हतपत गर्दैनथें । उस्ले मलाई गूडिया निकै राम्रो छ, पिलिज लिउ भनी । मैले मानिन । उस्ले पुन: गोस्तभात खाएको कुरा भन्दिन्छु भनी । मलाई के भयो थाहा छैन, हुन्छ भन्देउ भने अनी सरासर घर आएं । मम्मीको अगाडि लोसे लोसे हुंदै गएं । 

के गरिस् ? फेरी चप्पल हराईस ? भन्नुभयो । 

हैन भने । ( म चप्पल चैं निकै हराउंथे, नुहाउन खोलामा जान्थें । अनी चप्पल हराउंथे । हप्तामा तेस्रो पटक चप्पल किनाएको रेकर्ड पनि मेरै नाममा थियो ) 

हजुरलाई केही भन्नु छ । 

अनी भन न त, के न्याङ न्याङ गरेको ? 

गाली नगर्नु है त । 

बदमासी काम गरे पनि तंलाई स्याबासी दिनु त ?
हैन 
भन न त  
गाली नगर्नु है त...

ल, ल, भन...

अस्ती नै कश्मीराको मा भात खाको भन्थें नि । 

अं, खाइस त खाइस । के भयो त ? 

मासु नि खाको भन्थें नि । 

अं । अनी खाईस । अब अहिले भन्न पर्ने के भयो त । खाको अस्ती नै भन्थिस नि ।

मलाई मेरो स्वार कांपेको महसुस भयो । त्यही नि मैले भनें । 'हैन, तेस्ले त मलाई खसीको मासु भनेर भैंसिको मासु ख्वाईछे ।'


म बेस्सरी रोएं ।
......
......
भयो, छोड । नरोई अब, रोएर के हुन्छ । जानी जानी खाको हैन, केही हुन्न . ।

म अचम्म परें । मलाई त मम्मीलाई मलाई गाली गर्नुहुन्छ जस्तो लाग्थ्यो । 

केको मासु थियो भन्ने बिर्सी । तर कश्मिरासंग सतर्क रहनु । 

भोलिपल्ट कश्मिरा भेटीइ, तर म उसंग डराईन । उस्ले फेरी पसलबाट श्याम्पूको पाउच ल्याईछ । आफ्नो जस्तो सिधा सिल्की कपाल बनाउन श्याम्पू किन भनी । मैले पर्दैन भने। तेरो घुम्रेको कपाल सिदा हुन्छ भनेर ल्याइदेको भनी । 

घुम्रेको भये नि मेरो कपाल राम्रो छ, पर्दैन श्याम्पू भनें । 

गोस्तभात बिर्सिस, तेरो मम्मिलाई भन्दिन्छु । 

तिम्रोमा खाएको गोस्तभात बिर्सेंको छैन, जिन्दगीभार बिर्सन्न । मेरो मम्मीलाई त मैले नै भनें, तिम्रो मम्मीलाई पसलबाट सामान चोरेर ल्याउने कुरा नि तिमी आँफै भन । 

एक दुई बर्षपछी उनिहरु अन्तै बसाई सरे । उसंगका कती याद धुमिल भये तर उस्को गोस्तभात भने सम्झनामा ताजै छ । उसंगको त्यो घटना नजोडीएको भए बफ मासु खान्थे कि खान्थिन थाहा छैन ।

त्यो घटनाले गर्दा मलाई आज पनि  बफ मासु सम्झिंदा दिगमिग लाग्छ, र याद आउंछ एउटा अनुहार, मेरी साथी कश्मिराको अनुहार ।

सबै जनाको आफ्नो-आफ्नो छनौट हो । केको मासु खाने, कस्तो तरिकाले पकाएर खाने, कस्तो परीकार बनाएर खाने सबै छनौट आफ्नो आफ्नो हो । सबै जनाको छनौटको म सम्मान गर्छु ।  मासु खाने र नखाने आफ्नो रुचीको कुरा हो र । रुची सँगै धार्मिक, सांस्कृतिक समाजीक मान्यता जोडीएका छन् । भैंसीको मासु खान हुन्न भन्ने सिकेर हुर्कें । झुक्काएर खुवाईएको त्यो गोस्तभातले संधै बफ मासु भन्नासाथ दिगमिगाउने बनायो । साथीहरुले बफ मासु खांदा मनमनै दिगमिग माने पनि, म साथीहरुले थाहा नपाउन् भनेर शतर्क हुंदै नर्मल देखिने प्रयास गर्छु । 

डियर कश्मिरा, मैले तिम्रोमा खाएको गोस्तभात अझै बिर्सेंको छैन, र शायद बिर्सिन्न पनि ।  

No comments:

Post a Comment