Friday, December 29, 2017

बालापनः ताउलीकाे तरकारी नाेस्टाल्जीया

सबैलाई त हैन अधिकांश मानिसलाई सानो हुने बेलासम्म ठुलो हुने कैले होला भन्ने लाग्थ्यो । अनी ठुलो भएपछी मान्छेलाई बालापन प्यारो लाग्छ, बाल्यकालका याद ताजा हुन्छन् । त्यसैले सुनिल वर्देवाकाे 'गाेरेटाे अनि उस्तै छ गल्ली.....काेही फर्काइदेउ त्याे वालापन' गीत हीट छ । आज बाल्यकालको एउटा किस्सा सम्झें ।
बाल्यकालमा काउलीको तरकारीप्रतीको मेरो मोह र लगाव । अरुले कसैले कोपिको फुल, गोपिको फुल, फुलकाउली भन्ने तरकारीलाई हाम्रो घरमा काउली भन्थेम । म चैँ काउली भनेसी हुरुक्कै । जती खाए नि पुग्यो नभन्ने ।
हाम्रो बारीमा मम्मी काउली लगाउनुहुन्थ्यो । बारीमा काउलीको बोट कम हुंदै जांदा पिर भने तरकारीको ब्यबस्था गर्ने ममिलाई भन्दा नि काउलीप्रेमी मलाई समेत पर्थ्यो । सानो बेला मेरो तोते बोली थियाे । मलाई काउली मन पर्छ भन्ने पनि हाम्रो छिमेकमा चर्चा र रमाइलोको बिषय थियाे । बुद्दिसागर ठुलोबुवा मलाई जिस्काउनुहुन्थ्याे संधै ।
नानी, तरकारी के खायौ?
म : ताउली ।
उहां : ए हाे र, मलाइ पनि ताउली मन पर्छ । मलाई नि ताउली देउ न । तिम्रो आमाले त कस्तो राम्रो ताउली बनाउनुहुन्छ ।
म : आफ्नै ताउली थाउ ।
उहां: हाम्रोमा त छैन । तिमी देउ न ।
म : भये थाउ, नभये नथाउ ।
एक पटक एस्तो संवाद भएपछी उहांलाई झनै रमाइलो लाग्ने रहेछ । अनी भेट्नेबित्तिकै, 'तरकारी के खायौ' भनेर सोध्नुहुन्थ्यो । म उस्तै पारले जवाफ दिन्थे, अन्त्य हाम्रो उस्तै हुन्थ्यो 'भये थाउ नभये नथाउ' । अहिलेसम्म नि उहां भेट्दा सबै खबर सोधेर अन्तिममा 'ताउलीको तरकारी, भये थाउ, नभये नथाउ' भन्नुहुन्छ ।
काउलीसङैको अर्को प्रसँग हामी काउलीको फुललाई काउलीको बुटा भन्थेम । खानामा के थप्ने भन्दा 'बुटा' भन्दै थप्थेम । एक दिन ममी खाना बनाएर बारीमा जानुभएछ काम गर्न । शनिबार हुनुपर्छ, तरकारी त उही बेस्ट काउलिको पाकेको रहेछ । म गएर एक एक बुटो काउली निकालेर खाएं । एक पटक, दुई पटक हैन धेरै पटक । अन्तिममा काउली र अालुकाे तरकारी त केवल आलुको तरकारी भएछ । तरकारीमा भएकाे काउलीकाे सबै फुल त मैले पो सक्काएछु । पछि सबैले खाना खाने बेला त तरकारी आलुको मात्र रह्यो ।