Showing posts with label family. Show all posts
Showing posts with label family. Show all posts

Friday, December 29, 2017

बालापनः ताउलीकाे तरकारी नाेस्टाल्जीया

सबैलाई त हैन अधिकांश मानिसलाई सानो हुने बेलासम्म ठुलो हुने कैले होला भन्ने लाग्थ्यो । अनी ठुलो भएपछी मान्छेलाई बालापन प्यारो लाग्छ, बाल्यकालका याद ताजा हुन्छन् । त्यसैले सुनिल वर्देवाकाे 'गाेरेटाे अनि उस्तै छ गल्ली.....काेही फर्काइदेउ त्याे वालापन' गीत हीट छ । आज बाल्यकालको एउटा किस्सा सम्झें ।
बाल्यकालमा काउलीको तरकारीप्रतीको मेरो मोह र लगाव । अरुले कसैले कोपिको फुल, गोपिको फुल, फुलकाउली भन्ने तरकारीलाई हाम्रो घरमा काउली भन्थेम । म चैँ काउली भनेसी हुरुक्कै । जती खाए नि पुग्यो नभन्ने ।
हाम्रो बारीमा मम्मी काउली लगाउनुहुन्थ्यो । बारीमा काउलीको बोट कम हुंदै जांदा पिर भने तरकारीको ब्यबस्था गर्ने ममिलाई भन्दा नि काउलीप्रेमी मलाई समेत पर्थ्यो । सानो बेला मेरो तोते बोली थियाे । मलाई काउली मन पर्छ भन्ने पनि हाम्रो छिमेकमा चर्चा र रमाइलोको बिषय थियाे । बुद्दिसागर ठुलोबुवा मलाई जिस्काउनुहुन्थ्याे संधै ।
नानी, तरकारी के खायौ?
म : ताउली ।
उहां : ए हाे र, मलाइ पनि ताउली मन पर्छ । मलाई नि ताउली देउ न । तिम्रो आमाले त कस्तो राम्रो ताउली बनाउनुहुन्छ ।
म : आफ्नै ताउली थाउ ।
उहां: हाम्रोमा त छैन । तिमी देउ न ।
म : भये थाउ, नभये नथाउ ।
एक पटक एस्तो संवाद भएपछी उहांलाई झनै रमाइलो लाग्ने रहेछ । अनी भेट्नेबित्तिकै, 'तरकारी के खायौ' भनेर सोध्नुहुन्थ्यो । म उस्तै पारले जवाफ दिन्थे, अन्त्य हाम्रो उस्तै हुन्थ्यो 'भये थाउ नभये नथाउ' । अहिलेसम्म नि उहां भेट्दा सबै खबर सोधेर अन्तिममा 'ताउलीको तरकारी, भये थाउ, नभये नथाउ' भन्नुहुन्छ ।
काउलीसङैको अर्को प्रसँग हामी काउलीको फुललाई काउलीको बुटा भन्थेम । खानामा के थप्ने भन्दा 'बुटा' भन्दै थप्थेम । एक दिन ममी खाना बनाएर बारीमा जानुभएछ काम गर्न । शनिबार हुनुपर्छ, तरकारी त उही बेस्ट काउलिको पाकेको रहेछ । म गएर एक एक बुटो काउली निकालेर खाएं । एक पटक, दुई पटक हैन धेरै पटक । अन्तिममा काउली र अालुकाे तरकारी त केवल आलुको तरकारी भएछ । तरकारीमा भएकाे काउलीकाे सबै फुल त मैले पो सक्काएछु । पछि सबैले खाना खाने बेला त तरकारी आलुको मात्र रह्यो ।

Sunday, August 20, 2017

थाईकट कपाल

सानो बेला छिमेकी दाईले भन्यो, 'बुझिस्, मेरो बा क्या आधुनिक, त्यो बेला नि आमाको कपाल थाई कट कपाल काट्देका ।'

थाईकट कपाल त्यो बेलाको फेशन थियो । आफुलाई नि थाईकट कपाल बनाउन कम रहर त लाको थिएन । आमालाई कपाल काट्ने कुरा गर्दा जहिले ' हुँदैन' मात्र भन्ने । उहांलाई मनाउन पनि यो कुरा सहायक सिद्द होला जस्तो लाग्यो । दगुर्दै आमा भाको ठाउँमा पुगेर एक शासमा सबै कुरा भनें ।

आमाले भन्नुभयो, 'त्यस्तो हैन छोरी । कुरोको चुरो अर्कै छ । ठुलोबुवाले रिसको झोकमा दिदी (तेरी ठुलिआमै) लाई अांसी (हंसिया) ले  घांटिको पछाडि हान्नुभएको हो, अनी ठुलिआमैको चुल्ठो काटिएको हो । उहांको घांटिको पछाडि अझै पनि दाग छ । बास्तबिकता एकतिर, ब्याखा एकतिर ।'

दिमागमा अांसी लिएका ठुलोबाको अनुहार फनफनी नाच्यो । चिटचिट पसिना छुट्यो ।

Sunday, April 7, 2013

के म बोक्सी बन्न सक्छु ?


के म सफल बन्न सक्छु? के म जीवनमा अगाडी  बढ्न सक्छु? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लीने मेरो मनले आजकाल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा वग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु?

अनी तर्कना गर्न खोज्छु, आखिर बोक्सी वन्न के चाहीन्छ । गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झीँदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गिय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्वल, निरिह महिलाहरुको अनुहार एक पछाडि अर्को गरि आउन थाल्छ । यी सबै गुण, अवगुण म आफुमा हाललाई भेटाउँदीन, तर भविष्यमा कुनै बेला वुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको शिकार भएमा, रोगी वा समाजको लागि निकम्मा सावित भएमा म बोक्सी कहलाउन पनि त सक्छु । बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी वन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालीम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब उ पगरी सँगै आउने घृणा, लाञ्छना, वेइजज्तीको भागीदार स्वत हुन्छीन् । हाम्रो समाज, संस्कार र व्यवहार सदा र्सवदा शक्तिको वरीपरी घुम्ने परिपाटी छ । सामाजीक, पारिवारीक, आर्थीक र  शारीरीक रुपमा शक्ति सम्पन्नको पछाडि समाज अन्धो भक्तीभाव देखाउँछ । भेदभावको दृष्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी विस्तारै अर्को पक्षहरुमा कमजोर र्पादै लान्छौं, दोहोरो र तेहोरो भेदभावको माध्यमबाट। गरिव, वृद्ध, असहाय, विधवा महिलालाई कति तहको यातना हुन्छ, त्यसमाथि हामी  थपिदिन्छौं, मानसीक र शारीरीक यातना । यो कस्तो न्याय हो । धिक्कार छ हामीलाई जसले जानेर नजानेर यसलार्य प्रश्रय दिइराखेको छौं । किन गाउँकी मुखीनी आमै सबैको लागि सम्मानयोग्य हुन्छीन् कहिल्यै बोक्सी हुँदीनन् । हो, यही शक्तीको पूजा गर्ने समाजको कायदाको कारणले ।

आज संचार माध्यम बोक्सीको समाचारले गुञ्चायमान हुँदै गर्दा, पत्रिकाका अंशहरु भरिँदै गर्दा म स्वर्गे भइसक्नुभएकी एक जना हजुरआमालाई सम्झिन्छु । बेलैमा पति गुमाउनुभएकी, छोरा नभएकी, छोरीहरु विहे गरी आ-आफ्नो घरमा पठाइसक्नुभएकी, छोटो कदकी, मुखमा केबल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपीच्छे बोक्सी भन्दै जिस्काएर हैरान गर्ने  केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो ।

हिजो बोक्सी सम्वन्धी लेख पढेकोले होला सायद्, सपनामा मैले उहाँलाई नै देखेँ ।

उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमिले पनि मलाई बोक्सी मान्थ्यौ? भन, के म बोक्सी थिएँ ?'

उहाँलाई उत्तर दिन नपाउँदै म विउँझेछु, यद्यपी यस प्रश्नले मलाई आज लखेट्दै छ ।

मैले मेरो परिवारबाटं बोक्सीले यस्तो गर्छन्, यो बोक्सी हो भन्ने कहिले सुनिन । सबैलाई माया गर्न, सम्मान गर्न नै सिके । त्यही संस्कारले गर्दा होला सायद, न उहाँलाई बोक्सी भने, न उहाँबाट बदलामा गाली खेपे । करिब १७ वर्षपहिले हामी भर्खर नयाँ घर र्सदा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । हाम्रोमा फुल रोप्ने ठाउँ थिएन, डेरामा रोपेको फुलको ठुलो झयाङ थियो, रोप्ने ठाउँ नपाएपछि मेरो आँखा छिमेकी हजुरआमाको जग्गातिर गयो । हजुरआमाकोमा फुल रोप्छु भन्दा आमाले रिसाउनुहोला, भैगो, छोड भन्नुभयो । तर मेरो बालहठ किन पो सम्झौतार् गथ्यो, टन्न माटो सहितको ठुलो फुलको झयाङ लगेर उहाँको मा फुल रोपीदिए । उहाँले त झण्डै २ महिना जस्तो याद नै गर्नुभएनछ । पछि थाहा पाउने दिनमा बेस्सरी कराउनृभयो, मेरो जग्गा कसको भइसकेछ, यहाँ रोपेको फुल मलाई थाहा नहुने अनि के के भन्दै । सबै सुनेर म घरबाट निस्के र भने, हजुरआमा, हाम्रोमा ठाउँ थिएन, उता घरमा हुँदैको फुल छोड्न मन लागेन, मैले रोपेको, हजुरले धेरै फुल चलाउनु, म कहिलेकाँही चलाउला हुन्न भनेर मुस्काए । उहाँले मुस्काउँदै हुन्छ त भन्नुभएन, तर उखेलेर फालीदिनु पनि त भएन । प्रत्येक दिन विहानै त्यही हजुरआमाको बारीको फुल टिपेर मेरा छिमेकीहरु पुजा गर्थे, तर उहाँलाई बोक्सी भन्ने त उनीहरुको बानी नै भाको थिए किन छाड्थे र । मानीसहरु उहाँलाई यतिसम्म घृणा गर्थे, उहाँलाई चिया दिन पनि हिच्किचाउँछे, गोठको छेउ भरसक र्पादैनथे, वस्तु विच्कीन्छन्, दुध घटाउँछन् यस्तै यस्तै भनेर । यो सबै सुन्दा मलाई उहाँको घरमा नै भैँसी छ, त्यसो भए त्यो किन विच्कीन्न, त्यसले सँधै दिनुपर्ने जति नै दुध दिन्छ भन्ने लाग्थ्यो । पछि उहाँ वेस्सरी विरामी पर्नुभयो, त्यही बेला उहाँले भैँसी बेच्नुभयो । हाम्रो घरमा भने ठिक त्यही बेला भैँसी कीन्ने संयोग पर्यो । उहाँले बारीमा भेण्टा लगाउनुभाको थियो, त्यो लटरम्म फलीरहँदा उहाँलाई डाक्टरले भेण्टा कहिले खान हुँदैन भनेछन् । उहाँ एक्लो मान्छे, तरकारी बेचेर पैसा जम्मा पारेको भए पनि त हुन्थ्यो, तर हाम्रो घरमा दिइराख्नुहुन्थ्यो ।

उहाँ बारीमा तरकारी गोड्न प्राय साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्ने बित्तिकै बाबा 'ल, आमालाई दुध खुवाएर मात्र पठाउ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दुध सकिँदा, छिटै भए पनि 'ल, आमा एक छिन है' भनेर आफैँ बाल्टी लिएर दुध दुहुन जानुहुन्थ्यो । उहाँ विरामी भएर थलिरहँदा म उहाँलाई दुृध पुर्याउन जान्थे । हामीलाई छिमेकीले बोक्सीसगं न कति मिल्या हो भने, भैंसी मर्ला, दुध घटाउला पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दुध दिइरह्यो, मर्दा पनि मरेन । उहाँले गोडमेल गरीसकेपछि घाँस निस्कीँदा हाल्दीनुहुन्थ्यो, तर कहिले केहि अनर्थ भएन । मेरो आफ्नै हजुरआमा उहाँको दामली भन्न सुहाउने हुनुहुन्थ्यो, उहाँहरुको कुरा मिल्थ्यो, त्यसैले पनि होला विस्तारै उहाँ हाम्रोमा आइराख्न थाल्नुभयो । सबैले छिछि दुरदुर गर्ने र हाम्रोमा पारिवारीक व्यवहार पाएकोले होला उहाँ निकै बेर वस्नुहुन्थ्यो, हामीलाई निकै माया गर्नुहुन्थ्यो । उहाँसगं नजिकिँदै जाँदा मलाई अरुले घृणा गरेकोले उहाँ नमिठो बोल्नेरैछ, माया गर्नेसगं त उहाँ त्यती नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।

सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केहि भन्न चाहन्छु । अहँ उहाँ बोक्सी हुनुहुन्थेन, बस घृणा र तिरस्कारले रुखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चैँ नरम र सुन्दर थियो । हो, मेरो छिमेकी हजुरआमा हजुर केबल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन । मैले कहिल्यै बोक्सी मानीन हजुरलाई ।