Friday, July 27, 2018

चप्पल




















घनघोर बर्षा
रोकिएपछी
एक सांझ भेटियो
एक बेजोडी चप्पल ।
रङ खुइलिएको
टलक उडेको
सोल खिएको
हेर्दैमा बैराग लाग्दो
एकल चप्पल ।

कहाँ किन्यो?
सुपरमार्केटमा
कि फुटपाथमा?
कस्ले किन्यो?
स्वयमं लगाउनेले
वा उस्को साथी,
वा आफन्तिले ?

किन्यो कसरी,
कैयौंपटक
घम्साघम्सी गर्दै,
मोलतोल गरी
वा एकै बचनमा
खन्खन  पैसा तिरी ।
वा, राम्रो चप्पल भन्दै
पसलेले फुर्कायो कि?
महङो भयो अन्तै जान्छु
भन्दै किन्नेले थर्कायो कि?

जुत्तासङै चप्पललाई मिलाई मिलाई
सजायो कसैले?
रिसको झोंकमा
यही चप्पल
बजायो कसैले ?
एस्लाई उचालेर
कसैले पुन: थचार्यो कि
वा आफ्नो जिद्धी पुरा गर्न
खुट्टा सँगै बजार्यो कि ?


सकी नसकी
सानी नानी वा बाबुले
ठुलो यो चप्पल
सुकोमल पाइलामा
'मेनो नाम्मो चप्पल' भन्दै
पो उन्यो कि ?
पहिरेर यो चप्पल
पहाड चाढ्ने
बेसीं झर्ने
खोला तर्ने
दुर दुर देश
डुल्न कसैले
अनेकौं सपना बुन्यो कि ?

सोच्दैछु के होला
यो चप्पलको कथा?
के होला खिईएको
यो तलुवाको ब्यथा?
हिजोको कसैको शान
कसैको खुट्टाको मान
कसैको पदचापको
पहिचान
तर आज केबल एक फोहोर ।

संधै अरुको खुट्टाको निर्देशन
कुर्ने चप्पलको अन्त्य
पानीको बहाबमा बग्दै बग्दै
कहाँबाट कहाँं पुगेर तय हुंदैछ ।
यो चप्पल बगे जस्तै
बग्दैछ जीवन पनि ।
कहिले रहर
त कैले जित
हार र प्रहारमा।

अन्त्य कस्तो हुने हो
कस्लाई के थाहा
त्यही पनि जीवनको कस्तो माया
जस्तो यो चप्पल
जीवन पनि उस्तै
सलल, सलल ।

No comments:

Post a Comment