Sunday, December 14, 2014

उज्यालो कि अन्धकार ?

पृथ्वी गोलो छ,
एकै समयमा
कतै उज्यालो झलमल
त कतै अन्धकार, अलमल ।

उज्यालो खोजे आशा छ ।
अध्यारो खोजे चुनौतीको पहाड छ ।
तिमी नै रोज,
तिमी के लिन्छौ ?

पारीबाट रङिन देखिने द्रिश्य
वारी अैपुग्दा रङहिन देखिन सक्छ ।
तिमीले देखेको त्यो स्वरुप
तिम्रै आँखा अगाडि कायापलट हुन सक्छ ।

शायद, त्यसैले उल्टिने गर्छन्
निर्णयहरु ।
कहिले बिना कारण
कहिले बेजोड तर्क सहीत ।

Wednesday, December 3, 2014

बिशेष पद

कार्यालयमा लामो समय काम गरेका चालक निल्कन्ठ आफुलाई कार्यालयको सबै भन्दा 'बिशेष' कर्मचारी मान्थे । एक हिसाबले बिशेष थिए पनि । हाकिम, यहाँ सम्मकी हाकिमका सारा शाखा सन्तान रिझाउन भ्याउथे । कार्यालयको कामको शिलशिलामा हाकिमलाई सबै कर्मचारीको कुरा (धेरै जसो नकरात्मक) पुर्याउने र हाकिमको प्रतिकृयामा मरमसाला थपेर कर्मचारीलाई भन्नुमा उनी निपुण नै थिए । हाकिमको अगाडि सार्है 'असल' र अरु कर्मचारीको अगाडि 'हाकिमहरुको काममा अत्यन्तै ब्यस्त' देखिन तल्लिन रहन्थे ।

जागिर बाहेक उनको ब्यक्तिगत 'ब्यापारिक' जिबन पनि फलिफाप भएकै थियो । छोराछोरी राम्रो गरी पढेका थिए, केहीले त रार्मो जागिर समेत् गर्थे । श्रीमतीले घर बसेर ब्यापार गर्थिन, उनी घर नबसेर । कार्यालयका कतिपय काममा पनि 'ब्यापारिक नाफा नोक्सान' मा अांकलन गर्न सिपालु थिए । उनी आफ्नो पदको नाम 'चालक' प्रती हेयभाब राख्थे । आफु जस्तै आफ्नो पद्को नाम पनि बिशेष हुनुपर्ने रायको साथै माग थियो उनको । आँफै टिकाटिप्पणी गर्थे ।

यसै शिल्शिलामा,  कार्यलय भरिमा नै सोझा मध्यमा पर्ने आफ्नो तत्कालिन सुपरिबेक्षकसामु 'लामो समय बिशेष योगदान सहितको काम गरेकोले पदको नाममा फेरबदल होस्' भनी निबेदन दिएका थिए । सुपरिबेक्षकले 'हुन्छ' को भाबमा टाउको हल्लाइदिये । अनी त के थियो र? समकक्षीलाई समाचार उद्घोश गरे उनले,  'संस्थाले आफ्नो लामो योगदानको कदर गर्दै आफ्नो पद्को नाम बदल्दैछ' । कार्यालयका साथीले अगाडि बधाई दिन्थे र पछाडि भन्थे 'बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन' भनेको यस्तै हो ।

केही दिन पछी सुपरिबेक्षकले बोलाँउदा हात माड्दै पुगे उनी ।

बिना भूमिका नै, हात तेर्साये सुपरिबेक्षकले, 'ल दाई बधाई छ यहाँलाई । हजुरको लामो सेवा र संस्थाप्रतिको योगदानलाई कदर गर्दै अाजदेखी यहाँको पद को नाम फेरिएर 'बरिस्ठ चालक' बनाइएको छ । बोल्नको लागि उनिसँग शब्द थिएन, र थिएन सुपरिबेक्षकको कब्जामा रहेको आफ्नो 'मिलायेको हात' तान्ने सामर्थ्य पनि ।