Monday, November 26, 2012

बिर्सिएको वालेट र नयाँ गाडी


"सत्र रुपैँया नहुने किन गाडी चढ्नु?"

"आज वालेट बिर्सेंछु"

"तिमि वालेट विर्स वा वुलेट, मलाई मतलव छैन, खुरुक्क पैसा निकाल"

"भने नी भाई, वालेट बिर्सेंछु, भोली अफिस आउने बेला आजको पैसा नि दिम्ला"

"तिम्रो ससुराको गाडी हो र ? तिमीलाई अन्दाज पनि छ, यस्तो गाडीको कति पर्छ, समाजसेवा गर्न गाडी किन्या हो? गाडीमा सित्तैमा हिंड्न पौछु भन्ने ठानेको?"

"भोली दिम्ला नि, म जैले यही बाटो जाने न हो, तिमीलाई ठग्ने मेरो नियत हैन ।"

"पैसा दिने भए देउ, नभए खुरुक्क झर्ने, हात पात गर्न नपरोस, कस्ता कस्ता मान्छे आउँछन् । कोट पाइन्ट लाउँछन्, सत्र रुपिँया तिर्ने हैन"

वरीपरी कोही चिनेको छ की भन्दै हेरे, कोही देखिन । म लाजले मुख रातो वनाउँदै गाडीबाट ओर्लिए । 
आज नै हतार गरी हिँडे, आज नै वालेट छोडेछु । घडि हेरे, १० वज्न १० मिनट मात्र बाँकी थियो । हिँड्दै गर्दा कोही भेटियोस् भन्ने चाहेँ, आफुलाई चाहिने वेला को भेटिन्थ्यो  र । वैशाखको टन्टलापुर घाममा ५ किलोमिटर हिँड्न पनि झण्डै ३५ मिनट लाग्यो । अफिस पुग्दा म थकित थिएँ । 

"सर हिँडेर आउनुभयो?"

"अँ"

"वाइक किन्नु भन्दा सुन्नुहुन्न, भाडाको पैसा जोगाएर न्यानो गाडी किन्ने योजना बुन्नुभयो क्या हो सर", सञ्जयले व्यंग्य गर्‍यो । 

"जागिरले खान पुग्द्रैन, कहाँ गाडि किन्नु"

उ गलल्ल हाँस्दै थियो । म सिँढी चढेँ । मलाई उसले उडाएको देखेर रिस उठ्यो । आफु वाइक चढ्ने भाकोले शान देखाको होला भन्ने सोचे । 

टिरिङ टिरिङ ...

टेबलको फोन बज्यो । 

"ल जीवन, तयार भएर बस्नुस्,  गाडी हेर्न जानुपर्ने भयो", हाकिम भन्दै थिए । कार्यालयको लागि गाडि लिने सिलसिलामा आज हेर्न जाने कुरा थियो, मैले वल्ल पो सम्भिए । 

गाडीको शोरुम पुगेम ।  

"चिसो लिने कि तातो सर" सोरुमको कर्मचारीले नमस्ते सँगै आतिथ्यता जनायो । 

"र्भखरै खाना खाको, केहि नलिम"

"हाम्रो शोरुममा आएर त्यसै जानुहुन्न, केहि त लिनैपर्छ, ल चिसो नै मगाएँ"

"तिन वटा स्प्राइट छिटो ल्याइदेउ", उ फोनमा भन्दै थियो । 

चिसो लिँदै गर्दा उ मकैको फुल उठेझैं भररर गाडीको स्पेसीफीकेसन वताउँदै थियो । हाकिम टाउको हल्लाउदै जिज्ञासु मुद्रामा सुन्दै थिए । सोरुमको कर्मचारी वडो ठाँटका साथ गाडीको इतिवृति वताउँदै थियो । म कतै हराइराथे, टेस्ट ड्राइभ जाने निधो भएछ । हाकिमको पछि लाग्दै म पनि गाडि चढे । रित्तो गोजी लिएर लाखौंको गाडी किन्नलाई हेर्न जाँदा मलाई कता कता अफ्ट्यारो लाग्दैथियो ।  

सोरुमको कर्मचारी अझै गाडीको विशेषता वताउँदै थियो । 

"२१०० सि सि हो १०-१२ दिन्छ माइलेज । एकदमै राम्रो क्लियरेन्स छ सर, अहिले यसको माग धान्नै गाह्रो भाछ ।"

"मलाई त गाडि मन पर्‍यो, तपाईलाई कस्तो लाग्यो, जीवनजी" । हाकिमले मतिर प्रश्न लक्षित गरे । 

आफ्नै सोचाईमा डुबेको मैले झस्कीँदै भनेछु, "वालेट घरमै भुलेछु, भोली दिम्ला है पैसा"

हाकिम र शोरुमको कर्मचारी दुवै जना मरीमरी हाँसे ।

"जीवनजीको भाडाको गाडि चढ्ने बानी । टेस्ट ड्राइभ आको पनि भुल्नुभयो, म हाकिम भन्ने पनि भुल्नुभयो, मैले भाडा मागे जस्तो ठान्नुभयो ।" हाकीम भन्दै थिए ।

म लज्जीत मुद्रामा टाउको निहुराएँ । बिहान देखी पटक पटक लज्जित हुँदै गएको हुनाले मलाई कसैको अनुहारमा हेर्ने आँट आएन ।

Tuesday, November 6, 2012

मेरी साथीका साइँलाबा


म र मेरी साथी एक दिन स्कुलमा ।
मः (साथीको निधारको रातो अक्षता तिर हेर्दै) किन टिका लगाकी?
साथी:साँइलाबाले रक्सी खान छोडेकोमा टिका लगाइदिनुभाको ।
अर्को दिन,
मः आज पनि टिका?
साथी: साँइलाबाले आज नि रक्सी खान छाड्ने भनेर टिका र दक्षिणा दिनुभयो, यसले नै खाजा खानुपर्ला ।
पुनश्च अर्को दिन
मः साथीको निधार हेर्दै प्रश्न गर्न तयार हुँदै गर्दा)
साथी: आज पनि साइँलाबाले रक्सी छोड्ने भनेर कसम खाँदै टिका लगाई दक्षिणा दिनुभाछ, अब खाजाको लागि पैसाको चिन्ता छैन ।
म निशव्द  हुन्छु ।

Tuesday, October 30, 2012

बालापन

प्रौढ महिला तीन छोरी साथ सहर्श यात्रारत छन्। गाडी बजारमा रोकिन्छ, कान्छीलाई फलफुल र माइलीलाई टोपी कीन्छीन्, जेठिलाई स्वेटर हेरिन, तर पैसा नपुगेकोले कीनिनन् । आमाले दिदिलाई भनी स्वेटर् हेरेकोले माइलिले टोपी लगाउन मान्दिन । कान्छी दिदिहरुको रिसले खान मान्दिन । आमा सुस्केर काढ्छिन, हुइया । जेठि मन्द मुस्कुराउछे । 

Wednesday, October 10, 2012

तिमी एक आम नागरीक


तिमी असुरक्षीत छौ,
तिमी राजनैतिक दलसगँ असंलग्न जो छौ ।
तिम्रो जिवन मुल्यहीन छ,
तिम्रो मृत्युमा राजमार्ग अबरुद्ध जो हुने छैन ।

तिम्रो मृत्यमा जारी हुनेछैन कुनै प्रेष विज्ञप्ति,
न कुनै दलले व्यक्त गर्नेछ समवेदना, तिम्रो परिवारप्रति ।
न हुनेछ कुनै स्मृतिसभा,
न रोकिनेछ अन्य कुनै सभा ।

तिमी हुनेछैनौ शहिद,
जीवनभरी तीमीले पार्टीको झण्डा जो ओढेनौ ।
तिम्रो परिवारले पाउनेछैन रु दश लाख,
तिमी आखीर पार्टीसगं असंलग्न आम नागरीक,
तिमी केबल एक आम नागरीक ।





दौड


थरिथरिका छन् दौडिनेहरु यहाँ,
कोही नामलाई, कोही दामलाई,
एकथरी मामलाई र अर्काथरी एक मुठी सासलाई ।

यतिमा सिमित छैन, दौडिनेको सूचि
कोहि जित्न दौडिन्छन्, कोही जिताउन,
एकथरि अरुलाई हराउनको लागि मात्र दौडमा सामेल हुन्छन् ।

दौडको दौरानमा कोही लड्छन, कोही लडेर उठ्छन्,
सक्नेहरु वेजोडले कुद्छन्, नसक्नेहरु विस्तारै,
कोहि सुस्ताउँछन्, कोहि विसाउँछन् ।

मुल्यवान लाग्दो हो, दौडिनेलाई प्रत्येक दौड,
अनि प्रत्येक हार नमिठो प्रहार,
तर हार पश्चात पनि अविरल चलिरहन्छ दौडरुपी यो जिवन ।

सक्नेहरु दगुर, यो श्रृंखलावद्ध दौडमा,
तर मलाई सामेल हुनुछैन व्यर्थको यस खेलमा,
हुनु छैन मलाई प्रथम वा द्धितिय ।

पाउनुछैन मलाई शान्तवनारुपी पुरस्कार पनि,
म यतिमा नै खुसी छु,
किनकि म आफु भएर वाँच्न चाहन्छु,
म केबल आफु भएर बाँच्न चाहन्छु ।

सुन्छु फेरी बन्द हुने भयो रे

बन्द बन्द मात्रै हैन, ठप्प खाल्को बन्द रे ।
सुन्छु फेरी बन्द हुने भयो रे,

कप्रसाद्ले ठगेर पैसा कमाउन नसकेकोमा बन्द रे,
गबहादुरले बिहान डढेको खाना खान परेकोमा बन्द रे ।

ठुलीले परिक्षामा सामेल नै नभै पास हुनुपर्ने भन्दै बन्द गर्ने रे,
चबहादुरले पेटभरी रक्सी खाएर हल्ला गर्न नपाएकोले बन्द गर्ने रे ।

सबै असन्तुस्ट, रुस्ठहरुले गर्ने एक मात्र खेती भएको छ बन्द,
अनी नेपाल असन्तुस्टी थोपर्ने थलो, बन्दखेतिको प्रयोगशाला ।

जहाँ बन्द सफल पारिदिनको लागि
बिरामी सडकमा मरिदिनुपर्छ ।
किसानको तरकारी सडकभरी छरपस्ट पारिनुपर्छ,
पर्यटन बर्ष २०११ मा “बन्दको लागि संगसंगै” भन्दै बन्दजात्रामा सहभागी भैदिनुपर्छ ।

अहो! बन्द बन्द मात्रै हैन, देश अब ठप्प नै हुने भो रे ।
सुन्छु फेरी बन्द हुने भयो रे ।

थाहा छैन कुन बन्द मोडेल प्रथम हुनेछ,
देश र निम्छरा जनताको जिबिका समेत ठप्प पार्न सकेकोमा ।
थाहा छैन उत्कृष्ट बन्द आयोजकको पुरस्कार कस्ले पाउनेछ,
तोडफोड, आगजनी, हिंशा र अराजकता स्थापित गर्न सकेकोमा ।

त्यसैले त घर घर हो, घर डेरा होइन ।


त्यसैले त घर घर हो, घर डेरा होइन, 
किनकी घरमा महिना नवित्दै,
महिनाको कमाइ हात नपर्दै, विद्यार्थीको घरबाट खर्च नआउँदै
भाडा माग्ने कर्कस आवाज सुनिँदैन ।

डेरा घर होइन, म भन्छु, डेरा डेरा पनि होइन,
डेरा त परदेश जस्तै हो, जहाँ तिम्रो कम र अरुको धेरै चल्छ ।
जहाँ त्रि्रो औकात नै हुँदैन, जहाँ डेराभाडाको मात्र मतलव गरिन्छ ,
मानवीय मुल्य मान्यता होइन भाडा तिर्ने क्षमताको भरमा तिमिलाई हेरिन्छ ।

घर घर नै हो, घर कोठा वा घर डेरा होइन,
घर, जहाँ सफल हुँदा उत्सव मनाइन्छ र असफल हुँदा ढाडस पाइन्छ ।
जहाँ हार्दा, ठिक्क पर्यो कसैले भन्दैन,
जहाँ दुइ थोपा पानी खेर जाँदा कसैले गाली गर्दैन, बाथरुममा लाइन लाग्नुपर्दैन ।

घर घर नै हो, घर कोठा वा घर डेरा होइन,
दिनभरीको थकाईले भुसुक्कै निदाइ बत्ति ननिभाए अर्को दिन अपमानबोध गर्नुपर्दैन ।
कटघरामा उभिनु पर्दैन, ङच्िच दाँत देखिएर “ए निदाएछु” भने मात्रै पुग्छ,
जहाँ, दुख विसाइन्छ, थकाई मेटाइन्छ, अर्को दिन नयाँ उर्जा पैदा गरिन्छ ।

घर जहाँ अपनत्व हुन्छ, न्यानो माया हुन्छ, जहाँ परिवारको छायाँ हुन्छ,
जहाँ त्रि्रो प्रगतिको डाहा गर्ने इष्र्यालु आँखा हुदैँनन् ।
घर प्रत्येक असामान्य पल सामान्य हुन्छ, र प्रत्येक सामान्य पल असामान्य पनि हुन्छ,
त्यसैले त घर घर हो, घर डेरा होइन ।
x

खाली सिलीन्डर

दिनभरी पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको विद्यार्थी आन्दोलमा सहभागी भई आएकोले सौरभ निकै थाकेको थियो । उ सोझै खाना पकाउन तम्सीयो, खाना बसालेको मात्र के थियो, ग्यासचुल्हो निभ्यो । ८:३० भइसकेको थियो, अचेल त्यो पनि यति राती बजारमा कतै ग्यास नपाइने उसलाई थाहा थियो, लामो सुस्केरा काढ्दै उ लोडसेडिङ तालिका नियाल्यो । तालिकाले ९ बजे लाइट आउने देखायो, लाइट आएपछि राइसकुकरमा नै खानालाई उमालेर खानुपर्ला भन्दै सौरभ कुरीबस्यो, ९ बज्यो, १० बज्यो, तर लाइट आएन । कोठामा भएको सबै बट्टा, पोका खोज्दा न बिस्कुटको पुरिया भेट्यो न दालमोठ । भेटियो त केबल २ मुठी चिउरा । आज चिउरा दिवस नै भयो, खाजामा चिउरा खानामा चिउरा भन्दै २ मुठी चिउराको साथमा २ गिलास पानी पिई सुत्यो । भोको पेट भएकोले होला सायद उसले सपना पनि खाना बनाउँदै गरेको देख्यो । बिहानको खाना वन्दै थियो सायद, ममबत्ती बल्दै गरेको जो देखेन । तर सपनामा पनि ग्यास सकियो, ग्यासको रित्तो सिलीन्डर बोकेर लाइन बस्न गयो । निकैबेरको ठेलमठेलपश्चात उ लाइनको अलि अगाडी पुग्नसक्यो, तर त्यतीकैमा ग्यास सकिएछ, र लाइनमा बसेका सबैजना भागाभाग गर्न थाले, कोही पसलबाट खाद्यान्न बाहिर फाल्दै थिए, कोही पसल तोडफोड गर्दै थिए । सौरभ कता जाने, के गर्ने केहि सुर पाउन सकिराखेको थिएन, त्यतीकैमा पुलीसको भ्यान आयो । उ त्यहाँबाट निस्कीने प्रयास मात्रै गर्दै थियो, उमाथी लाठी बर्सियो, ऐया ! भन्दै ढाड छाम्दै विउँझीयो । धत ! सपना पो रैछ । खाली सिलीन्डरले सपनामा पनि छोडेन भन्दै फेरी निदाउने प्रयास गर्दा उसको पेट भोकले कलल्ल कराउँदै थियो ।

चालिस रुपैयाँ

साँझ छिप्पिनै लाग्दा तरकारी किन्न बजारतिर निस्के । ताजा घिरौला देखे ।
सोधे,” कसरी?”
साहुजिले उत्तर दिये, “चालिस रुपैयाँ”
आधा किलो जोख्नलाई प्लस्टिकमा राख्दै गर्दा करेलामा आँखा गयो ।
पुन: सोधे,”कसरी?”
जवाफमा चालिस रुपैयाँ नै आयो, दुई वटा तरकारी मिसाएर एक किलो पुग्यो । एउटा पचास् रुपैयाँको नोट तेर्साए, दश् रुपैया फिर्ता पाउने अपेक्षा सहीत् ।
म हतारिए, “छिटो गर्नुस् न साहुजि”
साहुजिले भने, “बैनी, अझै सय रुपैयाँ थप्नुस्, एक सय साठी भयो, दश रुपैयाँ मिलाइदिए, ल एक सय पचास नै भयो, अब सय दिनुस्,”
मैले भने, ” किलोको चालिस भन्नुभएको होइन? ”
साहुजिले प्रत्युत्तर दिये, “चालिस रुपैयाँ एक किलोको हैन, एक पाउको हो।”

म खङ्रङ्ग भए, एक पाउ तरकारीको चालिस रुपैया, घिरौलाको । ओहो!अनुहारबाट पसिना छुट्न थाल्यो । साहुजि देखेर बेस्सरी रिस उठ्यो, तरकारी नलग्ने निर्णय गरे, पैसा फिर्ता मागे, पैसा हात परेपछी डेरातिर फटाफट हिंडे । बाटोमा सोचे, किलोमा तरकारीको मुल्य सुनेको बानी, अब भने पाउमा सुन्नुपर्ने भयो। बिस्तारै छटक, तोला अनी रतिमा भाउ सुन्ने दिन आऊला जस्तो लाग्न थाल्यो अब त ।