Sunday, April 21, 2013

समय

मेरो एउटा साथी थियो, स्कुल पढ्दा ताका । खै, किन हो कुन्नी मलाई त उसको स्वभाब, हामी सबैको भन्दा अलिक भिन्न लाग्थ्यो । स्कुल आउन एकदम दिक्क लाग्छ भन्थ्यो उ । स्कुल कसरी नआऊने भनी बहाना बनाउन तल्लिन रहन्थ्यो । त्यसो त, पढाईमा ध्यान नदिएको भनेर उसले धेरै सजाय पाउथ्यो ।  अब सुध्रिन्छु भनेर कसम पनि खान्थ्यो । तर उसको बानी भने जहिले उस्तै । उसको बुवा भारत काम गर्नुहुन्थ्यो । त्यही शिलशिलामा उ पनि केही समय उतै बसेको थियो । त्यसैको असर होला शायद, उ अलिअली हिन्दी मिसाएर पनि बोल्थ्यो । अनी सर वा मिस नआएर कक्षा खाली हुँदा सबैलाई उक्साउदै अन्ताक्षरी खेल्ने बनाउथ्यो ।

फेरी फिल्म भनेपछी हुरुक्क हुन्थ्यो  उ।  फिल्म नै हेर्नको लागि सदरमुकाम जान्थ्यो उ । फिल्म फेरिएको थाहा पाउनासाथ झन्डै  दुई घण्टा हिंडेर सदरमुकामको हल पुग्थ्यो । कहिले त एउटै फिल्म दुई तीन पटक पनि हेर्दोरहेछ, फिल्म फेरियो भनेर पाएको जानकारी गलत परेको बेला । त्यती मात्र कहाँ हो र, उ त अझै कक्षामा फिल्मको कथा भनेर बस्थ्यो । अनी फिल्म कथा सुनाउदा उ आँफै नायक झै गर्थ्यो । कहिले त उ फील्मका नाम मात्रै राखेर कथा पो लेखेर सुनाउथ्यो । साथीहरु माझ् निकै रवाफ देखाऊथ्यो । एक पटक नेपालीको गृहकार्य बुझाउदा उसले त्यही फिल्मको नामैनामले लेखेको कथा भाको कपी परेछ । मिसले उसलाई कत्ती गाली गर्नुभयो । उसकै शैलिमा नेपाली फिल्मकै नामसँग मिलाउदै "त त सार्है बिग्रिस नि बाबु" भन्नुभाको थियो  उहाँले।

हामीलाई धिरेन शाक्य, राजेश हमाल, निखिल उप्रेती सबैलाई चिन्छु भन्न भ्याऊथ्यो उ । अझ कुन नायिका पर्दामा राम्री, कसको नाच राम्रो, को नायक असली नायक, को नाम मात्रैको नायक भनी बखान गरी बस्थ्यो, उ । कहिले त आफुले फिल्म खेल्ने अवसर पाएको तर भूमिका चित्त नबुझेकोले मात्र यहाँ भाको भन्थ्यो । एस्तो सुन्दा साथीहरु जिल्ल पर्दै हेरिरहन्थे उसलाई ।  हाम्रो तिर नजिकै भालुपहाड भन्ने ठाउँ थियो, जहाँ बेलाबेला फिल्मको छायांकन चल्थ्यो । एस्तो भेउ पाउनासाथ उ त्यतैतिर हानिन्थ्यो ।

एक पटक चैतताका हो क्यारे, हावाहुरीको कारणले काम गर्न नसकेर छायांकन अली दिनको लागि लम्बिएछ । उ छायांकन हेर्न भनी जाँदोरहेछ, अनी छायांकन नभएकोले उतै दिनभर बरालिदोरैछ । छायांकन टोलीले त्यो ठाउको काम नसकिन्जेल उ पढ्न स्कुल जानेवाला थिएन । दिनदिनै घरमा आमासँग कसरी जोगिने भनी उसले घोत्लिदै नयाँ जुक्ती निकालेछ । उसलाई थाहा थियो उसको आमाको हातमा घडी थिएन। त्यसो त त्यो बेला अहिलेजस्तो हात हातमा घडी हुँदैनथ्यो पनि । बिहान आमा खाना पकाउदै गर्दा उचित मौकाको खोजिमा रहन्थ्यो, उ, कसरी आमालाई समयको गलत भान पार्ने भनी । आमाले थाहा नपाउने गरी भालुपहाड पुग्ने भनी सोचिबस्थ्यो । अनी आमा खाना पस्किदै गर्दा उसको घरभरिमा भाको समय नाप्ने एउटा मात्रै चिज भित्ते घडीलाई १०:३० बनाउदोरैछ । स्कुल जाने बेला घर्किसक्यो भनेर आमाले स्कुल जान कर गर्नुहुन्नथ्यो, उसलाई त खोज्या जस्तै भयो । आमा घरमा हुन्जेल त उ घरमै बस्दोरैछ । अनी आमा मेलापातको लागि लाग्ना साथ भालुपहाड जादोरहेछ ।

आमा ऊसलाई ढिलो हुन्छ भनी छिटो उठेर खाना पकाउन थाल्नुभयो, तर जहिले ढिलो भईसक्थ्यो । यो शिलशिला धेरै दिनसम्म चलेर उ लगातार धेरै दिन उ स्कुल नगएपछी सोझी आमालाई समेत कताकता शंका पसेछ । यो बिचमा एक हप्ता बितिसकेको हुन्छ । छोराको चाला उहाले पत्ता लगाएपछी उहा उसलाई लिएर सोझै स्कुल पुग्नुभयो । स्कुलमा प्राचार्यलाई सबै कुरा सुनाउनुभयो । त्यसै झन्किने प्राचार्यको रिसको पारो चाढिहाल्यो । उहालाई एकै पटकमा दुइ थरी झोक चल्यो । पहिलो, विद्यार्थीले आमालाई छलेकोमा, दोस्रो झन्डै एक हप्ता बिद्यालय गयल भएकोमा ।

रिसले रातो आँखा पार्दै सरले बेस्मारी चुट्नुभयो । बिचरा, उस्ले कती पिटाइ खाको थियो । सरको छडिसँगै गालीको प्रसाद खाँदै गर्दा उस्का आँखा रसिला हुँदै गये । ठीक बिपरित सरका आँखा चै राता र चम्किला भये । सरको त अनुहार समेत रातो भको थियो, अनी आँखाको नानी कस्तो घुमेको घुमै भाको थिए । तर खै, सरले त कत्ती पनि दया देखाउनुभएन।

पिटाइ सँगै सरले भन्दै हुनुहुन्थ्यो ।

'अब समय घुमाउने कला जानेपछी त उल्टो सुल्टो जता घुमाये नि भयो नि । तिमीलाई एउटा सल्लाह के,  किन समयलाई अगाडि लग्ने, बरु पछाडि लैजाउ हुन्न ? ए बाबु, कहाँ बाट सिक्यौ नी ?
ल, न मलाई पनि सिक्नुछ यस्तो अदभुद कला त !
म गुरु भएर सिकाउन पर्ने त सबै सिकाइसके,  अब आजलाई म तिम्रो गुरु हैन, तिमी मेरो गुरु बन ल।

तिमी सिकाइदेउ है मलाई समयलाई उल्टो घुमाउन । यो विशेष ज्ञान सिक्न म आतुर छु । मलाई नी तिम्रै उमेरमा फर्किने रहर पो लाग्यो । भोली देखी त तिमी र म न गुरु न चेला, हामी त केबल साथी पो । त्यो पनि मिल्ने साथी ।

सर त अझै भन्दै जानुभयो । "क्या गज्जब, सँगै जाम्ला नी फील्म हेर्न, अनी भालुपहाडमा  नायक/नायिका भेट्न । मलाई त नायिका सँग नाच्न नि मन छ । बाबु, आमालाई मात्र किन छल्छस, आइजा त र म छलौं सारा दुनियाँलाई । अनी सुन त, हामीसँगै घडी घुमाम्ला नि, हुन्न र । आइजा मिलेर उल्टो घुमाउँ यो समाज अनि सिंगो समयलाई ।"

Sunday, April 7, 2013

के म बोक्सी बन्न सक्छु ?


के म सफल बन्न सक्छु? के म जीवनमा अगाडी  बढ्न सक्छु? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लीने मेरो मनले आजकाल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा वग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु?

अनी तर्कना गर्न खोज्छु, आखिर बोक्सी वन्न के चाहीन्छ । गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झीँदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गिय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्वल, निरिह महिलाहरुको अनुहार एक पछाडि अर्को गरि आउन थाल्छ । यी सबै गुण, अवगुण म आफुमा हाललाई भेटाउँदीन, तर भविष्यमा कुनै बेला वुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको शिकार भएमा, रोगी वा समाजको लागि निकम्मा सावित भएमा म बोक्सी कहलाउन पनि त सक्छु । बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी वन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालीम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब उ पगरी सँगै आउने घृणा, लाञ्छना, वेइजज्तीको भागीदार स्वत हुन्छीन् । हाम्रो समाज, संस्कार र व्यवहार सदा र्सवदा शक्तिको वरीपरी घुम्ने परिपाटी छ । सामाजीक, पारिवारीक, आर्थीक र  शारीरीक रुपमा शक्ति सम्पन्नको पछाडि समाज अन्धो भक्तीभाव देखाउँछ । भेदभावको दृष्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी विस्तारै अर्को पक्षहरुमा कमजोर र्पादै लान्छौं, दोहोरो र तेहोरो भेदभावको माध्यमबाट। गरिव, वृद्ध, असहाय, विधवा महिलालाई कति तहको यातना हुन्छ, त्यसमाथि हामी  थपिदिन्छौं, मानसीक र शारीरीक यातना । यो कस्तो न्याय हो । धिक्कार छ हामीलाई जसले जानेर नजानेर यसलार्य प्रश्रय दिइराखेको छौं । किन गाउँकी मुखीनी आमै सबैको लागि सम्मानयोग्य हुन्छीन् कहिल्यै बोक्सी हुँदीनन् । हो, यही शक्तीको पूजा गर्ने समाजको कायदाको कारणले ।

आज संचार माध्यम बोक्सीको समाचारले गुञ्चायमान हुँदै गर्दा, पत्रिकाका अंशहरु भरिँदै गर्दा म स्वर्गे भइसक्नुभएकी एक जना हजुरआमालाई सम्झिन्छु । बेलैमा पति गुमाउनुभएकी, छोरा नभएकी, छोरीहरु विहे गरी आ-आफ्नो घरमा पठाइसक्नुभएकी, छोटो कदकी, मुखमा केबल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपीच्छे बोक्सी भन्दै जिस्काएर हैरान गर्ने  केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो ।

हिजो बोक्सी सम्वन्धी लेख पढेकोले होला सायद्, सपनामा मैले उहाँलाई नै देखेँ ।

उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमिले पनि मलाई बोक्सी मान्थ्यौ? भन, के म बोक्सी थिएँ ?'

उहाँलाई उत्तर दिन नपाउँदै म विउँझेछु, यद्यपी यस प्रश्नले मलाई आज लखेट्दै छ ।

मैले मेरो परिवारबाटं बोक्सीले यस्तो गर्छन्, यो बोक्सी हो भन्ने कहिले सुनिन । सबैलाई माया गर्न, सम्मान गर्न नै सिके । त्यही संस्कारले गर्दा होला सायद, न उहाँलाई बोक्सी भने, न उहाँबाट बदलामा गाली खेपे । करिब १७ वर्षपहिले हामी भर्खर नयाँ घर र्सदा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । हाम्रोमा फुल रोप्ने ठाउँ थिएन, डेरामा रोपेको फुलको ठुलो झयाङ थियो, रोप्ने ठाउँ नपाएपछि मेरो आँखा छिमेकी हजुरआमाको जग्गातिर गयो । हजुरआमाकोमा फुल रोप्छु भन्दा आमाले रिसाउनुहोला, भैगो, छोड भन्नुभयो । तर मेरो बालहठ किन पो सम्झौतार् गथ्यो, टन्न माटो सहितको ठुलो फुलको झयाङ लगेर उहाँको मा फुल रोपीदिए । उहाँले त झण्डै २ महिना जस्तो याद नै गर्नुभएनछ । पछि थाहा पाउने दिनमा बेस्सरी कराउनृभयो, मेरो जग्गा कसको भइसकेछ, यहाँ रोपेको फुल मलाई थाहा नहुने अनि के के भन्दै । सबै सुनेर म घरबाट निस्के र भने, हजुरआमा, हाम्रोमा ठाउँ थिएन, उता घरमा हुँदैको फुल छोड्न मन लागेन, मैले रोपेको, हजुरले धेरै फुल चलाउनु, म कहिलेकाँही चलाउला हुन्न भनेर मुस्काए । उहाँले मुस्काउँदै हुन्छ त भन्नुभएन, तर उखेलेर फालीदिनु पनि त भएन । प्रत्येक दिन विहानै त्यही हजुरआमाको बारीको फुल टिपेर मेरा छिमेकीहरु पुजा गर्थे, तर उहाँलाई बोक्सी भन्ने त उनीहरुको बानी नै भाको थिए किन छाड्थे र । मानीसहरु उहाँलाई यतिसम्म घृणा गर्थे, उहाँलाई चिया दिन पनि हिच्किचाउँछे, गोठको छेउ भरसक र्पादैनथे, वस्तु विच्कीन्छन्, दुध घटाउँछन् यस्तै यस्तै भनेर । यो सबै सुन्दा मलाई उहाँको घरमा नै भैँसी छ, त्यसो भए त्यो किन विच्कीन्न, त्यसले सँधै दिनुपर्ने जति नै दुध दिन्छ भन्ने लाग्थ्यो । पछि उहाँ वेस्सरी विरामी पर्नुभयो, त्यही बेला उहाँले भैँसी बेच्नुभयो । हाम्रो घरमा भने ठिक त्यही बेला भैँसी कीन्ने संयोग पर्यो । उहाँले बारीमा भेण्टा लगाउनुभाको थियो, त्यो लटरम्म फलीरहँदा उहाँलाई डाक्टरले भेण्टा कहिले खान हुँदैन भनेछन् । उहाँ एक्लो मान्छे, तरकारी बेचेर पैसा जम्मा पारेको भए पनि त हुन्थ्यो, तर हाम्रो घरमा दिइराख्नुहुन्थ्यो ।

उहाँ बारीमा तरकारी गोड्न प्राय साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्ने बित्तिकै बाबा 'ल, आमालाई दुध खुवाएर मात्र पठाउ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दुध सकिँदा, छिटै भए पनि 'ल, आमा एक छिन है' भनेर आफैँ बाल्टी लिएर दुध दुहुन जानुहुन्थ्यो । उहाँ विरामी भएर थलिरहँदा म उहाँलाई दुृध पुर्याउन जान्थे । हामीलाई छिमेकीले बोक्सीसगं न कति मिल्या हो भने, भैंसी मर्ला, दुध घटाउला पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दुध दिइरह्यो, मर्दा पनि मरेन । उहाँले गोडमेल गरीसकेपछि घाँस निस्कीँदा हाल्दीनुहुन्थ्यो, तर कहिले केहि अनर्थ भएन । मेरो आफ्नै हजुरआमा उहाँको दामली भन्न सुहाउने हुनुहुन्थ्यो, उहाँहरुको कुरा मिल्थ्यो, त्यसैले पनि होला विस्तारै उहाँ हाम्रोमा आइराख्न थाल्नुभयो । सबैले छिछि दुरदुर गर्ने र हाम्रोमा पारिवारीक व्यवहार पाएकोले होला उहाँ निकै बेर वस्नुहुन्थ्यो, हामीलाई निकै माया गर्नुहुन्थ्यो । उहाँसगं नजिकिँदै जाँदा मलाई अरुले घृणा गरेकोले उहाँ नमिठो बोल्नेरैछ, माया गर्नेसगं त उहाँ त्यती नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।

सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केहि भन्न चाहन्छु । अहँ उहाँ बोक्सी हुनुहुन्थेन, बस घृणा र तिरस्कारले रुखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चैँ नरम र सुन्दर थियो । हो, मेरो छिमेकी हजुरआमा हजुर केबल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन । मैले कहिल्यै बोक्सी मानीन हजुरलाई ।