Showing posts with label culture. Show all posts
Showing posts with label culture. Show all posts

Wednesday, May 30, 2018

सम्बोधन

नारायणगोपालको स्वर र दीपक जंगमको शब्द र संगीतको ‘तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ’ गीत मलाई साह्रै नै मधुर लाग्छ। उपमाको हिसाबले हैन, सम्बोधनको हिसाबले सोचौं त। कस्तो महसुस हुन्थ्यो होला, हामीलाई गरिने सम्बोधन हामीले चाहेजस्तो हुने भए। हामीलाई सम्बोधन गर्दा होच्याउने हिसाबले नभई सम्मान दर्शाउने भएमा साँच्चै नै गज्जब हुने थियो। तथापि वास्तविक जीवनमा गरिने सम्बोधन भने कतिपय अवस्थामा साह्रै कटु हुन्छन्। सम्बोधनसम्बन्धी मैले देखेका केही घटनाको दृष्टान्त यहाँ प्रस्तुत गर्छु :


म करिब ६ वर्षको हुँदा बर्खे बिदा पारेर साथीको घरमा बस्न गएको थिएँ। भोलिपल्ट सबेरैदेखि नै घरमा निकै चहलपहल थियो। रोपाइँको चटारो रहेछ। ढोकाको ठीकबाहिर एक अधबैंसे उमेरका व्यक्ति थिए। सिलटको थालमा सेतो डल्लो भातमाथि कालो दाल खन्याएर उनी भात मुछ्दै थिए। धपेडी गरेर कतैबाट आएका थिए कि खाना तातो थियो। उनको अनुहारभरि नै पसिनाका दाना थिए, बरर्र परेका मसिना, मसिना। विस्तारै पसिनाका थोपा नाकबाट र चिउँडोबाट झर्नै लाग्दा उनी टोपी निकालेर पसिना पुछ्दैथिए। ढाका टोपी पनि एकातिर फाटेको थियो। हतारिँदै खाना खाँदै गरेका उनको अनुहार अब त रातो भइसकेको थियो। काकी (साथीकी आमा) भन्दै थिइन्, ‘हली, ल ल छिटो खाऊ, बेलैमा मेलो सक्नुपर्छ।’ काकीले खाना खाउन्जेल पनि कस्तो हतार गराएको होला भन्ने लाग्यो।
हाम्रो घरमा पनि खेतको काममा सहयोग गर्ने एक हजुरबुवा हुनुहुन्थ्यो। मलाई आजसम्म पनि उहाँको नाम के थियो थाहा छैन, उहाँ मेरो हजुरबुवाभन्दा उमेरले अलि कान्छो हुनुहुन्थ्यो। हामी उहाँलाई हजुरबुवा भनेर नै बोलाउँथ्यौं। खै, मलाई के लागेछ कुन्नि ? घर पुग्नेबित्तिकै बुवालाई सोधेँ, ‘हजुरले खेतमा काम गर्ने हजुरबुवालाई हली भनेर किन नबोलाउनुभएको, मेरो साथीका घरमा त त्यसै भन्दा रहेछन्।’
मेरो कुरा सुनेर उहाँ सरासर भित्तामा झुन्ड्याइएको मेरो हजुरबुवाको तस्बिर अगाडि गएर एकटकले हेर्नुभयो। बुवाले गम्भीर मुद्रामा मलाई सम्झाउनुभयो, ‘उहाँले काममा सहयोग नगरे त सायद हाम्रो खेतबारी नै बाँझै हुन्छ। खानाको थाल पनि खाली हुन्छ। हाम्रो घरमा भित्रिने प्रत्येक अन्नमा उहाँको देन छ। उहाँकै सहयोगमा गोरु, खेतालादेखि बीउ, ब्याड, सिँचाइसम्मको बन्दोबस्त हुन्छ। तिमीलाई थाहा छ नि हैन ? म चाहन्छु, म जुन सम्मानले उहाँलाई पिता समान मान्छु, काका भनेर सम्बोधन गर्छु। तिमी पनि उहाँलाई त्यही श्रद्धाका साथ हजुरबुवा समान मान, आजसम्म जसरी हजुरबुवा भनी सम्बोधन गर्छौ, त्यसरी नै गर। अबदेखि यस्तो कुरा कहिल्यै नगर है नानी।’
मैले ‘हस्’ भन्दै टाउको हल्लाएँ। त्यति दुःख गर्ने हजुरबुवालाई बिनासित्तीमा त्यसो भनेछुजस्तो पो लाग्यो। अनि मेरी साथीकी आमाको व्यवहार देखेर रिस पनि उठ्यो, खेतदेखि थालसम्म अन्न ल्याउनेलाई नै खाने बेलासमेत सुख नदिने कस्तो मान्छे।
रौतहट, गौरका मधेसी मूलका केशरीलाल दाइ गाउँमा तरकारी बेच्नुहुन्थ्यो, टोकरीमा लगेर। गाउँमा तरकारी त धेरैले बेचे तर केशरीलाल दाइ अरूभन्दा अलग थिए, ‘जरा हट्के’। उहाँले गाउँमा नपाइने सामान सहरबाट ल्याइदिने र गाउँमा धेरै उत्पादन हुने सामान सहर लग्ने हुँदा गाउँले सबैले उहाँलाई निकै सराहना गर्थे। हाम्रो घरमा मान्छे नभेट्दा तरकारी अड्कलेर छोड्नुहुन्थ्यो। तर, हिसाब भने एकमुष्ठ रूपमा उहाँ घर फर्किने बेला मात्र गर्नुहुन्थ्यो। एक दिन उहाँले तरकारी जोखेर हाम्रो घरभित्र राख्नै लाग्दा भर्खर मात्र तरकारीको पसल खोलेका मेरा छिमेकीले उनलाई बेस्सरी हपारेछन्। केशरीलाल दाइ पनि के कम। उनले भनेछन्, ‘मलाई यहाँको दिदीले तरकारी राखिदिनु भनेर राखेको। म तरकारी त्यसै थोडी राखेछु, दिदीसँग भएको सल्लाह मुताविक न राखेछु।’ छिमेकीले भर्खर पसल राखेका थिए। उनको नयाँनयाँ जोश थियो, बजार आफ्नो बनाउन हैकम हैन, युक्ति लगाउनुपर्छ भन्ने हेक्का उनलाई थिएन सायद। उनले रिसको झोँकमा समुद्र पारिबाट आएको विदेशीलाई ठेगाना लगाइदिने भन्दै टोकरी नै उल्ट्याएर तरकारी फालिदिएछन्।
केशरीलाल दाइले भनेछन्, ‘यो घरको दिदी मलाई भाइ भन्नुहुन्छ, उहाँको छोरीले मलाई दाइ भन्नुहुन्छ, मेरो घर रौतहट हो, म त नेपाली हो, अहिले नै भनेछु दाइ, तिमी पनि मलाई चिनिहाल। नेपालीलाई नेपालमा हिँड्न, व्यापार गर्न वा बसोबास गर्न रोक्ने तिमी को ? नेपालीलाई नेपालमा नै विदेशी भन्ने तिमी पो बरु कुन देशको हो, नेपाली हो कि हैन ? ’ यस्तो उत्तर सुनेर मेरा छिमेकी अवाक् भएछन्। स्कुलबाट फर्कनेबित्तिकै यो घटना सुन्दै गर्दा मैले सोचेँ, ममीले भाइ भन्ने उहाँलाई मैले मिलाएर साइनो लगाएको भए मामा भन्नुपथ्र्यो। मैले दाइ भन्ने साइनो लगाएको मिलेको त थिएन तर त्यो दाइ सम्बोधनले कति मिठास घोलेको रहेछ हामीमाझ भन्ने लाग्यो।
हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
कलेजमा साथीहरूमाझ नामले बोलाइनु सामान्य हो। तर, एकजना साथीले आफ्नी समकक्षी साथीलाई बोलाउने नामको अगाडि गार्ड जोडेको पाएपछि मलाई अनौठो लाग्यो र नरमाइलो पनि। हाम्रा कैयौं साथी बिहान कलेज पढेर दिउँसो सहर डुल्थे, आनन्दले बस्थे। तर यो साथी भने बिहानमा हामीसँगै पढेर दिउँसोको समयमा सुरक्षा गार्डको काम गर्थे, कलेजमा नै। उनले समय व्यवस्थापन गरेर पढाइका अलावा कामसमेत गरेकोमा हामीले त उनलाई प्रोत्साहन गर्नुपर्ने हो नि। मलाई लाग्यो, साथी आफ्नो व्यावसायिक जीवनमा जेसुकै काम गर्ने भए पनि कक्षाका लागि ऊ विद्यार्थी र साथीका लागि केवल साथी हुनुपर्ने अनि सोहीअनुसार नै सम्बोधन गरिनुपर्ने हो। मैलै साथीहरूलाई पनि यही भनेँ, साथीहरू पनि कन्भिन्स भए सायद। त्यसपछिका दिनहरूमा उनलाई सम्बोधन गरिँदा गार्ड भनेको सुनिएन।
कार्यालयमा एकजना साथीले समकक्षीलाई चालक दाइ भनेर बोलाउँदै थिए। मैले उनलाई पदले नबोलाई नामले बोलाउन सुझाएँ। उनी त उल्टै तर्क पो गर्न थाले, ‘गाडी चलाउनेलाई चालक नभन्नु ? ’ कतिपय बेलामा पेसाको माध्यमले पनि चिनिन्छ। तर, व्यक्तिको सम्पूर्ण परिचय केवल एउटा पेसा मात्र पनि त हैन। एक व्यक्ति अनेक पेसामा संलग्न हुन सक्छ। कामकै आधारमा वा उसले कामको लागि प्रयोग गर्ने औजारका आधारमा सम्बोधन गरे कसैलाई फोन, कसैलाई कुचो, कसैलाई कलम, कसैलाई कागजबाट चिनाउन पर्ला नि भनेर प्रतिप्रश्न तेस्र्याएँ। केही बेरको आनाकानीपछि बल्ल उनी आश्वस्त भए।
‘के छ कमला, हालखबर कस्तो छ ? ’
फोनमा कसैले यसरी कुरा गर्दा यो वार्तालाप कुनै समकक्षी, साथी वा छिमेकीको वार्तालाप होला भनी सोच्नु स्वाभाविक नै हो। हो, मैले पनि स्वाभाविक ढंगले नै सोचेँ तर हैन रहेछ, यो वार्तालाप त एउटी छोरीले आफ्नी आमासँग गरेको पो रहेछ। यस्तो आवश्यकता आखिर किन, आमालाई नि कसैले नामले बोलाउँछ ? भन्ने प्रश्नमा उसको उत्तर निकै घतलाग्दो थियो। उसले भनी, मेरी आमाको परिचय एकपछि एक गर्दै माइतीकी नानी, घरकी दुलही (बुहारी), उसको बाबुकी पत्नी, मलगायत मेरा दाइदिदीकी आमाको रूपमा फेरिँदै गयो। नागरिकतामा उल्लेख भएको मेरी आमाको नाम कमलाको अस्तित्व केवल नागरिकतामा मात्र सीमित भयो।
उहाँको नामको सार्थकता जोगाइराख्न भए पनि आमालाई गर्ने प्रत्येक सम्बोधनमा आजकल म उहाँको नाम लिन्छु। आमालाई नामले बोलाउने तरिका कस्तोकस्तो सुनिए पनि उसले कारण बताएपछि उसले आमाको नामकोे प्रयोग गर्ने सम्बन्धमा निकालेको जिकिर भने मनासिब नै लाग्यो। हामीलाई हाम्रो नामले कसैले पनि बोलाएन भने कस्तो लाग्ला ? नाम भनेको पहिचान पनि हो, अस्तित्व पनि हो। वास्तविक नामले बोलाइनुले साँच्चै धेरै फरक पार्छ। आज पनि जब पहिचानको नाराको राजनीतिक मुद्दा पृष्‍ठभूमिमा सुन्छु वा कमला नाम सुन्छु, मानसपटलमा साथीको अनुहार घुमिरहन्छ।
अझै पनि काले, पोक्चे, डल्ले, भुन्टे, टुटुल्के, तिखे, नेप्टी, चेप्टी, काली, सेती, बाटुली, मसिनी या यस्तै नाममा परिचय बोकेर त्यतिमा नै जीवनको यात्राबाट वि श्राम लिने धेरै छन्। अझ भनौं, त्यसको लेखाजोखा नै छैन। यसो सोच्दा नाम, काम, परिचय र सम्बोधन बीचको साइनो जेलिएको लाग्छ। खेत जोतेर अन्न उत्पादनमा सहयोग गर्ने दाइको प्रसंग होस् वा सायदै नामबाट सम्बोधन गरिएकी मेरी साथीकी आमा, घरदेखि टाढा आफ्नै देशमा जीविकोपार्जनका लागि खट्ने, श्रमको सम्मान हैन, विदेशीको रूपमा अपमानजनक व्यवहार गरिएका केशरीलाल दाइ हुन् वा आफ्नै सहकर्मीबाट कार्यको नामले सम्बोधित कर्मचारी वा सहपाठीबाट साथीका रूपमा नभई गार्डका रूपमा सम्बोधित साथी, यी सबै हामीले दैनिक जीवनमा देख्दै र भोग्दै आएका घटना नै हुन्।



काम भनेको हाम्रो जीवनको एउटा पाटो हो, पूर्ण पाटो हैन। तसर्थ, हामीले गर्ने काम मात्रै पनि हाम्रो पूरा परिचय हैन। अतः हिस्सा आफैंमा पूर्णता हैन। हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अब अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
शनिवार, ०१ बैशाख, २०७५ 'अन्नपूर्ण पोस्ट', फुर्सद मा प्रकाशित
http://annapurnapost.com/news/95684

Sunday, April 7, 2013

के म बोक्सी बन्न सक्छु ?


के म सफल बन्न सक्छु? के म जीवनमा अगाडी  बढ्न सक्छु? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लीने मेरो मनले आजकाल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा वग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु?

अनी तर्कना गर्न खोज्छु, आखिर बोक्सी वन्न के चाहीन्छ । गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झीँदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गिय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्वल, निरिह महिलाहरुको अनुहार एक पछाडि अर्को गरि आउन थाल्छ । यी सबै गुण, अवगुण म आफुमा हाललाई भेटाउँदीन, तर भविष्यमा कुनै बेला वुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको शिकार भएमा, रोगी वा समाजको लागि निकम्मा सावित भएमा म बोक्सी कहलाउन पनि त सक्छु । बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी वन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालीम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब उ पगरी सँगै आउने घृणा, लाञ्छना, वेइजज्तीको भागीदार स्वत हुन्छीन् । हाम्रो समाज, संस्कार र व्यवहार सदा र्सवदा शक्तिको वरीपरी घुम्ने परिपाटी छ । सामाजीक, पारिवारीक, आर्थीक र  शारीरीक रुपमा शक्ति सम्पन्नको पछाडि समाज अन्धो भक्तीभाव देखाउँछ । भेदभावको दृष्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी विस्तारै अर्को पक्षहरुमा कमजोर र्पादै लान्छौं, दोहोरो र तेहोरो भेदभावको माध्यमबाट। गरिव, वृद्ध, असहाय, विधवा महिलालाई कति तहको यातना हुन्छ, त्यसमाथि हामी  थपिदिन्छौं, मानसीक र शारीरीक यातना । यो कस्तो न्याय हो । धिक्कार छ हामीलाई जसले जानेर नजानेर यसलार्य प्रश्रय दिइराखेको छौं । किन गाउँकी मुखीनी आमै सबैको लागि सम्मानयोग्य हुन्छीन् कहिल्यै बोक्सी हुँदीनन् । हो, यही शक्तीको पूजा गर्ने समाजको कायदाको कारणले ।

आज संचार माध्यम बोक्सीको समाचारले गुञ्चायमान हुँदै गर्दा, पत्रिकाका अंशहरु भरिँदै गर्दा म स्वर्गे भइसक्नुभएकी एक जना हजुरआमालाई सम्झिन्छु । बेलैमा पति गुमाउनुभएकी, छोरा नभएकी, छोरीहरु विहे गरी आ-आफ्नो घरमा पठाइसक्नुभएकी, छोटो कदकी, मुखमा केबल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपीच्छे बोक्सी भन्दै जिस्काएर हैरान गर्ने  केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो ।

हिजो बोक्सी सम्वन्धी लेख पढेकोले होला सायद्, सपनामा मैले उहाँलाई नै देखेँ ।

उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमिले पनि मलाई बोक्सी मान्थ्यौ? भन, के म बोक्सी थिएँ ?'

उहाँलाई उत्तर दिन नपाउँदै म विउँझेछु, यद्यपी यस प्रश्नले मलाई आज लखेट्दै छ ।

मैले मेरो परिवारबाटं बोक्सीले यस्तो गर्छन्, यो बोक्सी हो भन्ने कहिले सुनिन । सबैलाई माया गर्न, सम्मान गर्न नै सिके । त्यही संस्कारले गर्दा होला सायद, न उहाँलाई बोक्सी भने, न उहाँबाट बदलामा गाली खेपे । करिब १७ वर्षपहिले हामी भर्खर नयाँ घर र्सदा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । हाम्रोमा फुल रोप्ने ठाउँ थिएन, डेरामा रोपेको फुलको ठुलो झयाङ थियो, रोप्ने ठाउँ नपाएपछि मेरो आँखा छिमेकी हजुरआमाको जग्गातिर गयो । हजुरआमाकोमा फुल रोप्छु भन्दा आमाले रिसाउनुहोला, भैगो, छोड भन्नुभयो । तर मेरो बालहठ किन पो सम्झौतार् गथ्यो, टन्न माटो सहितको ठुलो फुलको झयाङ लगेर उहाँको मा फुल रोपीदिए । उहाँले त झण्डै २ महिना जस्तो याद नै गर्नुभएनछ । पछि थाहा पाउने दिनमा बेस्सरी कराउनृभयो, मेरो जग्गा कसको भइसकेछ, यहाँ रोपेको फुल मलाई थाहा नहुने अनि के के भन्दै । सबै सुनेर म घरबाट निस्के र भने, हजुरआमा, हाम्रोमा ठाउँ थिएन, उता घरमा हुँदैको फुल छोड्न मन लागेन, मैले रोपेको, हजुरले धेरै फुल चलाउनु, म कहिलेकाँही चलाउला हुन्न भनेर मुस्काए । उहाँले मुस्काउँदै हुन्छ त भन्नुभएन, तर उखेलेर फालीदिनु पनि त भएन । प्रत्येक दिन विहानै त्यही हजुरआमाको बारीको फुल टिपेर मेरा छिमेकीहरु पुजा गर्थे, तर उहाँलाई बोक्सी भन्ने त उनीहरुको बानी नै भाको थिए किन छाड्थे र । मानीसहरु उहाँलाई यतिसम्म घृणा गर्थे, उहाँलाई चिया दिन पनि हिच्किचाउँछे, गोठको छेउ भरसक र्पादैनथे, वस्तु विच्कीन्छन्, दुध घटाउँछन् यस्तै यस्तै भनेर । यो सबै सुन्दा मलाई उहाँको घरमा नै भैँसी छ, त्यसो भए त्यो किन विच्कीन्न, त्यसले सँधै दिनुपर्ने जति नै दुध दिन्छ भन्ने लाग्थ्यो । पछि उहाँ वेस्सरी विरामी पर्नुभयो, त्यही बेला उहाँले भैँसी बेच्नुभयो । हाम्रो घरमा भने ठिक त्यही बेला भैँसी कीन्ने संयोग पर्यो । उहाँले बारीमा भेण्टा लगाउनुभाको थियो, त्यो लटरम्म फलीरहँदा उहाँलाई डाक्टरले भेण्टा कहिले खान हुँदैन भनेछन् । उहाँ एक्लो मान्छे, तरकारी बेचेर पैसा जम्मा पारेको भए पनि त हुन्थ्यो, तर हाम्रो घरमा दिइराख्नुहुन्थ्यो ।

उहाँ बारीमा तरकारी गोड्न प्राय साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्ने बित्तिकै बाबा 'ल, आमालाई दुध खुवाएर मात्र पठाउ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दुध सकिँदा, छिटै भए पनि 'ल, आमा एक छिन है' भनेर आफैँ बाल्टी लिएर दुध दुहुन जानुहुन्थ्यो । उहाँ विरामी भएर थलिरहँदा म उहाँलाई दुृध पुर्याउन जान्थे । हामीलाई छिमेकीले बोक्सीसगं न कति मिल्या हो भने, भैंसी मर्ला, दुध घटाउला पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दुध दिइरह्यो, मर्दा पनि मरेन । उहाँले गोडमेल गरीसकेपछि घाँस निस्कीँदा हाल्दीनुहुन्थ्यो, तर कहिले केहि अनर्थ भएन । मेरो आफ्नै हजुरआमा उहाँको दामली भन्न सुहाउने हुनुहुन्थ्यो, उहाँहरुको कुरा मिल्थ्यो, त्यसैले पनि होला विस्तारै उहाँ हाम्रोमा आइराख्न थाल्नुभयो । सबैले छिछि दुरदुर गर्ने र हाम्रोमा पारिवारीक व्यवहार पाएकोले होला उहाँ निकै बेर वस्नुहुन्थ्यो, हामीलाई निकै माया गर्नुहुन्थ्यो । उहाँसगं नजिकिँदै जाँदा मलाई अरुले घृणा गरेकोले उहाँ नमिठो बोल्नेरैछ, माया गर्नेसगं त उहाँ त्यती नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।

सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केहि भन्न चाहन्छु । अहँ उहाँ बोक्सी हुनुहुन्थेन, बस घृणा र तिरस्कारले रुखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चैँ नरम र सुन्दर थियो । हो, मेरो छिमेकी हजुरआमा हजुर केबल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन । मैले कहिल्यै बोक्सी मानीन हजुरलाई ।