Friday, July 27, 2018

गुरु पुर्णिमा: सम्झना, एक चड्कन र १०० शब्दको

जिन्दगी नामको यो यात्रामा सिक्ने सिकाउने निरन्तर प्रकृया हो । मलाई अहिले सम्म सिकाउने सबै गुरुमा नमन । जहाँ छु, यहाँहरुको कारणले छु ।

आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।

त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित  पढाउंदा जानिन । खै, कुन सनकमा  'तंलाई के मतलब?' भनेछु ।

प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।

Image source: Internet
दुई कक्षा पढ्दा औसत मात्रा पढाई भयो भनेर फेरी दुईमा भर्ना गरेर बाबा बुटवल जानुभयो । एता मलाई फेरि कक्षा तिनमा नै लग्दिनुभयो गुरुहरुले । पछी तीन कक्षाको अन्तिम ताका त बाबाले तीन दोहोर्याउने नै भनेर अड्डी कस्नुभयो । दोस्रो पटक तीन पढ्दा ताका प्यारालाल कुर्ताको फेशन थियो । सबैले लगाउने फेशनको कुर्ताको माग त मैले नि गर्ने नै भएं ।

माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।

बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।

Image Source: Internet
त्यो १०० शब्द जानेर घर फर्किएं । शर्त अनुसार त्यो कुर्ता हेर्न र लगाउन पाईयो । जीवनमा धेरै कपडा लगाये नि त्यो कपडा मलाई आज पनि बिशेष लाग्छ, सांचो मानेमा त्यो चैं मेहनतले आर्जेथें जस्तो लाग्छ । आज पनि जब Bournville चकलेटको बिज्ञापनमा 'Have you earned it? भन्दा मलाई ति सय शब्द र त्यो पहेँलो कुर्ताकै याद आउंछ ।

चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें ।  ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।



अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।


Wednesday, May 30, 2018

सम्बोधन

नारायणगोपालको स्वर र दीपक जंगमको शब्द र संगीतको ‘तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ’ गीत मलाई साह्रै नै मधुर लाग्छ। उपमाको हिसाबले हैन, सम्बोधनको हिसाबले सोचौं त। कस्तो महसुस हुन्थ्यो होला, हामीलाई गरिने सम्बोधन हामीले चाहेजस्तो हुने भए। हामीलाई सम्बोधन गर्दा होच्याउने हिसाबले नभई सम्मान दर्शाउने भएमा साँच्चै नै गज्जब हुने थियो। तथापि वास्तविक जीवनमा गरिने सम्बोधन भने कतिपय अवस्थामा साह्रै कटु हुन्छन्। सम्बोधनसम्बन्धी मैले देखेका केही घटनाको दृष्टान्त यहाँ प्रस्तुत गर्छु :


म करिब ६ वर्षको हुँदा बर्खे बिदा पारेर साथीको घरमा बस्न गएको थिएँ। भोलिपल्ट सबेरैदेखि नै घरमा निकै चहलपहल थियो। रोपाइँको चटारो रहेछ। ढोकाको ठीकबाहिर एक अधबैंसे उमेरका व्यक्ति थिए। सिलटको थालमा सेतो डल्लो भातमाथि कालो दाल खन्याएर उनी भात मुछ्दै थिए। धपेडी गरेर कतैबाट आएका थिए कि खाना तातो थियो। उनको अनुहारभरि नै पसिनाका दाना थिए, बरर्र परेका मसिना, मसिना। विस्तारै पसिनाका थोपा नाकबाट र चिउँडोबाट झर्नै लाग्दा उनी टोपी निकालेर पसिना पुछ्दैथिए। ढाका टोपी पनि एकातिर फाटेको थियो। हतारिँदै खाना खाँदै गरेका उनको अनुहार अब त रातो भइसकेको थियो। काकी (साथीकी आमा) भन्दै थिइन्, ‘हली, ल ल छिटो खाऊ, बेलैमा मेलो सक्नुपर्छ।’ काकीले खाना खाउन्जेल पनि कस्तो हतार गराएको होला भन्ने लाग्यो।
हाम्रो घरमा पनि खेतको काममा सहयोग गर्ने एक हजुरबुवा हुनुहुन्थ्यो। मलाई आजसम्म पनि उहाँको नाम के थियो थाहा छैन, उहाँ मेरो हजुरबुवाभन्दा उमेरले अलि कान्छो हुनुहुन्थ्यो। हामी उहाँलाई हजुरबुवा भनेर नै बोलाउँथ्यौं। खै, मलाई के लागेछ कुन्नि ? घर पुग्नेबित्तिकै बुवालाई सोधेँ, ‘हजुरले खेतमा काम गर्ने हजुरबुवालाई हली भनेर किन नबोलाउनुभएको, मेरो साथीका घरमा त त्यसै भन्दा रहेछन्।’
मेरो कुरा सुनेर उहाँ सरासर भित्तामा झुन्ड्याइएको मेरो हजुरबुवाको तस्बिर अगाडि गएर एकटकले हेर्नुभयो। बुवाले गम्भीर मुद्रामा मलाई सम्झाउनुभयो, ‘उहाँले काममा सहयोग नगरे त सायद हाम्रो खेतबारी नै बाँझै हुन्छ। खानाको थाल पनि खाली हुन्छ। हाम्रो घरमा भित्रिने प्रत्येक अन्नमा उहाँको देन छ। उहाँकै सहयोगमा गोरु, खेतालादेखि बीउ, ब्याड, सिँचाइसम्मको बन्दोबस्त हुन्छ। तिमीलाई थाहा छ नि हैन ? म चाहन्छु, म जुन सम्मानले उहाँलाई पिता समान मान्छु, काका भनेर सम्बोधन गर्छु। तिमी पनि उहाँलाई त्यही श्रद्धाका साथ हजुरबुवा समान मान, आजसम्म जसरी हजुरबुवा भनी सम्बोधन गर्छौ, त्यसरी नै गर। अबदेखि यस्तो कुरा कहिल्यै नगर है नानी।’
मैले ‘हस्’ भन्दै टाउको हल्लाएँ। त्यति दुःख गर्ने हजुरबुवालाई बिनासित्तीमा त्यसो भनेछुजस्तो पो लाग्यो। अनि मेरी साथीकी आमाको व्यवहार देखेर रिस पनि उठ्यो, खेतदेखि थालसम्म अन्न ल्याउनेलाई नै खाने बेलासमेत सुख नदिने कस्तो मान्छे।
रौतहट, गौरका मधेसी मूलका केशरीलाल दाइ गाउँमा तरकारी बेच्नुहुन्थ्यो, टोकरीमा लगेर। गाउँमा तरकारी त धेरैले बेचे तर केशरीलाल दाइ अरूभन्दा अलग थिए, ‘जरा हट्के’। उहाँले गाउँमा नपाइने सामान सहरबाट ल्याइदिने र गाउँमा धेरै उत्पादन हुने सामान सहर लग्ने हुँदा गाउँले सबैले उहाँलाई निकै सराहना गर्थे। हाम्रो घरमा मान्छे नभेट्दा तरकारी अड्कलेर छोड्नुहुन्थ्यो। तर, हिसाब भने एकमुष्ठ रूपमा उहाँ घर फर्किने बेला मात्र गर्नुहुन्थ्यो। एक दिन उहाँले तरकारी जोखेर हाम्रो घरभित्र राख्नै लाग्दा भर्खर मात्र तरकारीको पसल खोलेका मेरा छिमेकीले उनलाई बेस्सरी हपारेछन्। केशरीलाल दाइ पनि के कम। उनले भनेछन्, ‘मलाई यहाँको दिदीले तरकारी राखिदिनु भनेर राखेको। म तरकारी त्यसै थोडी राखेछु, दिदीसँग भएको सल्लाह मुताविक न राखेछु।’ छिमेकीले भर्खर पसल राखेका थिए। उनको नयाँनयाँ जोश थियो, बजार आफ्नो बनाउन हैकम हैन, युक्ति लगाउनुपर्छ भन्ने हेक्का उनलाई थिएन सायद। उनले रिसको झोँकमा समुद्र पारिबाट आएको विदेशीलाई ठेगाना लगाइदिने भन्दै टोकरी नै उल्ट्याएर तरकारी फालिदिएछन्।
केशरीलाल दाइले भनेछन्, ‘यो घरको दिदी मलाई भाइ भन्नुहुन्छ, उहाँको छोरीले मलाई दाइ भन्नुहुन्छ, मेरो घर रौतहट हो, म त नेपाली हो, अहिले नै भनेछु दाइ, तिमी पनि मलाई चिनिहाल। नेपालीलाई नेपालमा हिँड्न, व्यापार गर्न वा बसोबास गर्न रोक्ने तिमी को ? नेपालीलाई नेपालमा नै विदेशी भन्ने तिमी पो बरु कुन देशको हो, नेपाली हो कि हैन ? ’ यस्तो उत्तर सुनेर मेरा छिमेकी अवाक् भएछन्। स्कुलबाट फर्कनेबित्तिकै यो घटना सुन्दै गर्दा मैले सोचेँ, ममीले भाइ भन्ने उहाँलाई मैले मिलाएर साइनो लगाएको भए मामा भन्नुपथ्र्यो। मैले दाइ भन्ने साइनो लगाएको मिलेको त थिएन तर त्यो दाइ सम्बोधनले कति मिठास घोलेको रहेछ हामीमाझ भन्ने लाग्यो।
हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
कलेजमा साथीहरूमाझ नामले बोलाइनु सामान्य हो। तर, एकजना साथीले आफ्नी समकक्षी साथीलाई बोलाउने नामको अगाडि गार्ड जोडेको पाएपछि मलाई अनौठो लाग्यो र नरमाइलो पनि। हाम्रा कैयौं साथी बिहान कलेज पढेर दिउँसो सहर डुल्थे, आनन्दले बस्थे। तर यो साथी भने बिहानमा हामीसँगै पढेर दिउँसोको समयमा सुरक्षा गार्डको काम गर्थे, कलेजमा नै। उनले समय व्यवस्थापन गरेर पढाइका अलावा कामसमेत गरेकोमा हामीले त उनलाई प्रोत्साहन गर्नुपर्ने हो नि। मलाई लाग्यो, साथी आफ्नो व्यावसायिक जीवनमा जेसुकै काम गर्ने भए पनि कक्षाका लागि ऊ विद्यार्थी र साथीका लागि केवल साथी हुनुपर्ने अनि सोहीअनुसार नै सम्बोधन गरिनुपर्ने हो। मैलै साथीहरूलाई पनि यही भनेँ, साथीहरू पनि कन्भिन्स भए सायद। त्यसपछिका दिनहरूमा उनलाई सम्बोधन गरिँदा गार्ड भनेको सुनिएन।
कार्यालयमा एकजना साथीले समकक्षीलाई चालक दाइ भनेर बोलाउँदै थिए। मैले उनलाई पदले नबोलाई नामले बोलाउन सुझाएँ। उनी त उल्टै तर्क पो गर्न थाले, ‘गाडी चलाउनेलाई चालक नभन्नु ? ’ कतिपय बेलामा पेसाको माध्यमले पनि चिनिन्छ। तर, व्यक्तिको सम्पूर्ण परिचय केवल एउटा पेसा मात्र पनि त हैन। एक व्यक्ति अनेक पेसामा संलग्न हुन सक्छ। कामकै आधारमा वा उसले कामको लागि प्रयोग गर्ने औजारका आधारमा सम्बोधन गरे कसैलाई फोन, कसैलाई कुचो, कसैलाई कलम, कसैलाई कागजबाट चिनाउन पर्ला नि भनेर प्रतिप्रश्न तेस्र्याएँ। केही बेरको आनाकानीपछि बल्ल उनी आश्वस्त भए।
‘के छ कमला, हालखबर कस्तो छ ? ’
फोनमा कसैले यसरी कुरा गर्दा यो वार्तालाप कुनै समकक्षी, साथी वा छिमेकीको वार्तालाप होला भनी सोच्नु स्वाभाविक नै हो। हो, मैले पनि स्वाभाविक ढंगले नै सोचेँ तर हैन रहेछ, यो वार्तालाप त एउटी छोरीले आफ्नी आमासँग गरेको पो रहेछ। यस्तो आवश्यकता आखिर किन, आमालाई नि कसैले नामले बोलाउँछ ? भन्ने प्रश्नमा उसको उत्तर निकै घतलाग्दो थियो। उसले भनी, मेरी आमाको परिचय एकपछि एक गर्दै माइतीकी नानी, घरकी दुलही (बुहारी), उसको बाबुकी पत्नी, मलगायत मेरा दाइदिदीकी आमाको रूपमा फेरिँदै गयो। नागरिकतामा उल्लेख भएको मेरी आमाको नाम कमलाको अस्तित्व केवल नागरिकतामा मात्र सीमित भयो।
उहाँको नामको सार्थकता जोगाइराख्न भए पनि आमालाई गर्ने प्रत्येक सम्बोधनमा आजकल म उहाँको नाम लिन्छु। आमालाई नामले बोलाउने तरिका कस्तोकस्तो सुनिए पनि उसले कारण बताएपछि उसले आमाको नामकोे प्रयोग गर्ने सम्बन्धमा निकालेको जिकिर भने मनासिब नै लाग्यो। हामीलाई हाम्रो नामले कसैले पनि बोलाएन भने कस्तो लाग्ला ? नाम भनेको पहिचान पनि हो, अस्तित्व पनि हो। वास्तविक नामले बोलाइनुले साँच्चै धेरै फरक पार्छ। आज पनि जब पहिचानको नाराको राजनीतिक मुद्दा पृष्‍ठभूमिमा सुन्छु वा कमला नाम सुन्छु, मानसपटलमा साथीको अनुहार घुमिरहन्छ।
अझै पनि काले, पोक्चे, डल्ले, भुन्टे, टुटुल्के, तिखे, नेप्टी, चेप्टी, काली, सेती, बाटुली, मसिनी या यस्तै नाममा परिचय बोकेर त्यतिमा नै जीवनको यात्राबाट वि श्राम लिने धेरै छन्। अझ भनौं, त्यसको लेखाजोखा नै छैन। यसो सोच्दा नाम, काम, परिचय र सम्बोधन बीचको साइनो जेलिएको लाग्छ। खेत जोतेर अन्न उत्पादनमा सहयोग गर्ने दाइको प्रसंग होस् वा सायदै नामबाट सम्बोधन गरिएकी मेरी साथीकी आमा, घरदेखि टाढा आफ्नै देशमा जीविकोपार्जनका लागि खट्ने, श्रमको सम्मान हैन, विदेशीको रूपमा अपमानजनक व्यवहार गरिएका केशरीलाल दाइ हुन् वा आफ्नै सहकर्मीबाट कार्यको नामले सम्बोधित कर्मचारी वा सहपाठीबाट साथीका रूपमा नभई गार्डका रूपमा सम्बोधित साथी, यी सबै हामीले दैनिक जीवनमा देख्दै र भोग्दै आएका घटना नै हुन्।



काम भनेको हाम्रो जीवनको एउटा पाटो हो, पूर्ण पाटो हैन। तसर्थ, हामीले गर्ने काम मात्रै पनि हाम्रो पूरा परिचय हैन। अतः हिस्सा आफैंमा पूर्णता हैन। हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अब अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
शनिवार, ०१ बैशाख, २०७५ 'अन्नपूर्ण पोस्ट', फुर्सद मा प्रकाशित
http://annapurnapost.com/news/95684

Tuesday, March 13, 2018

फेरि अर्काे कहानी

बहिनिलाई खाजा खान गाको, मान्छे थिएनन् खासै । अर्डर गरून्जेल ठीकै थियाे । हामी खान लागेपछि उनी गलत अाशयका गित माेबाइलमा बजाए । उनीसँग अर्काे साथी पनि थियाे जाे उनीसँगै गितमा प्रतिक्रिया जनाउँथ्याे । यतिमा सिमित भएनन्, माेबाइलमा गित घन्काउँदै हाम्रो टेबल हुंदै यता र उता गरे । हाम्राे हुर्मत लीन तम्सेकाे जसरी । सोचें, आफ्नो पैसा तिरेर खानु छ, यस्ताे गतिविधि गर्ने समेतकाे नाममा सेवा शुल्क पनि दिनु, अनि यस्ताे व्यवहार त सहन भएन । काउण्टरमा पैसा संगै उनको कामकाे उजुरी पनि गरें । ठीक पार्छु त भनेँ, साँच्चै ठीक त के हाेलान् र यस्ता मान्छे । हैन, याे हैरानीकाे श्रृंखलाकाे कहानी कहिलेसम्म भन्नपर्ने हाेला । मान्छेकाे साेँच परिवर्तन कहिले हाेला खै ?

सपना, बिपना र सम्झना

कानैमा मीठो साउती गरेको जीवन अचानक मृत्यु बनेर उछिट्टिन्छ । धर्ती टेक्न तम्तयार पाईला हुन्छन् खरानी अंकमाल गर्न आतुर आफन्तहरु बन्छन् मलामी । आकाश र धर्तीको सानो अन्तरमा सपना बिलायो, बिपना जल्यो, जीवन सकियो, रह्यो त केवल सम्झना ।

Wednesday, February 14, 2018

अप्सन 'बी'

दिनै नबिराई कलेज आउने
मेरो एउटा साथी थियो,
जो क्लास भने बिराएर
यदाकदा मात्र आउंथ्यो ।

उसँगै हराउंथी र भेटिन्थी
उस्की प्रेमिका पनि ।
लाग्थ्यो, छुट्टीये भने
बस्लान पो कसरी?


'पाेएट्री इज अ  स्पन्टेनस अाेभरफ्लाे अफ पावरफुल इमाेसन्स' भनेर
कविता प्रतिकाे वीलीयम वर्डस्वर्थकाे धारणाामा
क्लासमा हामी घोत्लिंदा
उ र उसकी प्रेमिका कलेजको चौरमा टहलिन्थे
र सायद काेर्दा हुन्
प्रेमका लाइभ कविता धाराप्रवाह ।

यदाकदा क्लासमा उसलाइ भेट्दा
अाज प्राक्टीकल नगइ
थ्याेरी क्लासमा पाे अाकाे
भनेर कटाक्ष पनि गर्थ्याैँ ।

एक दिन साथी एक्लै अायाे
बिना प्रेमीका ।
खै त तिम्रो साथी?
सबैले सोधे उस्लाई,
अनकनाउंदै जवाफ दियो उस्ले
'उस्को त अर्कैसँग विहे भयो ।'

लगातार दुई दिन हरायाे साथी
पुनः प्रकट भयो हातमा एक पोका सहित ।
फटाफट बांड्न थाल्यो चकलेट
पाेतेर अनुहारमा मुस्कान ।

कारण सोध्यौं हामीले
जवाफ आयो अनौठो,
भन्याे उसले,
मैल त लाइफ टाइम ईभेन्ट सम्पन्न गरेँ ।

गफ हाँक्छस?
अस्तीकाे अाज काे भेटीस्,
जीस्कीन्छस् ?
तलाइँ एक मुक्का लगाउँ, झुट बोल्छस्
भनेर भकुरे साथीहरूले ।

उ शान्त भयाे र भन्याे,
'जव प्रेमिकाको अन्तै बिहे भयो,
तुरून्ता तुरून्तै विवाह गर्ने निर्णय लीएँ मैले ।
अप्सन 'ए' ले काम गरेन त के भयाे?
भनेर तत्काल लक गरेँ अप्सन 'बी' लाइ,
लाइफटाइमकाे लागि । '

अप्सन 'बी' अर्थात, जोसँग उस्को प्रेम
चलेको थियो रे समानान्तर ।
अस्ती विहे भएकीसँग जस्तो चर्कोवाला प्रेम हैन,
मन्द मन्द खालको प्रेम  ।

अचानक, अाज भ्यालेन्टाइन  डेमा
त्यही साथीकाे याद अायाे । 
र हेरेँ उस्को फेस्बुक प्रोफाइल
सिरानमा भेटियाे  उस्को 'ह्याप्पी फेमिली'
क्याप्सनवाला कभर तस्बिर ।

भेटिए तीन थान अनुहार ।
उ, उस्को छोरी र उस्को दोस्रो अप्सन, उस्की श्रीमती
तस्बीरमा थपेँ, एक लाइक तुरूुन्तै
वर्षाैँ पहिले उसले भनेकाे
'चर्काे हैन मन्द मन्द प्रेम' सम्झेर मनमनै हाँसे । 

Friday, December 29, 2017

बालापनः ताउलीकाे तरकारी नाेस्टाल्जीया

सबैलाई त हैन अधिकांश मानिसलाई सानो हुने बेलासम्म ठुलो हुने कैले होला भन्ने लाग्थ्यो । अनी ठुलो भएपछी मान्छेलाई बालापन प्यारो लाग्छ, बाल्यकालका याद ताजा हुन्छन् । त्यसैले सुनिल वर्देवाकाे 'गाेरेटाे अनि उस्तै छ गल्ली.....काेही फर्काइदेउ त्याे वालापन' गीत हीट छ । आज बाल्यकालको एउटा किस्सा सम्झें ।
बाल्यकालमा काउलीको तरकारीप्रतीको मेरो मोह र लगाव । अरुले कसैले कोपिको फुल, गोपिको फुल, फुलकाउली भन्ने तरकारीलाई हाम्रो घरमा काउली भन्थेम । म चैँ काउली भनेसी हुरुक्कै । जती खाए नि पुग्यो नभन्ने ।
हाम्रो बारीमा मम्मी काउली लगाउनुहुन्थ्यो । बारीमा काउलीको बोट कम हुंदै जांदा पिर भने तरकारीको ब्यबस्था गर्ने ममिलाई भन्दा नि काउलीप्रेमी मलाई समेत पर्थ्यो । सानो बेला मेरो तोते बोली थियाे । मलाई काउली मन पर्छ भन्ने पनि हाम्रो छिमेकमा चर्चा र रमाइलोको बिषय थियाे । बुद्दिसागर ठुलोबुवा मलाई जिस्काउनुहुन्थ्याे संधै ।
नानी, तरकारी के खायौ?
म : ताउली ।
उहां : ए हाे र, मलाइ पनि ताउली मन पर्छ । मलाई नि ताउली देउ न । तिम्रो आमाले त कस्तो राम्रो ताउली बनाउनुहुन्छ ।
म : आफ्नै ताउली थाउ ।
उहां: हाम्रोमा त छैन । तिमी देउ न ।
म : भये थाउ, नभये नथाउ ।
एक पटक एस्तो संवाद भएपछी उहांलाई झनै रमाइलो लाग्ने रहेछ । अनी भेट्नेबित्तिकै, 'तरकारी के खायौ' भनेर सोध्नुहुन्थ्यो । म उस्तै पारले जवाफ दिन्थे, अन्त्य हाम्रो उस्तै हुन्थ्यो 'भये थाउ नभये नथाउ' । अहिलेसम्म नि उहां भेट्दा सबै खबर सोधेर अन्तिममा 'ताउलीको तरकारी, भये थाउ, नभये नथाउ' भन्नुहुन्छ ।
काउलीसङैको अर्को प्रसँग हामी काउलीको फुललाई काउलीको बुटा भन्थेम । खानामा के थप्ने भन्दा 'बुटा' भन्दै थप्थेम । एक दिन ममी खाना बनाएर बारीमा जानुभएछ काम गर्न । शनिबार हुनुपर्छ, तरकारी त उही बेस्ट काउलिको पाकेको रहेछ । म गएर एक एक बुटो काउली निकालेर खाएं । एक पटक, दुई पटक हैन धेरै पटक । अन्तिममा काउली र अालुकाे तरकारी त केवल आलुको तरकारी भएछ । तरकारीमा भएकाे काउलीकाे सबै फुल त मैले पो सक्काएछु । पछि सबैले खाना खाने बेला त तरकारी आलुको मात्र रह्यो ।

Saturday, August 26, 2017

जीवन र यात्रा

आकाशबाट तारा झरेसरी
जहाज झरेर,
नदिमा चप्पल खसेसरी,
बस खसेर ।

सिन्डिकेट्ले,
मदिराले, ओभरटेकले,
सिल्ली मिस्टेकले
सकिन्छन् कैयौं जीवन ।

प्रत्येक दुर्घटना पछि
गरिने यात्रामा,
उत्सुकताको मात्रा कम,
डरको मात्रा बढि हुन्छ ।

यी सबैका बाबजुद,
जिन्दगी नै यात्रा हो आखिर,
यात्रा गर्नु त छदैछ,
जसरी पनि ।

Sunday, August 20, 2017

थाईकट कपाल

सानो बेला छिमेकी दाईले भन्यो, 'बुझिस्, मेरो बा क्या आधुनिक, त्यो बेला नि आमाको कपाल थाई कट कपाल काट्देका ।'

थाईकट कपाल त्यो बेलाको फेशन थियो । आफुलाई नि थाईकट कपाल बनाउन कम रहर त लाको थिएन । आमालाई कपाल काट्ने कुरा गर्दा जहिले ' हुँदैन' मात्र भन्ने । उहांलाई मनाउन पनि यो कुरा सहायक सिद्द होला जस्तो लाग्यो । दगुर्दै आमा भाको ठाउँमा पुगेर एक शासमा सबै कुरा भनें ।

आमाले भन्नुभयो, 'त्यस्तो हैन छोरी । कुरोको चुरो अर्कै छ । ठुलोबुवाले रिसको झोकमा दिदी (तेरी ठुलिआमै) लाई अांसी (हंसिया) ले  घांटिको पछाडि हान्नुभएको हो, अनी ठुलिआमैको चुल्ठो काटिएको हो । उहांको घांटिको पछाडि अझै पनि दाग छ । बास्तबिकता एकतिर, ब्याखा एकतिर ।'

दिमागमा अांसी लिएका ठुलोबाको अनुहार फनफनी नाच्यो । चिटचिट पसिना छुट्यो ।

Friday, August 11, 2017

#IAmWithDrKC

एक यात्री निस्केथ्यो एक्लै एक्लै,
बसेथ्यो कैयौ पटक उ भोक भोकै,
हर पटक दिलाईएको थियो आश्वासन ।
त्यो बेला सोच्थ्यो उ, शायद यो नै होस् अन्तिम अन्सन ।


सहमतीको मसी सुक्नु अगावै
साशक नियम मिचिरह्यो,
जनताको स्वास्थ्यमा खेलवाड गरिरह्यो,
उ फेरी चुपचाप एक्लो प्रयासमा लागिरह्यो ।

साथमा कोहि होस नहोस
सोचेन उस्ले आफुलाई निम्छरो र एक्लै
तयार भयो पु:न बस्न भोकै
छाड्न मानेन अडान पटक्कै ।


जिबन समर्पित सेवाको लागि
'हट्ने हैन डटि लड्ने' भईसक्यो बानी,
उसको अनसन, अर्थात भन्सुनवाला
माफिया र शाशकको लागि हैरानी ।


माफिया सोच्दा हुन, डा गोबिन्द गल्दैछ,
उनिहरुलाई के थाहा, झुट्को खेती अब ढल्दैछ ।
गोबिन्द के सि को अगुवाईमा
सत्यको पक्षमा भ्रष्टाचार बिरुद्द जनता लड्दैछ ।

न लोभ न इर्श्या, न कुनै क्षोभ
अटल छ उ टाकुरा,
बेईमान र घुशखोरी बिच
उम्रेको निश्ठाको कलिलो आंकुरा ।

#IAmWithDrKC

Tuesday, August 8, 2017

वालेट

कोठामा ताला लगाउँदै गर्दा घडी हेरेँ । आज पनि ९:२० भइसकेछ । यसोउसो गर्यो, छिटो गरी निस्किऊँ भन्यो, जहिलेको उही ताल । जिन्दगी रुटिनको अर्को नाम भएको छ मेरो हकमा । कोठाबाट निस्केर बस स्टेसनतिर हानिएँ । एउटा बस रोकिइराखेको थियो । सबैलाई थाहा छ 'बस भन्ने कुरा एउटा छुटे अर्को आउँछ ।' अफिसको एकाउन्टेन्ट त प्रेमको मामलामा पनि यसै भन्थ्यो : 'एउटीले नपत्याए अर्की आउँछे ।' तर, भेटिएको पहिलो सवारी चढ्ने रहर कसलाई हुन्न र ? सायद प्रेमको मामला पनि यस्तै हुन्छ ।
औसत गतिको खुट्टामा गियर बढ्यो । तर, म पुगुन्जेल गाडीले भने स्टेसन छोडिसकेको थियो । 'अब अर्की आउली नि । आजको हकमा फ्रस्ट लभ फ्रस्ट म्यारिज नहुन लेखेछ ।' एकाउन्टेन्ट भाइलाई सम्झेर हाँसे ।
पोखराको व्यस्त सडकमा छु म । १५,१५ मिनेटमा आउँछन् नगरबस । जीवनका लागि १५ मिनेट त केही पनि होइन । तर, अफिस जाने समयको अगाडि १५ मिनेट एउटा न्यायाधीशजस्तै हो । यसैले तय गर्दिन्छ धेरै कुरा : आजको ब्रेकफास्ट घरमै खाने या अफिसमा । आज अफिस बसमा जाने या ट्याक्सीमा । क्याजुअलमा जाने कि फर्मलमा ।
'महेन्द्रपुल, नदीपुर, बगर ।' 'महेन्द्रपुल, नदीपुर, बगर ।'
'ओ भाइ, गैह्रापाटन जान्छ ? '
'गइहाल्छ नि, ल ल चढिहाल्नुस् ...।'
हाफपेन्ट, स्यान्डो भेस्टमाथि गम्छा झुन्ड्याएको र कालो चस्मा लगाएको करिब १५-१६ वर्षको कन्डक्टर भाइ बसमात्रै होइन प्यासेन्जरलाई पनि कन्डक्ट गर्दै थियो ।
म गाडी चढेँ । सबै सिट प्याक थियो । डन्डी समातेर उभिएँ । अपांग सिटमा मुन्द्रे केटो बस्नु वा महिला सिटमा अधिकारवादी अधबैंसे पत्रिका पढेर बस्नु रोजाना किस्सा हुन् । यस्ता सामान्य कुराले मेरो खासै ध्यान तान्न छोडिसकेका छन् अचेल । चलेको चलनलाई चल्न दिनु नै बेस् । टेन्सन लिनुभन्दा ।
आज भने महिलाको सिटमा एउटा विद्यार्थी केटो थियो । कानमा ठेडी कोचेर मोबाइलमा के-के चलाउँदै थियो । आधी बाहुला खैंचेर नाडीको ट्याटु देखाउने उसको तरिका पनि गजबकै थियो ।
गाडी रोकियो । सायद पृथ्वीचोकको अलिक वरतिर हुनुपर्छ । दुई तीनजना चढे । कन्डक्टरको निगरानीमा परेको रहेछु म । झर्किएर भन्यो : 'ओ दिदी अल्ली पछाडि सर्नु त । अझै अल्ली ।'
'कहाँ सर्नु, म यहीँ ठीक छु । यहीँ गैह्रापाटन ओर्लने हो ।'
'धेरै नबोली सर्नु त दिदी । फेरि धकेल्यो भने छोयो भन्नुहोला ।'
रिस, खिस्सी र हाँसोको एकधर्के रेखा तान्यो उसले आफ्नो दाँतको लहरमा ।
नहाँस्नुपर्ने हो तर कुन्नि किन हो फिस्स हाँसेँ म । उसले 'छोयो भने धकेल्यो भन्नुहोला' भनेको पनि हुन सक्छ नि । समाज यस्तै छ । नछोइकनै धकेल्ने तरिका पनि त छैन । यहाँ छुनु भनेकै धकेल्नु हुन्छ नेपाली महिलाका मामिलामा । सोचेँ, चित्त बुझाएँ । सार्वजनिक यातायातभित्र बसेपछि यस्ता चित्त बुझाउनुपर्ने कुरा आइरहन्छन् ।
गाडी हुइँकियो । कन्डक्टर भाइ रवाफले पैसा उठाउनतिर लाग्यो । 'ल ल, भाडा ठीक पारौं । पैसा आखिर तिर्नैपर्छ । थाहा छ नि सबैलाई । बस चढ्नुअघि नै हातमा पैसा ठिक्क पारे कसको बाजेको के बिग्रिन्थ्यो र !' आइडिया नराम्रो होइन केटोको । उमेर र ठाउँअनुसार मान्छेले आफ्नो सिर्जनात्मकता देखाउने त हो नि ।
कलेज पढ्ने एक किशोरीले सिक्कासहित परिचयपत्र ऊतर्फ तेर्साइन् ।
'विजयलाई चानचुन पैसामा कारोबार मन पर्दैन । तर ठीकै छ ।' कन्डक्टर केटो अलि बढी नै बोल्दो रै'छ । तर, फरासिलो रै'छ ।'सिक्का भए नि, पैसा पैसा हो क्यारे । धेरै जान्ने नहोऊ है भाइ ।' छात्रा बोलिन् ।
'क्याम्पस पढेको भनेर लेक्चर दिने हैन नि दिदी । चार कक्षा त विजयले पनि पढेको छ त ।'
ऊ त अझ टसमस भएन । बोलीपिच्छे विजय भनेर मिसाउन ऊ भुल्दैनथ्यो । आफ्नो नामप्रतिको गर्वबोध हो या सिनेमाको प्रभाव ? छुट्याउन मुस्किल थियो ।
'धेरै कचकच नगर भाइ । खुरुक्क आफ्नो काम गर ।'
'कत्ति न, उसले नै काममा राखेको जस्तो । ल गर्दिनँ काम, के गर्छौ ? '
केटोको फरासिलोपनाले बिस्तारै ज्यादतीको रुप लिँदै थियो । छेउको सिटमा बसेकी वृद्ध महिलाले 'नबोल' भनेर इसारा गरिन् । छात्रा बोल्न छाडिनँ । तर, उनको गाँजलले ढाकेको आँखामा रिसको कालो अवशेष जिउँका तिउँ देखिन्थ्यो ।
कन्डक्टर केटो अघि बढ्यो । सिटमा एउटी आमा थिइन् । उनको काखमा एउटा बच्चा थियो । अर्को बच्चा भने सिटमा थियो ।
'दिदी, यो पनि तपाईंकै सन्तान हो ? '
'ल उसको सहित भाडा दिनुस् त ।'
'तीन वर्षको बच्चाको पैसा त तिर्न पर्दैन नि ।'
'सिटमा राखेपछि त पर्यो नि दिदी ।'
नयाँ नियम सुनेँ मैले । बसभित्र यस्ता नियम कानुनहरू बनिराख्छन् । 'कुनै दिन सिटमा बस्नेले विद्यार्थी सहुलियत नपाउने कानुन चल्न बेर छैन । चले पनि म विद्यार्थी होइन क्यारे ।' मैले सोचेँ ।
'तिम्रो मुख साह्र्रै चल्दोरैछ भाइ, धेरै कचकच नगर है भन्द्या छु ।'
'मुखमात्र हैन हात पनि चल्छ । ल त विजयलाई कसले के गर्छ ? 'थप अराजक बन्दै थियो ऊ । यसपालि अर्की महिलालाई ठेल्दै पछाडि आउँदैथियो । गाडी विस्तारै गुड्दै थियो । लाग्थ्यो, गाडी गुडैको छैन, मान्छेको गतिमा केबल हिँड्दैछ । गाडी पृथ्वीचोक पुगेर रोकियो । थप यात्रु कोचेर गाडी उही सुस्त गतिमा गुड्यो ।
 गाडी चढेँ । सबै सिट प्याक थियो । डन्डी समातेर उभिएँ । अपांग सिटमा मुन्द्रे केटो बस्नु वा महिला सिटमा अधिकारवादी अधबैंसे पत्रिका पढेर बस्नु रोजाना किस्सा हुन् । यस्ता सामान्य कुराले मेरो खासै ध्यान तान्न छोडिसकेका छन् ।मीरा ढकाल
यत्तिकैमा विजय मछेउ आइपुग्यो । म उसको अरूसँगको बातचितले आजित थिएँ, हत्तपत्त वालेट छामेँ । अहँ भेटिएन । पाइन्टको पकेटमा हात पुर्याएँ, पैसा त्यहाँ पनि थिएन । सर्टको गोजीमा हेरेँ, भेट्टाएँ त केबल केही टुक्रा सामान्य कागजमात्र । आफूलाई सकभर सम्हाल्ने प्रयास गरेँ र भनेँ, 'हेर न भाइ, मैलै आज पर्स बिर्सेंछु ।'
'ओहो ! विजयको कानले के सुन्दैछ ? गाडी चढेर पैसा छैन रे । जाबो १५ रुपैयाँ पनि छैन ? ' उसले स्टाइलिस धम्की दियो ।
'आज बिर्सेंछु ।''बडो गज्जप हजुर । १५ रुपैयाँ नहुनेले गाडी चैँ किन चढ्नु नि ? ', उसले फेरि थप्यो, 'तिमी पर्स बिर्स कि जेसुकै । मलाई मतलब छैन, खुरुक्क पैसा निकाल ।'यस्तो फुच्चे 'तपाईं'बाट सीधै 'तिमी'मा झरेकोमा अचम्म परेको थिएँ ।
'भनेँ नि भाइ, पर्स बिर्सेंछ । भोलि अफिस आउने बेला आजको पैसा नि दिम्ला बरु । साँच्चै भनेको हो।''तिम्रो बाको गाडी हो र ? तिमीलाई अन्दाज पनि छ, यस्तो गाडीको कति पर्छ ? समाजसेवा गर्न गाडी किन्या हो ? गाडीमा सित्तैमा हिँड्न पाइन्छ भन्ने ठानेको ? पैसा दिने भए देऊ, नभए खुरुक्क झर्ने, हात पात गर्न नपरोस् ।'
ऊ अझ फतफताउँदै थियो, ... 'कस्ता कस्ता मान्छे आउँछन् । लिपिस्टिक पाउडर लाउँछन् तर पैसा तिर्न यत्रो गनगन ।''भाइ बेइज्जत गर्न आवश्यक छैन । ठग्न खोजेको होइन । पर्स नै बिर्सेपछि के गर्ने त । गाडी रोक म झर्छु ।' मलाई पनि रिस उठ्यो ।'पैसा नभै गाडी चढ्ने, उल्टो ठूलो स्वर गर्ने ? गुरुजी गाडी रोकम् त ।' केटो पनि रन्कियो । मैले वास्ता गरिनँ । ओर्लें ।
बाहिर टन्टलापुर घाम लागिरहेको थियो । घडी हेरेँ, १० बज्न १० मिनेटमात्र बाँकी थियो । हिँड्दै गर्दा कोही भेटियोस् भन्ने चाहेँ । आफूलाई चाहिनेबेला को पो भेटिन्थ्यो र ? चार किलोमिटर हिँड्न पनि झन्डै २५ मिनेट लाग्यो । अफिस पुग्दा म थकित थिएँ ।
'मिस हिँडेर आउनुभयो ? '
'अँ'
'सरला मिसलाई स्कुटर किन्नुभन्दा सुन्नुहुन्न । के विचार छ र हो ? भाडाको पैसा जोगाएर गाडी किन्ने योजना बुन्नुभयो कि क्या हो ? ' सञ्जय गलल्ल हाँस्यो ।
'जागिरले खान पुग्दैन, कहाँ गाडी किन्नु ? '
'छोरी मान्छेलाई पनि के-को समस्या हुन्छ र हो ? ' सञ्जयको बुद्धि पोखियो । ऊ अझै खित्खिताउँदै थियो ।
जवाफ दिनु ठीक ठानिनँ । म सिँढी चढेँ । घाममा हिँडेर आएकाले थकान त महसुस भएको थियो नै । सञ्जयले खिल्ली उडाएकाले मलाई भाउन्न छुट्दै थियो । सिँढीको प्रत्येक उकालोमा मलाई आफ्नै जीउ झनै बोझिलो लाग्दैथियो । सञ्जयप्रति म अझ मुर्मुरिँदै थिएँ, 'खुब हिरो हुनुपर्ने, कसैको नभाको बाइक, कत्ति न बाइक चढ्ने भाकोले सान देखाको होला !'
आफ्नो कुर्सीमा बसेँ ।
'टुइँय..'
भर्खरै दाहिने हातको बूढीऔंलाले थिचेको यूपीएस करायो । दायाँतर्फको सीपीयूको बटन थिचेँ । टिक्टिक् आवाज निकाल्दै चल्न थाल्यो ।
'कवाडीमा बेच्ने भइसकेको छ यो कम्प्युटर भनाउँदो जात पनि ।'
बिहानदेखिको रिसलाई मत्थर पार्न प्रयास गर्दै थिएँ । चल्न सुरु हुन पनि पाँच मिनेटमात्र लगाउने कम्प्युटरलाई लात्ता बजाइदिम् जस्तो भयो ।
डेस्कटप नखुलुन्जेल पत्रिका उठाएँ । टेबलमा हुन्छ प्राय: । नानो कारको विज्ञापन थियो । जम्मा एक लाख भारुमा नै आउने रहेछ भारतमा । तर, नेपालमा आउँदा त करिब नौ लाख पर्दो रै'छ । मनमनै हिसाब लगाएँ । मेरो २५ हजारको तलबले । पूरा तलबले गुणा गर्दा पनि ३ वर्ष पो लाग्दोरहेछ । धत ! पूरा पैसाको हिसाबले त कहाँ हुन्छ ? जति बचत गर्न सकिन्छ, त्यसको आधारमा हिसाब गर्नुपर्यो ।
सहकारीमा सदस्य भएदेखि महिनाको पाँच हजार बचत गर्न थालेकी हुँ मैले । नत्र त पहिला त्यही पनि हुन्थेन । यो बचतको आधारमा पनि नानो किन्न लाग्दोरहेछ १५ वर्ष । के बिनासित्तीको हिसाब गर्नुजस्तो लाग्यो ।
फोनको घन्टी बज्यो । उठाएँ । हाकिमको रहेछ ।
'ल सरलाजी, तयार भएर बस्नुस् । गाडी हेर्न जानुपर्ने भयो', हाकिमले आदेश पस्के । कार्यालयको लागि गाडी लिने सिलसिलामा आज हेर्न जाने कुरा थियो, मैले बल्ल पो सम्झिएँ ।
अफिसको पुरानो गाडी चढेर सोरुम पुगियो ।
'चिसो लिने कि तातो सर ? ' मार्केटिङको अफिसरले आतिथ्यता टक्र्यायो ।
'भर्खरै खाना खा'को । केही नलिऊँ भो ।' मैले अनिच्छा जताएँ ।
'विजयको सोरुममा आएर त्यसै जान कहाँ पाइन्छ मेडम । केही त लिनैपर्छ । ल चिसो नै मगाएँ है ? '
कस्तो कन्डक्टरकै नाम गरेको कर्मचारी रहेछ ! बानी पनि त उस्तै । म छक्क पर्नुपर्ने हो । तर, परिनँ । मान्छेका नाम जुध्नु मान्छे जुध्नु होइन । त्यसमाथि म गाडी किन्न आएको मान्छे हो अहिले । पर्स बिर्सेर नगरबसबाट ओर्लेको मान्छे हो र ?
'तीनवटा स्प्राइट छिटो ल्याइदेऊ ।' ऊ फोनमा भन्दै थियो ।
चिसो लिँदै गर्दा ऊ मकैको फूल उठेझैं भररर गाडीको गुनगान गाउँदै थियो । हाकिम टाउको हल्लाउँदै जिज्ञासु मुद्रामा सुन्दै थिए । म भने कुनै अर्कै दुनियाँमा हराइरहेको थिएँ ।
टेस्ट ड्राइभ जाने निधो भएछ । हाकिमको पछि लाग्दै म पनि गाडी चढेँ ।
'विजय भएपछि के-को चिन्ता सर ? हेरिहाल्छु नि म ।' केटोले ढोका ढ्याप्दै भन्यो ।
'२१०० सीसी हो । अठार जति दिन्छ माइलेज । इन्डियन गाडी हो, पार्ट्स् जहाँ भन्यो त्यहीँ पाउँछ । यसरी बुझ्नुस, जुनजुन ठाउँमा म:म पाइन्छ, त्यहाँ यो गाडीको पार्ट पक्कै पाइन्छ । हा हा ।' ऊ हाँस्यो। बिल्कुल कन्डक्टर जस्तै लाग्दै थियो मलाई ।
हाकिमको हाँसोको फोहोरा छुट्यो । यद्यपि ऊ अझ बोल्दै थियो, 'यो त ए-वन गाडी हो, चाहे मेची जानुस् वा मुस्ताङ । गाडी त सरर्र हुइँकिन्छ । अनि यसको विशेषता के भने, यसको एकदमै राम्रो क्लियरेन्स छ सर । जापानिज गाडीलाई टक्कर दिने यही त हो नि अहिले ।'
'मलाई त गाडी मन पर्यो, तपार्इंलाई कस्तो लाग्यो, सरलाजी ? ' हाकिमले मतिर प्रश्न लक्षित गरे ।
'पर्स घरमै भुलेछु, भोलि दिन्छु है भाइ भाडा ।' अचानक चिप्लिएछ मेरो बोली ।
हाँसोको फोहोरा छुट्यो ।
'तपाईं हामीमा के छ र ? भोलि नै दिनुस् न त । तपाईं भन्नुहुन्छ भने तपाईंको भाडा मिनाहा गरिदिन पनि विजय मञ्जुर छ ।' मार्केटिङ अफिसरले विजयभावमा बोल्यो र मेरो कथा सकिदियो ।
शनिवार, चैत १९, २०७३ 'अन्नपूर्ण पोस्ट', फुर्सद मा प्रकाशित
http://www.annapurnapost.com/news/67888