Tuesday, August 8, 2017

वालेट

कोठामा ताला लगाउँदै गर्दा घडी हेरेँ । आज पनि ९:२० भइसकेछ । यसोउसो गर्यो, छिटो गरी निस्किऊँ भन्यो, जहिलेको उही ताल । जिन्दगी रुटिनको अर्को नाम भएको छ मेरो हकमा । कोठाबाट निस्केर बस स्टेसनतिर हानिएँ । एउटा बस रोकिइराखेको थियो । सबैलाई थाहा छ 'बस भन्ने कुरा एउटा छुटे अर्को आउँछ ।' अफिसको एकाउन्टेन्ट त प्रेमको मामलामा पनि यसै भन्थ्यो : 'एउटीले नपत्याए अर्की आउँछे ।' तर, भेटिएको पहिलो सवारी चढ्ने रहर कसलाई हुन्न र ? सायद प्रेमको मामला पनि यस्तै हुन्छ ।
औसत गतिको खुट्टामा गियर बढ्यो । तर, म पुगुन्जेल गाडीले भने स्टेसन छोडिसकेको थियो । 'अब अर्की आउली नि । आजको हकमा फ्रस्ट लभ फ्रस्ट म्यारिज नहुन लेखेछ ।' एकाउन्टेन्ट भाइलाई सम्झेर हाँसे ।
पोखराको व्यस्त सडकमा छु म । १५,१५ मिनेटमा आउँछन् नगरबस । जीवनका लागि १५ मिनेट त केही पनि होइन । तर, अफिस जाने समयको अगाडि १५ मिनेट एउटा न्यायाधीशजस्तै हो । यसैले तय गर्दिन्छ धेरै कुरा : आजको ब्रेकफास्ट घरमै खाने या अफिसमा । आज अफिस बसमा जाने या ट्याक्सीमा । क्याजुअलमा जाने कि फर्मलमा ।
'महेन्द्रपुल, नदीपुर, बगर ।' 'महेन्द्रपुल, नदीपुर, बगर ।'
'ओ भाइ, गैह्रापाटन जान्छ ? '
'गइहाल्छ नि, ल ल चढिहाल्नुस् ...।'
हाफपेन्ट, स्यान्डो भेस्टमाथि गम्छा झुन्ड्याएको र कालो चस्मा लगाएको करिब १५-१६ वर्षको कन्डक्टर भाइ बसमात्रै होइन प्यासेन्जरलाई पनि कन्डक्ट गर्दै थियो ।
म गाडी चढेँ । सबै सिट प्याक थियो । डन्डी समातेर उभिएँ । अपांग सिटमा मुन्द्रे केटो बस्नु वा महिला सिटमा अधिकारवादी अधबैंसे पत्रिका पढेर बस्नु रोजाना किस्सा हुन् । यस्ता सामान्य कुराले मेरो खासै ध्यान तान्न छोडिसकेका छन् अचेल । चलेको चलनलाई चल्न दिनु नै बेस् । टेन्सन लिनुभन्दा ।
आज भने महिलाको सिटमा एउटा विद्यार्थी केटो थियो । कानमा ठेडी कोचेर मोबाइलमा के-के चलाउँदै थियो । आधी बाहुला खैंचेर नाडीको ट्याटु देखाउने उसको तरिका पनि गजबकै थियो ।
गाडी रोकियो । सायद पृथ्वीचोकको अलिक वरतिर हुनुपर्छ । दुई तीनजना चढे । कन्डक्टरको निगरानीमा परेको रहेछु म । झर्किएर भन्यो : 'ओ दिदी अल्ली पछाडि सर्नु त । अझै अल्ली ।'
'कहाँ सर्नु, म यहीँ ठीक छु । यहीँ गैह्रापाटन ओर्लने हो ।'
'धेरै नबोली सर्नु त दिदी । फेरि धकेल्यो भने छोयो भन्नुहोला ।'
रिस, खिस्सी र हाँसोको एकधर्के रेखा तान्यो उसले आफ्नो दाँतको लहरमा ।
नहाँस्नुपर्ने हो तर कुन्नि किन हो फिस्स हाँसेँ म । उसले 'छोयो भने धकेल्यो भन्नुहोला' भनेको पनि हुन सक्छ नि । समाज यस्तै छ । नछोइकनै धकेल्ने तरिका पनि त छैन । यहाँ छुनु भनेकै धकेल्नु हुन्छ नेपाली महिलाका मामिलामा । सोचेँ, चित्त बुझाएँ । सार्वजनिक यातायातभित्र बसेपछि यस्ता चित्त बुझाउनुपर्ने कुरा आइरहन्छन् ।
गाडी हुइँकियो । कन्डक्टर भाइ रवाफले पैसा उठाउनतिर लाग्यो । 'ल ल, भाडा ठीक पारौं । पैसा आखिर तिर्नैपर्छ । थाहा छ नि सबैलाई । बस चढ्नुअघि नै हातमा पैसा ठिक्क पारे कसको बाजेको के बिग्रिन्थ्यो र !' आइडिया नराम्रो होइन केटोको । उमेर र ठाउँअनुसार मान्छेले आफ्नो सिर्जनात्मकता देखाउने त हो नि ।
कलेज पढ्ने एक किशोरीले सिक्कासहित परिचयपत्र ऊतर्फ तेर्साइन् ।
'विजयलाई चानचुन पैसामा कारोबार मन पर्दैन । तर ठीकै छ ।' कन्डक्टर केटो अलि बढी नै बोल्दो रै'छ । तर, फरासिलो रै'छ ।'सिक्का भए नि, पैसा पैसा हो क्यारे । धेरै जान्ने नहोऊ है भाइ ।' छात्रा बोलिन् ।
'क्याम्पस पढेको भनेर लेक्चर दिने हैन नि दिदी । चार कक्षा त विजयले पनि पढेको छ त ।'
ऊ त अझ टसमस भएन । बोलीपिच्छे विजय भनेर मिसाउन ऊ भुल्दैनथ्यो । आफ्नो नामप्रतिको गर्वबोध हो या सिनेमाको प्रभाव ? छुट्याउन मुस्किल थियो ।
'धेरै कचकच नगर भाइ । खुरुक्क आफ्नो काम गर ।'
'कत्ति न, उसले नै काममा राखेको जस्तो । ल गर्दिनँ काम, के गर्छौ ? '
केटोको फरासिलोपनाले बिस्तारै ज्यादतीको रुप लिँदै थियो । छेउको सिटमा बसेकी वृद्ध महिलाले 'नबोल' भनेर इसारा गरिन् । छात्रा बोल्न छाडिनँ । तर, उनको गाँजलले ढाकेको आँखामा रिसको कालो अवशेष जिउँका तिउँ देखिन्थ्यो ।
कन्डक्टर केटो अघि बढ्यो । सिटमा एउटी आमा थिइन् । उनको काखमा एउटा बच्चा थियो । अर्को बच्चा भने सिटमा थियो ।
'दिदी, यो पनि तपाईंकै सन्तान हो ? '
'ल उसको सहित भाडा दिनुस् त ।'
'तीन वर्षको बच्चाको पैसा त तिर्न पर्दैन नि ।'
'सिटमा राखेपछि त पर्यो नि दिदी ।'
नयाँ नियम सुनेँ मैले । बसभित्र यस्ता नियम कानुनहरू बनिराख्छन् । 'कुनै दिन सिटमा बस्नेले विद्यार्थी सहुलियत नपाउने कानुन चल्न बेर छैन । चले पनि म विद्यार्थी होइन क्यारे ।' मैले सोचेँ ।
'तिम्रो मुख साह्र्रै चल्दोरैछ भाइ, धेरै कचकच नगर है भन्द्या छु ।'
'मुखमात्र हैन हात पनि चल्छ । ल त विजयलाई कसले के गर्छ ? 'थप अराजक बन्दै थियो ऊ । यसपालि अर्की महिलालाई ठेल्दै पछाडि आउँदैथियो । गाडी विस्तारै गुड्दै थियो । लाग्थ्यो, गाडी गुडैको छैन, मान्छेको गतिमा केबल हिँड्दैछ । गाडी पृथ्वीचोक पुगेर रोकियो । थप यात्रु कोचेर गाडी उही सुस्त गतिमा गुड्यो ।
 गाडी चढेँ । सबै सिट प्याक थियो । डन्डी समातेर उभिएँ । अपांग सिटमा मुन्द्रे केटो बस्नु वा महिला सिटमा अधिकारवादी अधबैंसे पत्रिका पढेर बस्नु रोजाना किस्सा हुन् । यस्ता सामान्य कुराले मेरो खासै ध्यान तान्न छोडिसकेका छन् ।मीरा ढकाल
यत्तिकैमा विजय मछेउ आइपुग्यो । म उसको अरूसँगको बातचितले आजित थिएँ, हत्तपत्त वालेट छामेँ । अहँ भेटिएन । पाइन्टको पकेटमा हात पुर्याएँ, पैसा त्यहाँ पनि थिएन । सर्टको गोजीमा हेरेँ, भेट्टाएँ त केबल केही टुक्रा सामान्य कागजमात्र । आफूलाई सकभर सम्हाल्ने प्रयास गरेँ र भनेँ, 'हेर न भाइ, मैलै आज पर्स बिर्सेंछु ।'
'ओहो ! विजयको कानले के सुन्दैछ ? गाडी चढेर पैसा छैन रे । जाबो १५ रुपैयाँ पनि छैन ? ' उसले स्टाइलिस धम्की दियो ।
'आज बिर्सेंछु ।''बडो गज्जप हजुर । १५ रुपैयाँ नहुनेले गाडी चैँ किन चढ्नु नि ? ', उसले फेरि थप्यो, 'तिमी पर्स बिर्स कि जेसुकै । मलाई मतलब छैन, खुरुक्क पैसा निकाल ।'यस्तो फुच्चे 'तपाईं'बाट सीधै 'तिमी'मा झरेकोमा अचम्म परेको थिएँ ।
'भनेँ नि भाइ, पर्स बिर्सेंछ । भोलि अफिस आउने बेला आजको पैसा नि दिम्ला बरु । साँच्चै भनेको हो।''तिम्रो बाको गाडी हो र ? तिमीलाई अन्दाज पनि छ, यस्तो गाडीको कति पर्छ ? समाजसेवा गर्न गाडी किन्या हो ? गाडीमा सित्तैमा हिँड्न पाइन्छ भन्ने ठानेको ? पैसा दिने भए देऊ, नभए खुरुक्क झर्ने, हात पात गर्न नपरोस् ।'
ऊ अझ फतफताउँदै थियो, ... 'कस्ता कस्ता मान्छे आउँछन् । लिपिस्टिक पाउडर लाउँछन् तर पैसा तिर्न यत्रो गनगन ।''भाइ बेइज्जत गर्न आवश्यक छैन । ठग्न खोजेको होइन । पर्स नै बिर्सेपछि के गर्ने त । गाडी रोक म झर्छु ।' मलाई पनि रिस उठ्यो ।'पैसा नभै गाडी चढ्ने, उल्टो ठूलो स्वर गर्ने ? गुरुजी गाडी रोकम् त ।' केटो पनि रन्कियो । मैले वास्ता गरिनँ । ओर्लें ।
बाहिर टन्टलापुर घाम लागिरहेको थियो । घडी हेरेँ, १० बज्न १० मिनेटमात्र बाँकी थियो । हिँड्दै गर्दा कोही भेटियोस् भन्ने चाहेँ । आफूलाई चाहिनेबेला को पो भेटिन्थ्यो र ? चार किलोमिटर हिँड्न पनि झन्डै २५ मिनेट लाग्यो । अफिस पुग्दा म थकित थिएँ ।
'मिस हिँडेर आउनुभयो ? '
'अँ'
'सरला मिसलाई स्कुटर किन्नुभन्दा सुन्नुहुन्न । के विचार छ र हो ? भाडाको पैसा जोगाएर गाडी किन्ने योजना बुन्नुभयो कि क्या हो ? ' सञ्जय गलल्ल हाँस्यो ।
'जागिरले खान पुग्दैन, कहाँ गाडी किन्नु ? '
'छोरी मान्छेलाई पनि के-को समस्या हुन्छ र हो ? ' सञ्जयको बुद्धि पोखियो । ऊ अझै खित्खिताउँदै थियो ।
जवाफ दिनु ठीक ठानिनँ । म सिँढी चढेँ । घाममा हिँडेर आएकाले थकान त महसुस भएको थियो नै । सञ्जयले खिल्ली उडाएकाले मलाई भाउन्न छुट्दै थियो । सिँढीको प्रत्येक उकालोमा मलाई आफ्नै जीउ झनै बोझिलो लाग्दैथियो । सञ्जयप्रति म अझ मुर्मुरिँदै थिएँ, 'खुब हिरो हुनुपर्ने, कसैको नभाको बाइक, कत्ति न बाइक चढ्ने भाकोले सान देखाको होला !'
आफ्नो कुर्सीमा बसेँ ।
'टुइँय..'
भर्खरै दाहिने हातको बूढीऔंलाले थिचेको यूपीएस करायो । दायाँतर्फको सीपीयूको बटन थिचेँ । टिक्टिक् आवाज निकाल्दै चल्न थाल्यो ।
'कवाडीमा बेच्ने भइसकेको छ यो कम्प्युटर भनाउँदो जात पनि ।'
बिहानदेखिको रिसलाई मत्थर पार्न प्रयास गर्दै थिएँ । चल्न सुरु हुन पनि पाँच मिनेटमात्र लगाउने कम्प्युटरलाई लात्ता बजाइदिम् जस्तो भयो ।
डेस्कटप नखुलुन्जेल पत्रिका उठाएँ । टेबलमा हुन्छ प्राय: । नानो कारको विज्ञापन थियो । जम्मा एक लाख भारुमा नै आउने रहेछ भारतमा । तर, नेपालमा आउँदा त करिब नौ लाख पर्दो रै'छ । मनमनै हिसाब लगाएँ । मेरो २५ हजारको तलबले । पूरा तलबले गुणा गर्दा पनि ३ वर्ष पो लाग्दोरहेछ । धत ! पूरा पैसाको हिसाबले त कहाँ हुन्छ ? जति बचत गर्न सकिन्छ, त्यसको आधारमा हिसाब गर्नुपर्यो ।
सहकारीमा सदस्य भएदेखि महिनाको पाँच हजार बचत गर्न थालेकी हुँ मैले । नत्र त पहिला त्यही पनि हुन्थेन । यो बचतको आधारमा पनि नानो किन्न लाग्दोरहेछ १५ वर्ष । के बिनासित्तीको हिसाब गर्नुजस्तो लाग्यो ।
फोनको घन्टी बज्यो । उठाएँ । हाकिमको रहेछ ।
'ल सरलाजी, तयार भएर बस्नुस् । गाडी हेर्न जानुपर्ने भयो', हाकिमले आदेश पस्के । कार्यालयको लागि गाडी लिने सिलसिलामा आज हेर्न जाने कुरा थियो, मैले बल्ल पो सम्झिएँ ।
अफिसको पुरानो गाडी चढेर सोरुम पुगियो ।
'चिसो लिने कि तातो सर ? ' मार्केटिङको अफिसरले आतिथ्यता टक्र्यायो ।
'भर्खरै खाना खा'को । केही नलिऊँ भो ।' मैले अनिच्छा जताएँ ।
'विजयको सोरुममा आएर त्यसै जान कहाँ पाइन्छ मेडम । केही त लिनैपर्छ । ल चिसो नै मगाएँ है ? '
कस्तो कन्डक्टरकै नाम गरेको कर्मचारी रहेछ ! बानी पनि त उस्तै । म छक्क पर्नुपर्ने हो । तर, परिनँ । मान्छेका नाम जुध्नु मान्छे जुध्नु होइन । त्यसमाथि म गाडी किन्न आएको मान्छे हो अहिले । पर्स बिर्सेर नगरबसबाट ओर्लेको मान्छे हो र ?
'तीनवटा स्प्राइट छिटो ल्याइदेऊ ।' ऊ फोनमा भन्दै थियो ।
चिसो लिँदै गर्दा ऊ मकैको फूल उठेझैं भररर गाडीको गुनगान गाउँदै थियो । हाकिम टाउको हल्लाउँदै जिज्ञासु मुद्रामा सुन्दै थिए । म भने कुनै अर्कै दुनियाँमा हराइरहेको थिएँ ।
टेस्ट ड्राइभ जाने निधो भएछ । हाकिमको पछि लाग्दै म पनि गाडी चढेँ ।
'विजय भएपछि के-को चिन्ता सर ? हेरिहाल्छु नि म ।' केटोले ढोका ढ्याप्दै भन्यो ।
'२१०० सीसी हो । अठार जति दिन्छ माइलेज । इन्डियन गाडी हो, पार्ट्स् जहाँ भन्यो त्यहीँ पाउँछ । यसरी बुझ्नुस, जुनजुन ठाउँमा म:म पाइन्छ, त्यहाँ यो गाडीको पार्ट पक्कै पाइन्छ । हा हा ।' ऊ हाँस्यो। बिल्कुल कन्डक्टर जस्तै लाग्दै थियो मलाई ।
हाकिमको हाँसोको फोहोरा छुट्यो । यद्यपि ऊ अझ बोल्दै थियो, 'यो त ए-वन गाडी हो, चाहे मेची जानुस् वा मुस्ताङ । गाडी त सरर्र हुइँकिन्छ । अनि यसको विशेषता के भने, यसको एकदमै राम्रो क्लियरेन्स छ सर । जापानिज गाडीलाई टक्कर दिने यही त हो नि अहिले ।'
'मलाई त गाडी मन पर्यो, तपार्इंलाई कस्तो लाग्यो, सरलाजी ? ' हाकिमले मतिर प्रश्न लक्षित गरे ।
'पर्स घरमै भुलेछु, भोलि दिन्छु है भाइ भाडा ।' अचानक चिप्लिएछ मेरो बोली ।
हाँसोको फोहोरा छुट्यो ।
'तपाईं हामीमा के छ र ? भोलि नै दिनुस् न त । तपाईं भन्नुहुन्छ भने तपाईंको भाडा मिनाहा गरिदिन पनि विजय मञ्जुर छ ।' मार्केटिङ अफिसरले विजयभावमा बोल्यो र मेरो कथा सकिदियो ।
शनिवार, चैत १९, २०७३ 'अन्नपूर्ण पोस्ट', फुर्सद मा प्रकाशित
http://www.annapurnapost.com/news/67888




No comments:

Post a Comment