Sunday, April 21, 2013

समय

मेरो एउटा साथी थियो, स्कुल पढ्दा ताका । खै, किन हो कुन्नी मलाई त उसको स्वभाब, हामी सबैको भन्दा अलिक भिन्न लाग्थ्यो । स्कुल आउन एकदम दिक्क लाग्छ भन्थ्यो उ । स्कुल कसरी नआऊने भनी बहाना बनाउन तल्लिन रहन्थ्यो । त्यसो त, पढाईमा ध्यान नदिएको भनेर उसले धेरै सजाय पाउथ्यो ।  अब सुध्रिन्छु भनेर कसम पनि खान्थ्यो । तर उसको बानी भने जहिले उस्तै । उसको बुवा भारत काम गर्नुहुन्थ्यो । त्यही शिलशिलामा उ पनि केही समय उतै बसेको थियो । त्यसैको असर होला शायद, उ अलिअली हिन्दी मिसाएर पनि बोल्थ्यो । अनी सर वा मिस नआएर कक्षा खाली हुँदा सबैलाई उक्साउदै अन्ताक्षरी खेल्ने बनाउथ्यो ।

फेरी फिल्म भनेपछी हुरुक्क हुन्थ्यो  उ।  फिल्म नै हेर्नको लागि सदरमुकाम जान्थ्यो उ । फिल्म फेरिएको थाहा पाउनासाथ झन्डै  दुई घण्टा हिंडेर सदरमुकामको हल पुग्थ्यो । कहिले त एउटै फिल्म दुई तीन पटक पनि हेर्दोरहेछ, फिल्म फेरियो भनेर पाएको जानकारी गलत परेको बेला । त्यती मात्र कहाँ हो र, उ त अझै कक्षामा फिल्मको कथा भनेर बस्थ्यो । अनी फिल्म कथा सुनाउदा उ आँफै नायक झै गर्थ्यो । कहिले त उ फील्मका नाम मात्रै राखेर कथा पो लेखेर सुनाउथ्यो । साथीहरु माझ् निकै रवाफ देखाऊथ्यो । एक पटक नेपालीको गृहकार्य बुझाउदा उसले त्यही फिल्मको नामैनामले लेखेको कथा भाको कपी परेछ । मिसले उसलाई कत्ती गाली गर्नुभयो । उसकै शैलिमा नेपाली फिल्मकै नामसँग मिलाउदै "त त सार्है बिग्रिस नि बाबु" भन्नुभाको थियो  उहाँले।

हामीलाई धिरेन शाक्य, राजेश हमाल, निखिल उप्रेती सबैलाई चिन्छु भन्न भ्याऊथ्यो उ । अझ कुन नायिका पर्दामा राम्री, कसको नाच राम्रो, को नायक असली नायक, को नाम मात्रैको नायक भनी बखान गरी बस्थ्यो, उ । कहिले त आफुले फिल्म खेल्ने अवसर पाएको तर भूमिका चित्त नबुझेकोले मात्र यहाँ भाको भन्थ्यो । एस्तो सुन्दा साथीहरु जिल्ल पर्दै हेरिरहन्थे उसलाई ।  हाम्रो तिर नजिकै भालुपहाड भन्ने ठाउँ थियो, जहाँ बेलाबेला फिल्मको छायांकन चल्थ्यो । एस्तो भेउ पाउनासाथ उ त्यतैतिर हानिन्थ्यो ।

एक पटक चैतताका हो क्यारे, हावाहुरीको कारणले काम गर्न नसकेर छायांकन अली दिनको लागि लम्बिएछ । उ छायांकन हेर्न भनी जाँदोरहेछ, अनी छायांकन नभएकोले उतै दिनभर बरालिदोरैछ । छायांकन टोलीले त्यो ठाउको काम नसकिन्जेल उ पढ्न स्कुल जानेवाला थिएन । दिनदिनै घरमा आमासँग कसरी जोगिने भनी उसले घोत्लिदै नयाँ जुक्ती निकालेछ । उसलाई थाहा थियो उसको आमाको हातमा घडी थिएन। त्यसो त त्यो बेला अहिलेजस्तो हात हातमा घडी हुँदैनथ्यो पनि । बिहान आमा खाना पकाउदै गर्दा उचित मौकाको खोजिमा रहन्थ्यो, उ, कसरी आमालाई समयको गलत भान पार्ने भनी । आमाले थाहा नपाउने गरी भालुपहाड पुग्ने भनी सोचिबस्थ्यो । अनी आमा खाना पस्किदै गर्दा उसको घरभरिमा भाको समय नाप्ने एउटा मात्रै चिज भित्ते घडीलाई १०:३० बनाउदोरैछ । स्कुल जाने बेला घर्किसक्यो भनेर आमाले स्कुल जान कर गर्नुहुन्नथ्यो, उसलाई त खोज्या जस्तै भयो । आमा घरमा हुन्जेल त उ घरमै बस्दोरैछ । अनी आमा मेलापातको लागि लाग्ना साथ भालुपहाड जादोरहेछ ।

आमा ऊसलाई ढिलो हुन्छ भनी छिटो उठेर खाना पकाउन थाल्नुभयो, तर जहिले ढिलो भईसक्थ्यो । यो शिलशिला धेरै दिनसम्म चलेर उ लगातार धेरै दिन उ स्कुल नगएपछी सोझी आमालाई समेत कताकता शंका पसेछ । यो बिचमा एक हप्ता बितिसकेको हुन्छ । छोराको चाला उहाले पत्ता लगाएपछी उहा उसलाई लिएर सोझै स्कुल पुग्नुभयो । स्कुलमा प्राचार्यलाई सबै कुरा सुनाउनुभयो । त्यसै झन्किने प्राचार्यको रिसको पारो चाढिहाल्यो । उहालाई एकै पटकमा दुइ थरी झोक चल्यो । पहिलो, विद्यार्थीले आमालाई छलेकोमा, दोस्रो झन्डै एक हप्ता बिद्यालय गयल भएकोमा ।

रिसले रातो आँखा पार्दै सरले बेस्मारी चुट्नुभयो । बिचरा, उस्ले कती पिटाइ खाको थियो । सरको छडिसँगै गालीको प्रसाद खाँदै गर्दा उस्का आँखा रसिला हुँदै गये । ठीक बिपरित सरका आँखा चै राता र चम्किला भये । सरको त अनुहार समेत रातो भको थियो, अनी आँखाको नानी कस्तो घुमेको घुमै भाको थिए । तर खै, सरले त कत्ती पनि दया देखाउनुभएन।

पिटाइ सँगै सरले भन्दै हुनुहुन्थ्यो ।

'अब समय घुमाउने कला जानेपछी त उल्टो सुल्टो जता घुमाये नि भयो नि । तिमीलाई एउटा सल्लाह के,  किन समयलाई अगाडि लग्ने, बरु पछाडि लैजाउ हुन्न ? ए बाबु, कहाँ बाट सिक्यौ नी ?
ल, न मलाई पनि सिक्नुछ यस्तो अदभुद कला त !
म गुरु भएर सिकाउन पर्ने त सबै सिकाइसके,  अब आजलाई म तिम्रो गुरु हैन, तिमी मेरो गुरु बन ल।

तिमी सिकाइदेउ है मलाई समयलाई उल्टो घुमाउन । यो विशेष ज्ञान सिक्न म आतुर छु । मलाई नी तिम्रै उमेरमा फर्किने रहर पो लाग्यो । भोली देखी त तिमी र म न गुरु न चेला, हामी त केबल साथी पो । त्यो पनि मिल्ने साथी ।

सर त अझै भन्दै जानुभयो । "क्या गज्जब, सँगै जाम्ला नी फील्म हेर्न, अनी भालुपहाडमा  नायक/नायिका भेट्न । मलाई त नायिका सँग नाच्न नि मन छ । बाबु, आमालाई मात्र किन छल्छस, आइजा त र म छलौं सारा दुनियाँलाई । अनी सुन त, हामीसँगै घडी घुमाम्ला नि, हुन्न र । आइजा मिलेर उल्टो घुमाउँ यो समाज अनि सिंगो समयलाई ।"

Sunday, April 7, 2013

के म बोक्सी बन्न सक्छु ?


के म सफल बन्न सक्छु? के म जीवनमा अगाडी  बढ्न सक्छु? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लीने मेरो मनले आजकाल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा वग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु?

अनी तर्कना गर्न खोज्छु, आखिर बोक्सी वन्न के चाहीन्छ । गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झीँदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गिय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्वल, निरिह महिलाहरुको अनुहार एक पछाडि अर्को गरि आउन थाल्छ । यी सबै गुण, अवगुण म आफुमा हाललाई भेटाउँदीन, तर भविष्यमा कुनै बेला वुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको शिकार भएमा, रोगी वा समाजको लागि निकम्मा सावित भएमा म बोक्सी कहलाउन पनि त सक्छु । बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी वन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालीम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब उ पगरी सँगै आउने घृणा, लाञ्छना, वेइजज्तीको भागीदार स्वत हुन्छीन् । हाम्रो समाज, संस्कार र व्यवहार सदा र्सवदा शक्तिको वरीपरी घुम्ने परिपाटी छ । सामाजीक, पारिवारीक, आर्थीक र  शारीरीक रुपमा शक्ति सम्पन्नको पछाडि समाज अन्धो भक्तीभाव देखाउँछ । भेदभावको दृष्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी विस्तारै अर्को पक्षहरुमा कमजोर र्पादै लान्छौं, दोहोरो र तेहोरो भेदभावको माध्यमबाट। गरिव, वृद्ध, असहाय, विधवा महिलालाई कति तहको यातना हुन्छ, त्यसमाथि हामी  थपिदिन्छौं, मानसीक र शारीरीक यातना । यो कस्तो न्याय हो । धिक्कार छ हामीलाई जसले जानेर नजानेर यसलार्य प्रश्रय दिइराखेको छौं । किन गाउँकी मुखीनी आमै सबैको लागि सम्मानयोग्य हुन्छीन् कहिल्यै बोक्सी हुँदीनन् । हो, यही शक्तीको पूजा गर्ने समाजको कायदाको कारणले ।

आज संचार माध्यम बोक्सीको समाचारले गुञ्चायमान हुँदै गर्दा, पत्रिकाका अंशहरु भरिँदै गर्दा म स्वर्गे भइसक्नुभएकी एक जना हजुरआमालाई सम्झिन्छु । बेलैमा पति गुमाउनुभएकी, छोरा नभएकी, छोरीहरु विहे गरी आ-आफ्नो घरमा पठाइसक्नुभएकी, छोटो कदकी, मुखमा केबल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपीच्छे बोक्सी भन्दै जिस्काएर हैरान गर्ने  केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो ।

हिजो बोक्सी सम्वन्धी लेख पढेकोले होला सायद्, सपनामा मैले उहाँलाई नै देखेँ ।

उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमिले पनि मलाई बोक्सी मान्थ्यौ? भन, के म बोक्सी थिएँ ?'

उहाँलाई उत्तर दिन नपाउँदै म विउँझेछु, यद्यपी यस प्रश्नले मलाई आज लखेट्दै छ ।

मैले मेरो परिवारबाटं बोक्सीले यस्तो गर्छन्, यो बोक्सी हो भन्ने कहिले सुनिन । सबैलाई माया गर्न, सम्मान गर्न नै सिके । त्यही संस्कारले गर्दा होला सायद, न उहाँलाई बोक्सी भने, न उहाँबाट बदलामा गाली खेपे । करिब १७ वर्षपहिले हामी भर्खर नयाँ घर र्सदा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । हाम्रोमा फुल रोप्ने ठाउँ थिएन, डेरामा रोपेको फुलको ठुलो झयाङ थियो, रोप्ने ठाउँ नपाएपछि मेरो आँखा छिमेकी हजुरआमाको जग्गातिर गयो । हजुरआमाकोमा फुल रोप्छु भन्दा आमाले रिसाउनुहोला, भैगो, छोड भन्नुभयो । तर मेरो बालहठ किन पो सम्झौतार् गथ्यो, टन्न माटो सहितको ठुलो फुलको झयाङ लगेर उहाँको मा फुल रोपीदिए । उहाँले त झण्डै २ महिना जस्तो याद नै गर्नुभएनछ । पछि थाहा पाउने दिनमा बेस्सरी कराउनृभयो, मेरो जग्गा कसको भइसकेछ, यहाँ रोपेको फुल मलाई थाहा नहुने अनि के के भन्दै । सबै सुनेर म घरबाट निस्के र भने, हजुरआमा, हाम्रोमा ठाउँ थिएन, उता घरमा हुँदैको फुल छोड्न मन लागेन, मैले रोपेको, हजुरले धेरै फुल चलाउनु, म कहिलेकाँही चलाउला हुन्न भनेर मुस्काए । उहाँले मुस्काउँदै हुन्छ त भन्नुभएन, तर उखेलेर फालीदिनु पनि त भएन । प्रत्येक दिन विहानै त्यही हजुरआमाको बारीको फुल टिपेर मेरा छिमेकीहरु पुजा गर्थे, तर उहाँलाई बोक्सी भन्ने त उनीहरुको बानी नै भाको थिए किन छाड्थे र । मानीसहरु उहाँलाई यतिसम्म घृणा गर्थे, उहाँलाई चिया दिन पनि हिच्किचाउँछे, गोठको छेउ भरसक र्पादैनथे, वस्तु विच्कीन्छन्, दुध घटाउँछन् यस्तै यस्तै भनेर । यो सबै सुन्दा मलाई उहाँको घरमा नै भैँसी छ, त्यसो भए त्यो किन विच्कीन्न, त्यसले सँधै दिनुपर्ने जति नै दुध दिन्छ भन्ने लाग्थ्यो । पछि उहाँ वेस्सरी विरामी पर्नुभयो, त्यही बेला उहाँले भैँसी बेच्नुभयो । हाम्रो घरमा भने ठिक त्यही बेला भैँसी कीन्ने संयोग पर्यो । उहाँले बारीमा भेण्टा लगाउनुभाको थियो, त्यो लटरम्म फलीरहँदा उहाँलाई डाक्टरले भेण्टा कहिले खान हुँदैन भनेछन् । उहाँ एक्लो मान्छे, तरकारी बेचेर पैसा जम्मा पारेको भए पनि त हुन्थ्यो, तर हाम्रो घरमा दिइराख्नुहुन्थ्यो ।

उहाँ बारीमा तरकारी गोड्न प्राय साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्ने बित्तिकै बाबा 'ल, आमालाई दुध खुवाएर मात्र पठाउ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दुध सकिँदा, छिटै भए पनि 'ल, आमा एक छिन है' भनेर आफैँ बाल्टी लिएर दुध दुहुन जानुहुन्थ्यो । उहाँ विरामी भएर थलिरहँदा म उहाँलाई दुृध पुर्याउन जान्थे । हामीलाई छिमेकीले बोक्सीसगं न कति मिल्या हो भने, भैंसी मर्ला, दुध घटाउला पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दुध दिइरह्यो, मर्दा पनि मरेन । उहाँले गोडमेल गरीसकेपछि घाँस निस्कीँदा हाल्दीनुहुन्थ्यो, तर कहिले केहि अनर्थ भएन । मेरो आफ्नै हजुरआमा उहाँको दामली भन्न सुहाउने हुनुहुन्थ्यो, उहाँहरुको कुरा मिल्थ्यो, त्यसैले पनि होला विस्तारै उहाँ हाम्रोमा आइराख्न थाल्नुभयो । सबैले छिछि दुरदुर गर्ने र हाम्रोमा पारिवारीक व्यवहार पाएकोले होला उहाँ निकै बेर वस्नुहुन्थ्यो, हामीलाई निकै माया गर्नुहुन्थ्यो । उहाँसगं नजिकिँदै जाँदा मलाई अरुले घृणा गरेकोले उहाँ नमिठो बोल्नेरैछ, माया गर्नेसगं त उहाँ त्यती नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।

सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केहि भन्न चाहन्छु । अहँ उहाँ बोक्सी हुनुहुन्थेन, बस घृणा र तिरस्कारले रुखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चैँ नरम र सुन्दर थियो । हो, मेरो छिमेकी हजुरआमा हजुर केबल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन । मैले कहिल्यै बोक्सी मानीन हजुरलाई । 

Saturday, January 5, 2013

पर्स


"पर्स... ?"

मैले हराएको पर्सको पुरा बेलिबिस्तार लगाइसक्दा झन्डै ६५ बर्षाक जस्ता देखिने हेराउने बाजेले प्रश्न तेर्साये । 

"हजुर, पर्स हरायो, बा ।"

"तर नानी, के हो पर्स भन्या ? 

"पर्सलाई के भनेर बुझाउनु, म अकमक्क परे । के भनेर बुझौ भनी घोत्लिन खोजे ।  

"अ... पर्स भनेको..."     

म अनकनाउदै गर्दा बाजेले पुन: प्रश्न गरे ।   

"पर्स, के हो फेरी यो पर्सा भन्या ?" 

त्यतिकैमा भित्रबाट मसिनो स्वर निकाल्दै एक जना केटी निस्कीन् ।

"बेग के बुवा ।" 

"ए, बेग । म ति केटीतिर हेर्छु ।" 

"पर्स भनेको सानो बेग हो के बुवा । (बुवाले पर्स मात्रै नबुझ्नु भाको हो दिदी, बेग बुझ्नुहुन्छ)

"ए ए..."

"म उहाको छोरी ।" 

"ए.."(एस्तो बुढो देखिने बाको छोरी त सानै उमेरकी रैछीन्, म हास्छु)     

"नानी, मैले कुरा बुझे । छोटकरिमा भन्नुपर्दा, ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न ।" 

"लौ, बा, के हो त्यस्तो भन्या ?" 

"कुरा सिधा नै त छ नानी ।" 

"मैले त बुझिन, बा, "

"सच्चै नै बुझिनौ त, नानी ?"

"खै, बा.. मलाई त हजुरको कुरा गोलमटोल लाग्यो ।" 

बाजेले अली चर्को स्वर निकाल्दै  भने,

"ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न भनेको नि । कुरा प्रस्ट नै त छ । ..   तिम्रो ग्रहदशा त बलियो छ, तर भेटाउने मान्छे तिमी भन्दा झन जब्बर छ । तर जसले लगेको छ, उस्ले आँफैले दिदैँन भनेको नि । "

"आशा नै मारे भयो त बा ।"

"आशा नै मारिहाल्न परेन, तर खासै आशा पनि रहेन..कुरा त्यही हो, ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न...।"
(कती घुमौरो कुरा गर्न जान्या रैछन)

"ल है त नानी । हेराउनेबाजेले बिट मारिहाले ।"

म हेराउनेबाजेबाट कत्ती पनि प्रभाबित भइन ।
(म  निलो पचासको नोट दिदैँ) .."के गर्नु बा, पैसा जती सप्पै पर्ससंगै गयो ।"
  
बाजेले पैसा राखे । 

झन्डै ४० मिनट हिंडेर खोज्या हेराउने ठाउँ नि नमुना नै परेछ जस्तो लाग्यो । 

मेरा साथीहरुमाझ "ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न" निकै चर्चित भयो ।

- - - - - -

झन्डै एक हप्ता पश्चात ।   

"रिमा सिंह बोल्नुभाको हो?" मोबाइलमा लेन्ड्लाइनबाट आको कलमा एक महिलाको स्वर थियो । 

"हो, म रिमा नै बोलिराछु ।"

"तपाईं कहाँ हुनुहुन्छ?"

"म अफिस छु ।" 

"उद्योग बाणिज्य संघ आउनुहोला, हजुरको पर्स् र कागजात भेटिएको छ, तर पैसा भेटिएन ।"

"म नजिकै हो, तुरुन्तै आउछु ।" 

अफिस देखी नजिकै थियो,उद्योग बाणिज्य संघ । एकैछिनमा पुगे म । रिसेप्सनमा ४ जना कर्मचारी रैछन् । 

"ए, हजुर नै हो रिमा ।"

"हजुर । "

"कसरी भेटियो पर्स् ?

"हाम्रो बैठक कक्षको रेस्टरुममा रैछ । त्यहाको फ्लसबक्सले काम नगरेर बिग्रिएर मिस्त्री बोलाको । दुई वटा पर्स् पो निस्क्यो । अर्को त पुरै कुहिएको रैछ । तपाईंको चै केही भाको थेन ।" 

"अनी मेरो नम्बर ?"
'
"काठमाडौं पोस्ट्को ग्राहक भाको  बिल रैछ, तपाईंको नम्बर त्यस्बाट नै पाको । "

"गज्जब भयो त । मैले त भेटाउने आशा नै मारिसक्याथे । हजुरहरुलाई धेरै धन्यवाद ।  "

पैसा नै नभेटिये पनि,कागजात,परिचय पत्र र एटिएम कार्ड सहित् पर्स् फेला पारेर दिने उद्योग बाणिज्य संघका कर्मचारीप्रति धन्य हुँदै, दंग पर्दै फर्किये ।

धेरै बेरसम्म हेराउने बाजेको अनुहार र बोली दीमागमा घुमिरह्यो ।  

ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न । ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न । 

Monday, November 26, 2012

बिर्सिएको वालेट र नयाँ गाडी


"सत्र रुपैँया नहुने किन गाडी चढ्नु?"

"आज वालेट बिर्सेंछु"

"तिमि वालेट विर्स वा वुलेट, मलाई मतलव छैन, खुरुक्क पैसा निकाल"

"भने नी भाई, वालेट बिर्सेंछु, भोली अफिस आउने बेला आजको पैसा नि दिम्ला"

"तिम्रो ससुराको गाडी हो र ? तिमीलाई अन्दाज पनि छ, यस्तो गाडीको कति पर्छ, समाजसेवा गर्न गाडी किन्या हो? गाडीमा सित्तैमा हिंड्न पौछु भन्ने ठानेको?"

"भोली दिम्ला नि, म जैले यही बाटो जाने न हो, तिमीलाई ठग्ने मेरो नियत हैन ।"

"पैसा दिने भए देउ, नभए खुरुक्क झर्ने, हात पात गर्न नपरोस, कस्ता कस्ता मान्छे आउँछन् । कोट पाइन्ट लाउँछन्, सत्र रुपिँया तिर्ने हैन"

वरीपरी कोही चिनेको छ की भन्दै हेरे, कोही देखिन । म लाजले मुख रातो वनाउँदै गाडीबाट ओर्लिए । 
आज नै हतार गरी हिँडे, आज नै वालेट छोडेछु । घडि हेरे, १० वज्न १० मिनट मात्र बाँकी थियो । हिँड्दै गर्दा कोही भेटियोस् भन्ने चाहेँ, आफुलाई चाहिने वेला को भेटिन्थ्यो  र । वैशाखको टन्टलापुर घाममा ५ किलोमिटर हिँड्न पनि झण्डै ३५ मिनट लाग्यो । अफिस पुग्दा म थकित थिएँ । 

"सर हिँडेर आउनुभयो?"

"अँ"

"वाइक किन्नु भन्दा सुन्नुहुन्न, भाडाको पैसा जोगाएर न्यानो गाडी किन्ने योजना बुन्नुभयो क्या हो सर", सञ्जयले व्यंग्य गर्‍यो । 

"जागिरले खान पुग्द्रैन, कहाँ गाडि किन्नु"

उ गलल्ल हाँस्दै थियो । म सिँढी चढेँ । मलाई उसले उडाएको देखेर रिस उठ्यो । आफु वाइक चढ्ने भाकोले शान देखाको होला भन्ने सोचे । 

टिरिङ टिरिङ ...

टेबलको फोन बज्यो । 

"ल जीवन, तयार भएर बस्नुस्,  गाडी हेर्न जानुपर्ने भयो", हाकिम भन्दै थिए । कार्यालयको लागि गाडि लिने सिलसिलामा आज हेर्न जाने कुरा थियो, मैले वल्ल पो सम्भिए । 

गाडीको शोरुम पुगेम ।  

"चिसो लिने कि तातो सर" सोरुमको कर्मचारीले नमस्ते सँगै आतिथ्यता जनायो । 

"र्भखरै खाना खाको, केहि नलिम"

"हाम्रो शोरुममा आएर त्यसै जानुहुन्न, केहि त लिनैपर्छ, ल चिसो नै मगाएँ"

"तिन वटा स्प्राइट छिटो ल्याइदेउ", उ फोनमा भन्दै थियो । 

चिसो लिँदै गर्दा उ मकैको फुल उठेझैं भररर गाडीको स्पेसीफीकेसन वताउँदै थियो । हाकिम टाउको हल्लाउदै जिज्ञासु मुद्रामा सुन्दै थिए । सोरुमको कर्मचारी वडो ठाँटका साथ गाडीको इतिवृति वताउँदै थियो । म कतै हराइराथे, टेस्ट ड्राइभ जाने निधो भएछ । हाकिमको पछि लाग्दै म पनि गाडि चढे । रित्तो गोजी लिएर लाखौंको गाडी किन्नलाई हेर्न जाँदा मलाई कता कता अफ्ट्यारो लाग्दैथियो ।  

सोरुमको कर्मचारी अझै गाडीको विशेषता वताउँदै थियो । 

"२१०० सि सि हो १०-१२ दिन्छ माइलेज । एकदमै राम्रो क्लियरेन्स छ सर, अहिले यसको माग धान्नै गाह्रो भाछ ।"

"मलाई त गाडि मन पर्‍यो, तपाईलाई कस्तो लाग्यो, जीवनजी" । हाकिमले मतिर प्रश्न लक्षित गरे । 

आफ्नै सोचाईमा डुबेको मैले झस्कीँदै भनेछु, "वालेट घरमै भुलेछु, भोली दिम्ला है पैसा"

हाकिम र शोरुमको कर्मचारी दुवै जना मरीमरी हाँसे ।

"जीवनजीको भाडाको गाडि चढ्ने बानी । टेस्ट ड्राइभ आको पनि भुल्नुभयो, म हाकिम भन्ने पनि भुल्नुभयो, मैले भाडा मागे जस्तो ठान्नुभयो ।" हाकीम भन्दै थिए ।

म लज्जीत मुद्रामा टाउको निहुराएँ । बिहान देखी पटक पटक लज्जित हुँदै गएको हुनाले मलाई कसैको अनुहारमा हेर्ने आँट आएन ।

Tuesday, November 6, 2012

मेरी साथीका साइँलाबा


म र मेरी साथी एक दिन स्कुलमा ।
मः (साथीको निधारको रातो अक्षता तिर हेर्दै) किन टिका लगाकी?
साथी:साँइलाबाले रक्सी खान छोडेकोमा टिका लगाइदिनुभाको ।
अर्को दिन,
मः आज पनि टिका?
साथी: साँइलाबाले आज नि रक्सी खान छाड्ने भनेर टिका र दक्षिणा दिनुभयो, यसले नै खाजा खानुपर्ला ।
पुनश्च अर्को दिन
मः साथीको निधार हेर्दै प्रश्न गर्न तयार हुँदै गर्दा)
साथी: आज पनि साइँलाबाले रक्सी छोड्ने भनेर कसम खाँदै टिका लगाई दक्षिणा दिनुभाछ, अब खाजाको लागि पैसाको चिन्ता छैन ।
म निशव्द  हुन्छु ।

Tuesday, October 30, 2012

बालापन

प्रौढ महिला तीन छोरी साथ सहर्श यात्रारत छन्। गाडी बजारमा रोकिन्छ, कान्छीलाई फलफुल र माइलीलाई टोपी कीन्छीन्, जेठिलाई स्वेटर हेरिन, तर पैसा नपुगेकोले कीनिनन् । आमाले दिदिलाई भनी स्वेटर् हेरेकोले माइलिले टोपी लगाउन मान्दिन । कान्छी दिदिहरुको रिसले खान मान्दिन । आमा सुस्केर काढ्छिन, हुइया । जेठि मन्द मुस्कुराउछे । 

Wednesday, October 10, 2012

तिमी एक आम नागरीक


तिमी असुरक्षीत छौ,
तिमी राजनैतिक दलसगँ असंलग्न जो छौ ।
तिम्रो जिवन मुल्यहीन छ,
तिम्रो मृत्युमा राजमार्ग अबरुद्ध जो हुने छैन ।

तिम्रो मृत्यमा जारी हुनेछैन कुनै प्रेष विज्ञप्ति,
न कुनै दलले व्यक्त गर्नेछ समवेदना, तिम्रो परिवारप्रति ।
न हुनेछ कुनै स्मृतिसभा,
न रोकिनेछ अन्य कुनै सभा ।

तिमी हुनेछैनौ शहिद,
जीवनभरी तीमीले पार्टीको झण्डा जो ओढेनौ ।
तिम्रो परिवारले पाउनेछैन रु दश लाख,
तिमी आखीर पार्टीसगं असंलग्न आम नागरीक,
तिमी केबल एक आम नागरीक ।





दौड


थरिथरिका छन् दौडिनेहरु यहाँ,
कोही नामलाई, कोही दामलाई,
एकथरी मामलाई र अर्काथरी एक मुठी सासलाई ।

यतिमा सिमित छैन, दौडिनेको सूचि
कोहि जित्न दौडिन्छन्, कोही जिताउन,
एकथरि अरुलाई हराउनको लागि मात्र दौडमा सामेल हुन्छन् ।

दौडको दौरानमा कोही लड्छन, कोही लडेर उठ्छन्,
सक्नेहरु वेजोडले कुद्छन्, नसक्नेहरु विस्तारै,
कोहि सुस्ताउँछन्, कोहि विसाउँछन् ।

मुल्यवान लाग्दो हो, दौडिनेलाई प्रत्येक दौड,
अनि प्रत्येक हार नमिठो प्रहार,
तर हार पश्चात पनि अविरल चलिरहन्छ दौडरुपी यो जिवन ।

सक्नेहरु दगुर, यो श्रृंखलावद्ध दौडमा,
तर मलाई सामेल हुनुछैन व्यर्थको यस खेलमा,
हुनु छैन मलाई प्रथम वा द्धितिय ।

पाउनुछैन मलाई शान्तवनारुपी पुरस्कार पनि,
म यतिमा नै खुसी छु,
किनकि म आफु भएर वाँच्न चाहन्छु,
म केबल आफु भएर बाँच्न चाहन्छु ।

सुन्छु फेरी बन्द हुने भयो रे

बन्द बन्द मात्रै हैन, ठप्प खाल्को बन्द रे ।
सुन्छु फेरी बन्द हुने भयो रे,

कप्रसाद्ले ठगेर पैसा कमाउन नसकेकोमा बन्द रे,
गबहादुरले बिहान डढेको खाना खान परेकोमा बन्द रे ।

ठुलीले परिक्षामा सामेल नै नभै पास हुनुपर्ने भन्दै बन्द गर्ने रे,
चबहादुरले पेटभरी रक्सी खाएर हल्ला गर्न नपाएकोले बन्द गर्ने रे ।

सबै असन्तुस्ट, रुस्ठहरुले गर्ने एक मात्र खेती भएको छ बन्द,
अनी नेपाल असन्तुस्टी थोपर्ने थलो, बन्दखेतिको प्रयोगशाला ।

जहाँ बन्द सफल पारिदिनको लागि
बिरामी सडकमा मरिदिनुपर्छ ।
किसानको तरकारी सडकभरी छरपस्ट पारिनुपर्छ,
पर्यटन बर्ष २०११ मा “बन्दको लागि संगसंगै” भन्दै बन्दजात्रामा सहभागी भैदिनुपर्छ ।

अहो! बन्द बन्द मात्रै हैन, देश अब ठप्प नै हुने भो रे ।
सुन्छु फेरी बन्द हुने भयो रे ।

थाहा छैन कुन बन्द मोडेल प्रथम हुनेछ,
देश र निम्छरा जनताको जिबिका समेत ठप्प पार्न सकेकोमा ।
थाहा छैन उत्कृष्ट बन्द आयोजकको पुरस्कार कस्ले पाउनेछ,
तोडफोड, आगजनी, हिंशा र अराजकता स्थापित गर्न सकेकोमा ।

त्यसैले त घर घर हो, घर डेरा होइन ।


त्यसैले त घर घर हो, घर डेरा होइन, 
किनकी घरमा महिना नवित्दै,
महिनाको कमाइ हात नपर्दै, विद्यार्थीको घरबाट खर्च नआउँदै
भाडा माग्ने कर्कस आवाज सुनिँदैन ।

डेरा घर होइन, म भन्छु, डेरा डेरा पनि होइन,
डेरा त परदेश जस्तै हो, जहाँ तिम्रो कम र अरुको धेरै चल्छ ।
जहाँ त्रि्रो औकात नै हुँदैन, जहाँ डेराभाडाको मात्र मतलव गरिन्छ ,
मानवीय मुल्य मान्यता होइन भाडा तिर्ने क्षमताको भरमा तिमिलाई हेरिन्छ ।

घर घर नै हो, घर कोठा वा घर डेरा होइन,
घर, जहाँ सफल हुँदा उत्सव मनाइन्छ र असफल हुँदा ढाडस पाइन्छ ।
जहाँ हार्दा, ठिक्क पर्यो कसैले भन्दैन,
जहाँ दुइ थोपा पानी खेर जाँदा कसैले गाली गर्दैन, बाथरुममा लाइन लाग्नुपर्दैन ।

घर घर नै हो, घर कोठा वा घर डेरा होइन,
दिनभरीको थकाईले भुसुक्कै निदाइ बत्ति ननिभाए अर्को दिन अपमानबोध गर्नुपर्दैन ।
कटघरामा उभिनु पर्दैन, ङच्िच दाँत देखिएर “ए निदाएछु” भने मात्रै पुग्छ,
जहाँ, दुख विसाइन्छ, थकाई मेटाइन्छ, अर्को दिन नयाँ उर्जा पैदा गरिन्छ ।

घर जहाँ अपनत्व हुन्छ, न्यानो माया हुन्छ, जहाँ परिवारको छायाँ हुन्छ,
जहाँ त्रि्रो प्रगतिको डाहा गर्ने इष्र्यालु आँखा हुदैँनन् ।
घर प्रत्येक असामान्य पल सामान्य हुन्छ, र प्रत्येक सामान्य पल असामान्य पनि हुन्छ,
त्यसैले त घर घर हो, घर डेरा होइन ।
x