Sunday, April 7, 2013

के म बोक्सी बन्न सक्छु ?


के म सफल बन्न सक्छु? के म जीवनमा अगाडी  बढ्न सक्छु? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लीने मेरो मनले आजकाल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा वग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु?

अनी तर्कना गर्न खोज्छु, आखिर बोक्सी वन्न के चाहीन्छ । गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झीँदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गिय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्वल, निरिह महिलाहरुको अनुहार एक पछाडि अर्को गरि आउन थाल्छ । यी सबै गुण, अवगुण म आफुमा हाललाई भेटाउँदीन, तर भविष्यमा कुनै बेला वुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको शिकार भएमा, रोगी वा समाजको लागि निकम्मा सावित भएमा म बोक्सी कहलाउन पनि त सक्छु । बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी वन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालीम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब उ पगरी सँगै आउने घृणा, लाञ्छना, वेइजज्तीको भागीदार स्वत हुन्छीन् । हाम्रो समाज, संस्कार र व्यवहार सदा र्सवदा शक्तिको वरीपरी घुम्ने परिपाटी छ । सामाजीक, पारिवारीक, आर्थीक र  शारीरीक रुपमा शक्ति सम्पन्नको पछाडि समाज अन्धो भक्तीभाव देखाउँछ । भेदभावको दृष्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी विस्तारै अर्को पक्षहरुमा कमजोर र्पादै लान्छौं, दोहोरो र तेहोरो भेदभावको माध्यमबाट। गरिव, वृद्ध, असहाय, विधवा महिलालाई कति तहको यातना हुन्छ, त्यसमाथि हामी  थपिदिन्छौं, मानसीक र शारीरीक यातना । यो कस्तो न्याय हो । धिक्कार छ हामीलाई जसले जानेर नजानेर यसलार्य प्रश्रय दिइराखेको छौं । किन गाउँकी मुखीनी आमै सबैको लागि सम्मानयोग्य हुन्छीन् कहिल्यै बोक्सी हुँदीनन् । हो, यही शक्तीको पूजा गर्ने समाजको कायदाको कारणले ।

आज संचार माध्यम बोक्सीको समाचारले गुञ्चायमान हुँदै गर्दा, पत्रिकाका अंशहरु भरिँदै गर्दा म स्वर्गे भइसक्नुभएकी एक जना हजुरआमालाई सम्झिन्छु । बेलैमा पति गुमाउनुभएकी, छोरा नभएकी, छोरीहरु विहे गरी आ-आफ्नो घरमा पठाइसक्नुभएकी, छोटो कदकी, मुखमा केबल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपीच्छे बोक्सी भन्दै जिस्काएर हैरान गर्ने  केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो ।

हिजो बोक्सी सम्वन्धी लेख पढेकोले होला सायद्, सपनामा मैले उहाँलाई नै देखेँ ।

उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमिले पनि मलाई बोक्सी मान्थ्यौ? भन, के म बोक्सी थिएँ ?'

उहाँलाई उत्तर दिन नपाउँदै म विउँझेछु, यद्यपी यस प्रश्नले मलाई आज लखेट्दै छ ।

मैले मेरो परिवारबाटं बोक्सीले यस्तो गर्छन्, यो बोक्सी हो भन्ने कहिले सुनिन । सबैलाई माया गर्न, सम्मान गर्न नै सिके । त्यही संस्कारले गर्दा होला सायद, न उहाँलाई बोक्सी भने, न उहाँबाट बदलामा गाली खेपे । करिब १७ वर्षपहिले हामी भर्खर नयाँ घर र्सदा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । हाम्रोमा फुल रोप्ने ठाउँ थिएन, डेरामा रोपेको फुलको ठुलो झयाङ थियो, रोप्ने ठाउँ नपाएपछि मेरो आँखा छिमेकी हजुरआमाको जग्गातिर गयो । हजुरआमाकोमा फुल रोप्छु भन्दा आमाले रिसाउनुहोला, भैगो, छोड भन्नुभयो । तर मेरो बालहठ किन पो सम्झौतार् गथ्यो, टन्न माटो सहितको ठुलो फुलको झयाङ लगेर उहाँको मा फुल रोपीदिए । उहाँले त झण्डै २ महिना जस्तो याद नै गर्नुभएनछ । पछि थाहा पाउने दिनमा बेस्सरी कराउनृभयो, मेरो जग्गा कसको भइसकेछ, यहाँ रोपेको फुल मलाई थाहा नहुने अनि के के भन्दै । सबै सुनेर म घरबाट निस्के र भने, हजुरआमा, हाम्रोमा ठाउँ थिएन, उता घरमा हुँदैको फुल छोड्न मन लागेन, मैले रोपेको, हजुरले धेरै फुल चलाउनु, म कहिलेकाँही चलाउला हुन्न भनेर मुस्काए । उहाँले मुस्काउँदै हुन्छ त भन्नुभएन, तर उखेलेर फालीदिनु पनि त भएन । प्रत्येक दिन विहानै त्यही हजुरआमाको बारीको फुल टिपेर मेरा छिमेकीहरु पुजा गर्थे, तर उहाँलाई बोक्सी भन्ने त उनीहरुको बानी नै भाको थिए किन छाड्थे र । मानीसहरु उहाँलाई यतिसम्म घृणा गर्थे, उहाँलाई चिया दिन पनि हिच्किचाउँछे, गोठको छेउ भरसक र्पादैनथे, वस्तु विच्कीन्छन्, दुध घटाउँछन् यस्तै यस्तै भनेर । यो सबै सुन्दा मलाई उहाँको घरमा नै भैँसी छ, त्यसो भए त्यो किन विच्कीन्न, त्यसले सँधै दिनुपर्ने जति नै दुध दिन्छ भन्ने लाग्थ्यो । पछि उहाँ वेस्सरी विरामी पर्नुभयो, त्यही बेला उहाँले भैँसी बेच्नुभयो । हाम्रो घरमा भने ठिक त्यही बेला भैँसी कीन्ने संयोग पर्यो । उहाँले बारीमा भेण्टा लगाउनुभाको थियो, त्यो लटरम्म फलीरहँदा उहाँलाई डाक्टरले भेण्टा कहिले खान हुँदैन भनेछन् । उहाँ एक्लो मान्छे, तरकारी बेचेर पैसा जम्मा पारेको भए पनि त हुन्थ्यो, तर हाम्रो घरमा दिइराख्नुहुन्थ्यो ।

उहाँ बारीमा तरकारी गोड्न प्राय साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्ने बित्तिकै बाबा 'ल, आमालाई दुध खुवाएर मात्र पठाउ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दुध सकिँदा, छिटै भए पनि 'ल, आमा एक छिन है' भनेर आफैँ बाल्टी लिएर दुध दुहुन जानुहुन्थ्यो । उहाँ विरामी भएर थलिरहँदा म उहाँलाई दुृध पुर्याउन जान्थे । हामीलाई छिमेकीले बोक्सीसगं न कति मिल्या हो भने, भैंसी मर्ला, दुध घटाउला पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दुध दिइरह्यो, मर्दा पनि मरेन । उहाँले गोडमेल गरीसकेपछि घाँस निस्कीँदा हाल्दीनुहुन्थ्यो, तर कहिले केहि अनर्थ भएन । मेरो आफ्नै हजुरआमा उहाँको दामली भन्न सुहाउने हुनुहुन्थ्यो, उहाँहरुको कुरा मिल्थ्यो, त्यसैले पनि होला विस्तारै उहाँ हाम्रोमा आइराख्न थाल्नुभयो । सबैले छिछि दुरदुर गर्ने र हाम्रोमा पारिवारीक व्यवहार पाएकोले होला उहाँ निकै बेर वस्नुहुन्थ्यो, हामीलाई निकै माया गर्नुहुन्थ्यो । उहाँसगं नजिकिँदै जाँदा मलाई अरुले घृणा गरेकोले उहाँ नमिठो बोल्नेरैछ, माया गर्नेसगं त उहाँ त्यती नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।

सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केहि भन्न चाहन्छु । अहँ उहाँ बोक्सी हुनुहुन्थेन, बस घृणा र तिरस्कारले रुखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चैँ नरम र सुन्दर थियो । हो, मेरो छिमेकी हजुरआमा हजुर केबल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन । मैले कहिल्यै बोक्सी मानीन हजुरलाई । 

4 comments:

  1. हो यो सबै हामिमा भर पर्ने कुरा हो, बोक्सी कोहि हुदैन र बन्दैन सिर्फ बनाइन्छ | बास्तव मै एदी त्यी हजुरआमा बोक्सी हुन् भने सबै जना बोक्सी हुनु जरुरि छ !!

    ReplyDelete