Showing posts with label School. Show all posts
Showing posts with label School. Show all posts

Friday, August 30, 2013

सिम्पल साडी

तीजबारे सोचमग्न छु । छर छिमेक, बजार तिजमय छ । तिजे भाकाले गुन्जाएमान छन् गल्लीहरु । तिज भाका त के भन्नु र? तिजलाई ताकेर बनाईयेका गितहरु घन्किसके । अस्ती दुई महिना अगाडि तिजको भिडियो बनाउने कार्यक्रममा छिमेकी दिदीले बोलाएकी पनि थियिन् । खै मलाई एस्ता कार्यक्रमले पटक्कै तान्दैन । केही बहाना बनाएर टारीदियें । स्थानिय एफ एम देखी राष्ट्रिय टेलिभिजन च्यानलमा तीज बिशेष गितको भिडियोको प्रचारप्रसार पनि ब्यापक भैसके । स्थानीय च्यानलमा त झनै तीजको भब्य भोजको महोत्सब आउन थालेको पनि पुगनपुग महिना नै हुन लागिसकेछ ।

फेसबुकमा आजकल बिदेश बस्ने जमातमा झनै तिजको रौनक बढी छ जस्तो लाग्छ । हुन त हप्ता भरी काममा खट्न परेर पनि धेरै अघी देखिका छुट्टीमा नै तिज मनाउंदाहुन् ।  बिदेश बस्नेलाई पनि गार्हो नै छ । न स्वदेश भुल्न सक्नु, न फर्किन नै सक्नु ।

टेबलमा बजेको मोबाईलले एकाग्रता भङ गरिदियो । लेन्डलाईन नम्बर थियो । अक्सर कुरा हुने फोन सेभ हुने भाकोले नयाँ नम्बर आउंदा लावारीश कल जस्तो पो लाग्छ त । तर लावारीश भनेको फोन आफ्नै मान्छेको पनि त हुन सक्छ ।

रितुजी हो ?

हो ।

नमस्ते । सुन्नुस्, है रितुजी । म सोनी बोल्दैछु । हतारमा छु, छिट्टै सकाउने प्रयास गर्छु है ।

(हुन्छ भन्न नभ्याउंदै उता बाट सुरु भईसकिछन्)
हाम्रो पर्सिको तीज कार्यक्रममा तपाईं जसरी नि आउनुपर्छ । पोहोर जसरी आउन भ्याइन भन्न पाउनुहुन्न । यो पाली पनि तीज बिशेष कार्यक्रममा आउनुभएन भने चैं तपाईंलाई हाम्रो महिला एकता समाजको सदस्यबाट बिदाई गर्नुपर्नेछ । यो पाली कुनै बहाना नबनाउनुहोला नि फेरी । अनी सुन्नुस् त, यो पाली त तीजको कार्यक्रमकै लागि काठमान्डुबाट गेस्ट आर्टिस्ट बोलाको छ । उही के, अहिलेको चर्चित गायिका, पार्वती जोशी । प्रोग्राम पोखरा रिसोर्टमा है, २ बजे । ल राखें, सबलाई फोन गर्नुछ । आउनु नि फेरी ।

हो, मलाई रमाईलो गर्न मन पर्छ । गाउन नाच्न रमाईलो लाग्छ, तर जसरी तिजलाई देखाउने चाडको रुपमा परिवर्तन गरिदैंछ, त्यो मलाई मन पर्दैन । सारी र गहनाको भारीले लगाउनेलाई त थिच्छ नै, लगाउन नसक्नेलाई झनै थिच्छ । मलाई त्यसैले एस्ता खाले तिजे दरमा सरिक हुन पटक्कै रहर छैन । अा, जे परे परोस् जान्नं । तर फेरी समाजकै हिस्सा भएर नि के एसरी अलग हुनु ठिक हो ?

फेरी सोचें । जव म स्वयमंलाई नै मन छैन भने अरुले कर गरेर मात्र हुन्छ? जान्न ।

यस्तैमा सम्झें, स्कुलमा तलब नपाएको त तीन महिना भईसक्यो । मलाई अब दसैं अघी तलब पाइएला जस्तो उस्लाई कत्ती लागेन । दसैं अघी त्रैमासिक परिक्षा छ, बालबालिकालाई परिक्षामा सामेल हुन पाइंदैन भनेर सूचना जारी गरेसी दसैं अघी चैं पैसा जसरी पाईन्छ भन्ने लाग्छ ।
स्कुल सकेर घर फर्किने तर्खर गर्दै थिएं । मलाई लेखापाल मिसले डाकिन् ।

किन बोलाईन् होला । कतै यिन्ले पनि तिजको मेला, तिजको दर को लागि कुपन त भिराउन लागिनन् ।
तलब दिन पो बोलाकी रहेछन् । सपना हो कि भन्ने पनि लाग्यो, हैन बिपना नै रहेछ । आज भाद्र १२ गते जेष्ठ महिनाको तलब ८५०० तलब बुझें । जेष्ठ महिनाको तलब भाद्रमा बुझ्दा नि किन दाङ पर्छेस मुर्ख भनेर आफ्नै मनलाई गाली गरें । 'कागजमा अथवा नियुक्ती पत्रमा लेखिएको तलब त मेरो १७००० पो थियो । तलब पाउनु छ तीन महिना पछाडि, लेखिएको भन्दा आधा तलब पाउनुमा बैराग पनि लाग्यो । किन मान्छे एती निरिह हुन्छ । मलाई थाहा छ, करारमा उल्लेख गरेको रकमभन्दा आधा तलब दिनु गैर कानुनी कार्य हो । यस कार्यको बिरुद्द म कानुनी कारबाहीमा जान सक्छु । तर मलाई कानुनले न्याय दिन्छ कि नाई भन्नेमा नै शन्का छ । ल, न्याय दिएछ नै भने नि त्यो न्याय प्राप्तीको यात्रा कम्ती पट्यारलाग्दो त हुने छैन, तेसैले म बुझेर पनि बुझपचाउंदै छु, निरिह नै छु ।  

घर फर्किदैं थिएं, खै के सुर चल्यो मलाई । यो तिजमा एउटा सारी त लिन्छु भन्न्ने ठानें । सिधै साडी सोरुम पुगें ।
"साहुजी,सिम्पल साडी देखाउनुस् त, हल्का कडाई भएको, सादा भरेको ।"
तर, साहुजी त एक्कासी एक्कासी आबेगमा आयो ।
"केको सिम्पल हो, त तपाईं केलाई सिम्पल भन्नुहुन्छ, बताउनुस् । त सय जनामा १ लोग आएर भन्नुहुन्छ, बस सिम्पल लुगा दिखाउनुस्, त बाँकी लोग भन्छन, अलिक फेशनेबल देखाउनुस् । त तपाईंलाई स्पेसल सिम्पल कहाँबाट ल्याम । दिन भरी मलाई अझै भरेको दिखाउनुस्, यो सिम्पल भयो भनेर कस्टमर लोग परेशान गर्छ । तपाईं आउछ सिम्पल दिखाउ भन्छ, हैन तिजमा त मस्त भरेको लगाउनुस् न । दिमाग नखानुस् ।

"
----
भुनभुनाउदै फेरी अर्को दोकान पसें । अनी पुन त्यही प्रश्न राखें । साहुजी,सिम्पल साडी देखाउनुस् त सादा भरेको ।
"ल हाम्रो दोकानमा भाको सबै भन्दा सिम्पल सारी यही हो, यो ठीक छ भने भन्नुस्, हैन भने सरी, तपाईंलाई हुने सिम्पल सारी हामीसङ छैन भन्नुपर्ने हुन्छ ।

सारी उचालेर हेरें, पैसा सोधें ।
साहुजीले हल्का मुस्कान सहित भनें ।
"७५००"

उचालीराखेको सारी अब कता पो राखिदिउं जस्तो लाग्यो । प्रत्युत्तरमा भनें ।

बाफ रे बाफ । यो त मलाई सार्है हेभी भयो । दोकान पस्दै निस्किदैं गर्न मन त कहाँ थियो र । तर आफुले किन्न्न सक्ने सारी नै नदेखे पछी के गर्नु । सारी किन्छु भन्ने सोचीसके, अब एउटा दोकान पस्छु अझै । अर्को पसलमा पसें ।

दाई, सबै भन्दा सिम्पल साडी देखाउनुस्, हल्का भरेको ।
(ल लिनुस्...)

हातमा लिएको, हातै गर्हौ भयो ।

ओहो! यो त सार्है गह्रुङो छ ।

उस्ले भन्यो, आजकल गह्रुङो साडी फेशनमा छ, यहाँ भन्दा सिम्पल त साडी राम्रो हुदैन, धेरै छैन जम्मा ३ केजी होला । आजकल त यो भन्दा नि अझ भारी को चलन छ।

फेरी अर्को हेरें, अनी सोधें 'पैसा कती हो?'

बुटिक पिस हो हजुर, तपाईंलाई मात्र ११५००

मलाई यो त झनै हेभी भयो । (सारीको वजन हैन पैसाको वजन पनि हेभी जो थियो)

हेभी भयो । यो भन्दा धेरै नै सिम्पल र सस्तो देखाउनुस् न। २००० भित्रको (अफट्यारो लागे नि मुख फोरेर भनें, आखिर मैले पाउने तलबको एक चौथाई पैसा जस्तो हो २००० । मेरो वास्तविकता यस्तै हो, जो मैले स्विकार गर्नै पर्छ । मेरो कुरा सुनेर पसले मरी मरी हा*स्यो ।
लौ सुन्नुस्, के भन्छ, २००० को साडी । अरे, के भन्नुभयो । यो त ७ बर्ष पहिलाको कुरा हो, यो त जोक भयो । २००० मा त मेडम के आउंछ । सारी, त्यो पनि २००० मा किन दुनियाँ हसाउनु ।

(अपमान बोधले म खङ्रङ भयें)

"बजारमा मेरो लागि साडी नै रहेनछ । लामा-लामा पाइला सार्दै मुर्मुराएं, यो समाज मेरो लागि हैन । म यो समाजको लागि हैन। समाज मेरो लागि भारी छ, म समाजको लागि सादा छु । महिला एकता समाजबाट निस्कासित हुन मानसिक रुपले तयार बनें । 

Sunday, April 21, 2013

समय

मेरो एउटा साथी थियो, स्कुल पढ्दा ताका । खै, किन हो कुन्नी मलाई त उसको स्वभाब, हामी सबैको भन्दा अलिक भिन्न लाग्थ्यो । स्कुल आउन एकदम दिक्क लाग्छ भन्थ्यो उ । स्कुल कसरी नआऊने भनी बहाना बनाउन तल्लिन रहन्थ्यो । त्यसो त, पढाईमा ध्यान नदिएको भनेर उसले धेरै सजाय पाउथ्यो ।  अब सुध्रिन्छु भनेर कसम पनि खान्थ्यो । तर उसको बानी भने जहिले उस्तै । उसको बुवा भारत काम गर्नुहुन्थ्यो । त्यही शिलशिलामा उ पनि केही समय उतै बसेको थियो । त्यसैको असर होला शायद, उ अलिअली हिन्दी मिसाएर पनि बोल्थ्यो । अनी सर वा मिस नआएर कक्षा खाली हुँदा सबैलाई उक्साउदै अन्ताक्षरी खेल्ने बनाउथ्यो ।

फेरी फिल्म भनेपछी हुरुक्क हुन्थ्यो  उ।  फिल्म नै हेर्नको लागि सदरमुकाम जान्थ्यो उ । फिल्म फेरिएको थाहा पाउनासाथ झन्डै  दुई घण्टा हिंडेर सदरमुकामको हल पुग्थ्यो । कहिले त एउटै फिल्म दुई तीन पटक पनि हेर्दोरहेछ, फिल्म फेरियो भनेर पाएको जानकारी गलत परेको बेला । त्यती मात्र कहाँ हो र, उ त अझै कक्षामा फिल्मको कथा भनेर बस्थ्यो । अनी फिल्म कथा सुनाउदा उ आँफै नायक झै गर्थ्यो । कहिले त उ फील्मका नाम मात्रै राखेर कथा पो लेखेर सुनाउथ्यो । साथीहरु माझ् निकै रवाफ देखाऊथ्यो । एक पटक नेपालीको गृहकार्य बुझाउदा उसले त्यही फिल्मको नामैनामले लेखेको कथा भाको कपी परेछ । मिसले उसलाई कत्ती गाली गर्नुभयो । उसकै शैलिमा नेपाली फिल्मकै नामसँग मिलाउदै "त त सार्है बिग्रिस नि बाबु" भन्नुभाको थियो  उहाँले।

हामीलाई धिरेन शाक्य, राजेश हमाल, निखिल उप्रेती सबैलाई चिन्छु भन्न भ्याऊथ्यो उ । अझ कुन नायिका पर्दामा राम्री, कसको नाच राम्रो, को नायक असली नायक, को नाम मात्रैको नायक भनी बखान गरी बस्थ्यो, उ । कहिले त आफुले फिल्म खेल्ने अवसर पाएको तर भूमिका चित्त नबुझेकोले मात्र यहाँ भाको भन्थ्यो । एस्तो सुन्दा साथीहरु जिल्ल पर्दै हेरिरहन्थे उसलाई ।  हाम्रो तिर नजिकै भालुपहाड भन्ने ठाउँ थियो, जहाँ बेलाबेला फिल्मको छायांकन चल्थ्यो । एस्तो भेउ पाउनासाथ उ त्यतैतिर हानिन्थ्यो ।

एक पटक चैतताका हो क्यारे, हावाहुरीको कारणले काम गर्न नसकेर छायांकन अली दिनको लागि लम्बिएछ । उ छायांकन हेर्न भनी जाँदोरहेछ, अनी छायांकन नभएकोले उतै दिनभर बरालिदोरैछ । छायांकन टोलीले त्यो ठाउको काम नसकिन्जेल उ पढ्न स्कुल जानेवाला थिएन । दिनदिनै घरमा आमासँग कसरी जोगिने भनी उसले घोत्लिदै नयाँ जुक्ती निकालेछ । उसलाई थाहा थियो उसको आमाको हातमा घडी थिएन। त्यसो त त्यो बेला अहिलेजस्तो हात हातमा घडी हुँदैनथ्यो पनि । बिहान आमा खाना पकाउदै गर्दा उचित मौकाको खोजिमा रहन्थ्यो, उ, कसरी आमालाई समयको गलत भान पार्ने भनी । आमाले थाहा नपाउने गरी भालुपहाड पुग्ने भनी सोचिबस्थ्यो । अनी आमा खाना पस्किदै गर्दा उसको घरभरिमा भाको समय नाप्ने एउटा मात्रै चिज भित्ते घडीलाई १०:३० बनाउदोरैछ । स्कुल जाने बेला घर्किसक्यो भनेर आमाले स्कुल जान कर गर्नुहुन्नथ्यो, उसलाई त खोज्या जस्तै भयो । आमा घरमा हुन्जेल त उ घरमै बस्दोरैछ । अनी आमा मेलापातको लागि लाग्ना साथ भालुपहाड जादोरहेछ ।

आमा ऊसलाई ढिलो हुन्छ भनी छिटो उठेर खाना पकाउन थाल्नुभयो, तर जहिले ढिलो भईसक्थ्यो । यो शिलशिला धेरै दिनसम्म चलेर उ लगातार धेरै दिन उ स्कुल नगएपछी सोझी आमालाई समेत कताकता शंका पसेछ । यो बिचमा एक हप्ता बितिसकेको हुन्छ । छोराको चाला उहाले पत्ता लगाएपछी उहा उसलाई लिएर सोझै स्कुल पुग्नुभयो । स्कुलमा प्राचार्यलाई सबै कुरा सुनाउनुभयो । त्यसै झन्किने प्राचार्यको रिसको पारो चाढिहाल्यो । उहालाई एकै पटकमा दुइ थरी झोक चल्यो । पहिलो, विद्यार्थीले आमालाई छलेकोमा, दोस्रो झन्डै एक हप्ता बिद्यालय गयल भएकोमा ।

रिसले रातो आँखा पार्दै सरले बेस्मारी चुट्नुभयो । बिचरा, उस्ले कती पिटाइ खाको थियो । सरको छडिसँगै गालीको प्रसाद खाँदै गर्दा उस्का आँखा रसिला हुँदै गये । ठीक बिपरित सरका आँखा चै राता र चम्किला भये । सरको त अनुहार समेत रातो भको थियो, अनी आँखाको नानी कस्तो घुमेको घुमै भाको थिए । तर खै, सरले त कत्ती पनि दया देखाउनुभएन।

पिटाइ सँगै सरले भन्दै हुनुहुन्थ्यो ।

'अब समय घुमाउने कला जानेपछी त उल्टो सुल्टो जता घुमाये नि भयो नि । तिमीलाई एउटा सल्लाह के,  किन समयलाई अगाडि लग्ने, बरु पछाडि लैजाउ हुन्न ? ए बाबु, कहाँ बाट सिक्यौ नी ?
ल, न मलाई पनि सिक्नुछ यस्तो अदभुद कला त !
म गुरु भएर सिकाउन पर्ने त सबै सिकाइसके,  अब आजलाई म तिम्रो गुरु हैन, तिमी मेरो गुरु बन ल।

तिमी सिकाइदेउ है मलाई समयलाई उल्टो घुमाउन । यो विशेष ज्ञान सिक्न म आतुर छु । मलाई नी तिम्रै उमेरमा फर्किने रहर पो लाग्यो । भोली देखी त तिमी र म न गुरु न चेला, हामी त केबल साथी पो । त्यो पनि मिल्ने साथी ।

सर त अझै भन्दै जानुभयो । "क्या गज्जब, सँगै जाम्ला नी फील्म हेर्न, अनी भालुपहाडमा  नायक/नायिका भेट्न । मलाई त नायिका सँग नाच्न नि मन छ । बाबु, आमालाई मात्र किन छल्छस, आइजा त र म छलौं सारा दुनियाँलाई । अनी सुन त, हामीसँगै घडी घुमाम्ला नि, हुन्न र । आइजा मिलेर उल्टो घुमाउँ यो समाज अनि सिंगो समयलाई ।"