Monday, August 7, 2017

मेरा ठुलोबा

जब जब हराएको सामान
पुन: भेट्छु, बेस्सरी खुशी हुन्छु,
उफ्री उफ्री नाचौं भन्ने ठान्छु ।

तर सम्झिन्छु,
दशकौं पहिले 'हराएका मेरा ठुलोबा'
मेरो सामान भेटीये जसरी
कहिले भेटिएनन् ।

अचानक सबै खुशी बिर्सेंर
म दुखी हुन्छु,
सम्झनामा नाच्छिन् मेरी ठुलिआमा
अनी उनको लामो पर्खाइ, जो कहिले पुरा भएन ।

जब जब म ठुलिआमाको पछी लाग्थें,
उनी  भन्थिन्, ठुलोबा हराये बाबै,
गएर पो के खान्छेस?
कोदोको रोटी र खुर्सानी टोक्न भये हिंडेस् ।

म जान्थें, अनी फेरी हराएका ठुलोबाका
याद जस्तै सम्हालिएका तस्बिर हेर्थें,
अनी फेरी 'ठुलाबा कहिले आउने' भनेर सोध्थें,
'भोलीपर्सी' भन्ने जवाफ पाउंथे ।

मेरो दाई जसले बुवाको अनुहार
केबल तस्बिरमा देख्यो,
सबैका बाले बुझ्ने स्कुलको रिपोर्ट कार्ड र बिल पनि
काकाले नै बुझ्ने देख्यो ।

तर पांच कक्षामा स्कुलको
फारम भर्दा बाको नाम भर्दा
बाको ठाउँमा काकाको नाम लेख्यो
बाको नाम नजानेर खाएको पिटाईले तोरीको फुल देख्यो ।

जव दाई घर पुगेर सुंक्क सुंक्क रोयो,
बा हुनु र बा जस्तै हुनु
फरक हो भनेर दाइलाई बुझाउन
ठुलिआमाले हम्मे हम्मे भयो ।

मेरी ठुलिआमा,
हर साल त्यही ज्योतिशकोमा
नै जान्थिन् जस्ले बार्ह बर्षमा
त 'उ' अवश्य घर आउंछ भन्थे ।

गाउंलेहरु खोला पनि
बार्ह बर्षमा फर्कन्छ भन्थे
तर परदेशको शहरमा हराएका मेरा ठुलोबा
फर्केनन्, कहिले फर्केनन् ।

ठुलिआमाले तेर्हौं बर्षमा
पुन: एक बाट गन्ती शुरु गरिन्,
'बा खोई' बाट 'हजुरबुवा खोई' भन्ने प्रश्नको सामना गरिन् ।
तर अहं, ठुलोबा भेटिएनन् ।

ठुलोबा!!!
हराएको सानो सियो पनि बरु भेटियो,
तर किन तपाईं कहिले भेटिनुभएन ।
तर अहं तपाईं कहिले फर्कीनुभएन ।

आजकल म सोध्दिन,
ठुलोबा कहिले  भेटिन्छन्, मनमनै गम्छु,
ठुलिआमैले तेस्रो पटक, बार्ह बर्षको गन्ती सक्दा ठुलोबा भेट्टिये भने,
ठुलिआमाको जिन्दगी अर्थात
पर्खाइको अर्को नाम ।

2 comments:

  1. ठुलिआमाले तेर्हौं बर्षमा
    पुन: एक बाट गन्ती शुरु गरिन्,
    'बा खोई' बाट 'हजुरबुवा खोई' भन्ने प्रश्नको सामना गरिन् ।
    तर अहं, ठुलोबा भेटिएनन् ।


    link पठाउनुभएको थियो आज पढेँ ।
    मन छोयो बिषय अनि लेखनकलाले पनि ।
    सोध्न चाहें- के साँच्ची ठूलो बा हराएकै हुन् त?

    ReplyDelete
    Replies
    1. धेरै धन्यवाद है पढ्ने समय नीकाल्नुभएकाेमा । हाे नी, ठूलाेबा साँच्चै हराउनुभएकाे हाे, यहाँ लेखीएका सबै कुरा सत्य हुन्, चाहे दाइले स्कुलमा बाबाकाे ठाउँमा काकाकाे नाम लेखाएकाे कुरा हाेस् अथवा म ठुलीअामाकाे पछी लाग्दा 'गएर पो के खान्छेस? कोदोको रोटी र खुर्सानी टोक्न भये हिंडेस् ।' भनेकाे कुरा । कती वर्षदेखीकाे कुरा अस्ती एउटा सामान हराएर भेटेपछी लेखेँ ।

      Delete