Showing posts with label student. Show all posts
Showing posts with label student. Show all posts

Wednesday, October 10, 2012

खाली सिलीन्डर

दिनभरी पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको विद्यार्थी आन्दोलमा सहभागी भई आएकोले सौरभ निकै थाकेको थियो । उ सोझै खाना पकाउन तम्सीयो, खाना बसालेको मात्र के थियो, ग्यासचुल्हो निभ्यो । ८:३० भइसकेको थियो, अचेल त्यो पनि यति राती बजारमा कतै ग्यास नपाइने उसलाई थाहा थियो, लामो सुस्केरा काढ्दै उ लोडसेडिङ तालिका नियाल्यो । तालिकाले ९ बजे लाइट आउने देखायो, लाइट आएपछि राइसकुकरमा नै खानालाई उमालेर खानुपर्ला भन्दै सौरभ कुरीबस्यो, ९ बज्यो, १० बज्यो, तर लाइट आएन । कोठामा भएको सबै बट्टा, पोका खोज्दा न बिस्कुटको पुरिया भेट्यो न दालमोठ । भेटियो त केबल २ मुठी चिउरा । आज चिउरा दिवस नै भयो, खाजामा चिउरा खानामा चिउरा भन्दै २ मुठी चिउराको साथमा २ गिलास पानी पिई सुत्यो । भोको पेट भएकोले होला सायद उसले सपना पनि खाना बनाउँदै गरेको देख्यो । बिहानको खाना वन्दै थियो सायद, ममबत्ती बल्दै गरेको जो देखेन । तर सपनामा पनि ग्यास सकियो, ग्यासको रित्तो सिलीन्डर बोकेर लाइन बस्न गयो । निकैबेरको ठेलमठेलपश्चात उ लाइनको अलि अगाडी पुग्नसक्यो, तर त्यतीकैमा ग्यास सकिएछ, र लाइनमा बसेका सबैजना भागाभाग गर्न थाले, कोही पसलबाट खाद्यान्न बाहिर फाल्दै थिए, कोही पसल तोडफोड गर्दै थिए । सौरभ कता जाने, के गर्ने केहि सुर पाउन सकिराखेको थिएन, त्यतीकैमा पुलीसको भ्यान आयो । उ त्यहाँबाट निस्कीने प्रयास मात्रै गर्दै थियो, उमाथी लाठी बर्सियो, ऐया ! भन्दै ढाड छाम्दै विउँझीयो । धत ! सपना पो रैछ । खाली सिलीन्डरले सपनामा पनि छोडेन भन्दै फेरी निदाउने प्रयास गर्दा उसको पेट भोकले कलल्ल कराउँदै थियो ।