"सत्र रुपैँया नहुने किन गाडी चढ्नु?"
"आज वालेट बिर्सेंछु"
"तिमि वालेट विर्स वा वुलेट, मलाई मतलव छैन, खुरुक्क पैसा निकाल"
"भने नी भाई, वालेट बिर्सेंछु, भोली अफिस आउने बेला आजको पैसा नि दिम्ला"
"तिम्रो ससुराको गाडी हो र ? तिमीलाई अन्दाज पनि छ, यस्तो गाडीको कति पर्छ, समाजसेवा गर्न गाडी किन्या हो? गाडीमा सित्तैमा हिंड्न पौछु भन्ने ठानेको?"
"भोली दिम्ला नि, म जैले यही बाटो जाने न हो, तिमीलाई ठग्ने मेरो नियत हैन ।"
"पैसा दिने भए देउ, नभए खुरुक्क झर्ने, हात पात गर्न नपरोस, कस्ता कस्ता मान्छे आउँछन् । कोट पाइन्ट लाउँछन्, सत्र रुपिँया तिर्ने हैन"
वरीपरी कोही चिनेको छ की भन्दै हेरे, कोही देखिन । म लाजले मुख रातो वनाउँदै गाडीबाट ओर्लिए ।
आज नै हतार गरी हिँडे, आज नै वालेट छोडेछु । घडि हेरे, १० वज्न १० मिनट मात्र बाँकी थियो । हिँड्दै गर्दा कोही भेटियोस् भन्ने चाहेँ, आफुलाई चाहिने वेला को भेटिन्थ्यो र । वैशाखको टन्टलापुर घाममा ५ किलोमिटर हिँड्न पनि झण्डै ३५ मिनट लाग्यो । अफिस पुग्दा म थकित थिएँ ।
"सर हिँडेर आउनुभयो?"
"अँ"
"वाइक किन्नु भन्दा सुन्नुहुन्न, भाडाको पैसा जोगाएर न्यानो गाडी किन्ने योजना बुन्नुभयो क्या हो सर", सञ्जयले व्यंग्य गर्यो ।
"जागिरले खान पुग्द्रैन, कहाँ गाडि किन्नु"
उ गलल्ल हाँस्दै थियो । म सिँढी चढेँ । मलाई उसले उडाएको देखेर रिस उठ्यो । आफु वाइक चढ्ने भाकोले शान देखाको होला भन्ने सोचे ।
टिरिङ टिरिङ ...
टेबलको फोन बज्यो ।
"ल जीवन, तयार भएर बस्नुस्, गाडी हेर्न जानुपर्ने भयो", हाकिम भन्दै थिए । कार्यालयको लागि गाडि लिने सिलसिलामा आज हेर्न जाने कुरा थियो, मैले वल्ल पो सम्भिए ।
गाडीको शोरुम पुगेम ।
"चिसो लिने कि तातो सर" सोरुमको कर्मचारीले नमस्ते सँगै आतिथ्यता जनायो ।
"र्भखरै खाना खाको, केहि नलिम"
"हाम्रो शोरुममा आएर त्यसै जानुहुन्न, केहि त लिनैपर्छ, ल चिसो नै मगाएँ"
"तिन वटा स्प्राइट छिटो ल्याइदेउ", उ फोनमा भन्दै थियो ।
चिसो लिँदै गर्दा उ मकैको फुल उठेझैं भररर गाडीको स्पेसीफीकेसन वताउँदै थियो । हाकिम टाउको हल्लाउदै जिज्ञासु मुद्रामा सुन्दै थिए । सोरुमको कर्मचारी वडो ठाँटका साथ गाडीको इतिवृति वताउँदै थियो । म कतै हराइराथे, टेस्ट ड्राइभ जाने निधो भएछ । हाकिमको पछि लाग्दै म पनि गाडि चढे । रित्तो गोजी लिएर लाखौंको गाडी किन्नलाई हेर्न जाँदा मलाई कता कता अफ्ट्यारो लाग्दैथियो ।
सोरुमको कर्मचारी अझै गाडीको विशेषता वताउँदै थियो ।
"२१०० सि सि हो १०-१२ दिन्छ माइलेज । एकदमै राम्रो क्लियरेन्स छ सर, अहिले यसको माग धान्नै गाह्रो भाछ ।"
"मलाई त गाडि मन पर्यो, तपाईलाई कस्तो लाग्यो, जीवनजी" । हाकिमले मतिर प्रश्न लक्षित गरे ।
आफ्नै सोचाईमा डुबेको मैले झस्कीँदै भनेछु, "वालेट घरमै भुलेछु, भोली दिम्ला है पैसा"
हाकिम र शोरुमको कर्मचारी दुवै जना मरीमरी हाँसे ।
"जीवनजीको भाडाको गाडि चढ्ने बानी । टेस्ट ड्राइभ आको पनि भुल्नुभयो, म हाकिम भन्ने पनि भुल्नुभयो, मैले भाडा मागे जस्तो ठान्नुभयो ।" हाकीम भन्दै थिए ।
म लज्जीत मुद्रामा टाउको निहुराएँ । बिहान देखी पटक पटक लज्जित हुँदै गएको हुनाले मलाई कसैको अनुहारमा हेर्ने आँट आएन ।